प्रश्नोत्तरमा पवन चामलिङ- ‘मेरो रिटायरमेन्टको कुरा सोच्दासोच्दै उनले आफ्नो खास काम र जिम्मेवारी चाहिँ बिर्सिसकेका छन्!’

प्रश्नोत्तरमा पवन चामलिङ- ‘मेरो रिटायरमेन्टको कुरा सोच्दासोच्दै उनले आफ्नो खास काम र जिम्मेवारी चाहिँ बिर्सिसकेका छन्!’

Spread the love

“ प्रश्न – मुख्यमन्त्री श्री पी.एस. गोलेले भर्खरै एउटा भाषणमा श्याम थापा वा सचिन तेन्दुलकरजस्ता खेलाड़ीहरू त आ-आफ्नो खेलबाट रिटायर भइसकेका छन् भने पवन चामलिङ चाहिँ किन राजनीतिबाट रिटायर हुँदैनन् भनेर प्रश्न गरेका छन् नि?

उत्तर – एसकेएम-ले सरकार गठन गरेदेखि नै उनीहरूको सबैभन्दा ठूलो चाहना मेरो रिटायरमेन्ट रहेको छ। हरेक दिन नै उनीहरू चाहन्छन् कि म रिटायर होउँ। मुख्यमन्त्रीले मेरो रिटायरमेन्टलाई लिएर गरेको यस्ता बालसुलभ र भयजन्य कामना यो नै पहिलो पनि होइन। उनी यस कुरालाई लिएर जहीँतहीँ बोलिरहन्छन्। यस्तो लाग्छ, मेरो रिटायरमेन्टको कुरा सोच्दासोच्दै उनले आफ्नो खास काम र जिम्मेवारी चाहिँ बिर्सिसकेका छन्!

एसकेएम पार्टी र यसको नेतालाई पहिलो कुरा म यो बताउनचाहन्छु कि राजनीतिलाई मैले पेशा वा चाकरीको रूपमा लिएको छुइनँ। मेरो लागि राजनीति जनताको सेवा हो। त्यसैले नोकरी वा कुनै पेशाबाट रिटायर हुनु स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्नचाहनेले जबसम्म आफ्नो स्थिति र क्षमताले भ्याउँछ, सेवा गर्नसक्छन्। म मेरो प्यारो सिक्किम र सिक्किमे जनतालाई सेवा गर्न राजनीतिमा आएको हुँ। मैले राजनीति त्यसकै निम्ति गरेको हुँ। सिक्किमे जनताले पनि मलाई विगत 40 वर्षदेखि जनप्रतिनिधिको रूपमा जनताको सेवा गर्ने जनादेश दिएका छन्। सिक्किमे जनताले नै मलाई पच्चीस वर्षसम्म लगातार मुख्यमन्त्रीको रूपमा निर्वाचित गरे, त्यसको लागि जनादेश दिए। पछिल्लो चुनाउमै पनि सत्तारूढ़् एसकेएम-लाई भऩ्दा बढ़ता मत हामीलाई नै दिए। जब जनताले नै मलाई सेवा गर्ने आदेश दिँदैछन् भने मलाई ‘रिटायर जानू’ भन्ने पी.एस. गोले को हुन्? के उनी सिक्किमे जनताका पनि मालिक हुन्? मेरा मालिक सिक्किमे जनता हुन् अनि म उऩीहरूकै आदेश मात्र मान्छु। पी.एस. गोलेले यो कुरा बुझ्नुपर्छ कि उनी केवल जनताका सेवक मात्र हुन् र प्रजातन्त्रमा जनताभन्दा शक्तिशाली अरू कोही हुन्न। जनता नै सर्वशक्तिसम्पन्न हुन्। जनता राजमा जनतै राजा हुन्।

म उनलाई यो कुरा पनि जनाउनचाहन्छु कि राज्यको कुनै पनि नागरिकलाई  राजनीतिबाट रिटायर गर्ने वा गर्नु भन्ने अधिकार गोलेलाई छैन। कुनै महाराजा र सम्राटहरूलाई पनि स्वतन्त्र नागरिकको हक दबाउने अधिकार छैन। गोले त खुल्ला मञ्चबाट पत्रकारहरूलाई समेत ‘मैले तपाईँहरूलाई सिक्किममा काम गर्ने स्वतन्त्रता दिएको छु, र मैले चाहें भने तपाईंहरूलाई मेरो पार्टीको लागि काम अह्राउन र गराउनसक्छु’ भन्ने व्यक्ति हुन्। यो अभिव्यक्ति उनको तानाशाही सोचको प्रमाण हो। जनताले आफ्नो सेवाको निम्ति दिएका जनादेश पाएर उनी अन्धा भएका छन्। म उनलाई मेरो मौलिक अधिकारमाथि हस्तक्षेप नगर्ने चेतावनी दिँदछु। मलाई राजनीति गर्ने अनुमति पी.एस. गोलेले दिएका होइनन्, र मलाई राजनीतिबाट रिटायर लिनु भन्ने अधिकार पनि उनलाई छैन। जनताको मौलिक अधिकार, मिडिया र प्रजातन्त्रसम्बन्धमा हल्का कुरा गर्न बन्द गर्ने सुझाउ पनि म दिनचाहन्छु। उनले बुझ्नुपर्छ कि उनी सिक्किमका मालिक होइनन्। उनी त सिक्किम र सिक्किमे जनताका नोकर हुन्। त्यसैले मेरो नाम लिइरहनुभन्दा सिक्किमे जनतालाई सेवा दिने काममा ध्यान लगाउन म सुझाउ दिँदछु।

म यो कुरा पनि बताउनचाहन्छु कि-

यदि पी.एस. गोलेले आफ्नो चुनाउ घोषणा-पत्र र भाषणहरूमा गरेका झूठा वाचाहरूको निम्ति सिक्किमे जनतासँग सार्वजनिक रूपमा माफी माग्छन् र 100 दिनभित्रमा ती सबै मागहरू पूरा गर्छन् भने म राजनीतिबाट रिटायर लिनेछु। यो मेरो खुल्ला चुनौती हो। यदि पी.एस. गोले सरकारले लिम्बू-तामाङको सीट ल्याउँछ भने, छुटिएका रहल नेपालीहरूलाई जनजातिको मान्यता दिलाउँछ भने, महामहिम 17औं कर्मापालाई सिक्किममा ल्याउँछ भने, शिक्षित बेरोजगार युवाहरूको निम्ति 30000 स्थायी नोकरी दिन्छ भने, सिक्किमका सरकारी कर्मचारीहरूका निम्ति 15 प्रतिशत पूर्वोत्तर क्षेत्रीय विशेष भत्ता दिन्छ भने, अलैंची र अदुवाको भाउ वाचा गरेजति नै दिन्छ भने, बेरोजगार युवाहरूलाई 10,000 रुपियाँ मासिक बेरोजगार भत्ता र घर-आमाहरूलाई वार्षिक 5 लाख रुपियाँ भत्ता दिन्छ भने, पुराना व्यापारीहरूलाई आयकर छूट दिन्छ भने, मिन्तोकगाङलाई क्यान्सर अस्पतालमा  बदल्छ भने र उनका अन्यान्य ठूल्ठूला वाचाहरूलाई पूरा गर्छ भने म राजनीतिबाट रिटायरमेन्ट लिनेछु। त्यसबेला मात्र म सिक्किमे जनतालाई मेरो सेवा जरूरी छैन भन्ने कुरो बुझ्नेछु।

उनी यदि आफ्नो वाचाहरू पूरा गर्नसक्दैनन् भने मेरो नाम काढ़िरहनु र मेरो मौलिक अधिकारहरूमाथि हस्तक्षेप गर्नुको कुनै औचित्य छैन। उनले त केवल आफ्ना वाचाहरूमात्र पूरा नगरेका होइनन्, तर उनले त राज्यका सम्पत्तिहरू पनि बाहिरका मानिसहरूलाई बेचेर भारतको राजनैतिक इतिहासमै आफैलाई एक बाहियात मुख्यमन्त्रीका रूपमा साबित गरिसकेका छन्। यस्तो अवस्थामा सिक्किम र सिक्किमे जनतालाई छोड़ेर म कहाँ जानु? राज्यको मुख्यमन्त्रीले नै आफ्नै पार्टनरहरूलाई थोक भाउमा सिक्किमलाई बेचिरहेको देख्दादेख्दै म राजनीति छोड़ेर कसरी जानसक्छु? जतिखेर सिक्किमे जनतालाई मेरो सबैभन्दा ज्यादा जरूरी छ, त्यतिखेर म कसरी रिटायर लिनु?

पी.एस. गोलेले याद गर्नुपर्छ कि आजसम्म एक निकम्मा र दक्षताविहीन मुख्मन्त्रीका रूपमा उनले केवल तीन वर्ष मात्र पूरा गरेका छन्। भारतको सबैभन्दा लामो कार्यावधि पूरा गरिसकेका मुख्यमन्त्रीसित हल्का ढङ्गले कुरा गर्ने नैतिक अधिकार उनलाई छैन। उनले अहिलेघरी मेरो रिटायरमेन्टको कुरा नगरेकै राम्रो। बरू सिक्किममा चलिरहेको प्रशासनको बेहाल स्थिति, सिक्किम बेच-विखनको दुर्नीति, झूट र फरेबको राजनीति आदि-आदि सबै हेरेर आफ्नै रिटायरमेन्टको चिन्ता गर्नु राम्रो हो। यदि उनी राजनीतिलाई पेशा सम्झेर बसिरहेका छन् भने म पनि उनलाई एउटा प्रश्न गरूँ,  तपाईंलाई थाहा छ कि छैन तर काम गर्न नसक्ने र आफ्नो दक्षता प्रदर्शन गर्न नसक्ने खेलाड़ीहरूलाई रिटायरमेन्ट हुनुभन्दा पहिले नै छुट्टी दिने चलन छ नि! भारतकै क्रिकेट टीममा पनि कमसेकम दशजना यस्ता खेलाड़ीहरू छन्, जसलाई पहिलो इन्टरनेश्नल टेस्ट म्याचपछि नै टीमबाट छुट्टी दिइएको छ। त्यसैले मेरो सुझाउ यही छ कि आफ्नो क्षमता बढ़ाऊ, होइन भने छुट्टी लिने तयारी गर।”

 

Leave a Reply

Your email address will not be published.