आयुष मन्त्रालयद्वारा सिक्किम लगायत पूर्वोत्तरका लागि पारम्परिक भारतीय चिकित्सा विधिको निम्ति व्यापक पहलको घोषणा
– सिक्किममा अन्तरराष्ट्रिय योग एवं प्राकृतिक चिकित्सा कलेज स्थापना गरिने
– सिक्किममा 30 पलङ क्षमताको सोवा रिग्पा अस्पताल
– स्याटेलाइट इन्स्टीट्युट कार्यक्रम अन्तर्गत सिक्किमा आयुर्वेद कलेज
– आयुष मन्त्रालयले सोवा रिग्पाको निम्ति अनुसन्धान परिषद् स्थापित गर्ने
गान्तोक, 21 मई, 2022। सिक्किममा सोवा रिग्पा, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायत पारम्परिक चिकित्सा विधिको निम्ति व्यापक पहल गरिने केन्द्रिय पोत, जहाजरानी, जलमार्ग एवं आयुष मन्त्री सर्वनन्द सोनवालले घोषणा गरेका छन्। हिमाली भेकको पारम्परिक चिकित्सा विधि सोवा रिग्पा विषयमाथि राष्ट्रिय कार्यगोष्ठीको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय मन्त्री सोनवालले आज गान्तोकमा यस प्रकारको आशय व्यक्त गरे।
सिक्किममा अन्तरराष्ट्रिय योग अनि प्राकृतिक चिकित्सा कलेजको स्थापना गरिने र यसले पूर्वोत्तर भारतमा चिकित्सा पर्यटनलाई ठूलो टेवा प्रदान गर्ने केन्द्रिय मन्त्रीले दाबी गरे। सोवा रिग्पा चिकित्सा विधिको महत्त्व रेखाङ्कित गर्दै जनमानसबीच यसलाई लोकप्रिय बनाउँदै जीवनको गुणस्तरमा सुधार ल्याउने ध्येयका साथ सिक्किममा 30 पलङ क्षमताको सोवा रिग्पा अस्पताल स्थापना गरिने पनि उनले घोषणा गरे। पूर्वोत्तर भारतमा आयुष अन्तर्गत पहललाई अरू व्यापकता प्रदान गर्न राज्यमा स्याटेलाइट इन्स्टीट्युट कार्यक्रम अन्तर्गत आयुर्वेद आयुर्विज्ञान महाविद्यालयको स्थापनाका अतिरिक्त प्रत्येक ग्राम पञ्चायतमा योग एवं आरोग्य केन्द्र स्थापित गरिने पनि मन्त्री सोनवालले घोषणा गरे। क्षेत्रमा आयुष आधारित विकासको महत्त्व प्रकाश पार्दै केन्द्रिय आयुष मन्त्रीले सोवा रिग्पाको निम्ति अनुसन्धान परिषद् स्थापना गर्ने सम्भावनाहरू पनि खोजिने बताए।
सिक्किमका राज्यपाल मुख्य अतिथि तथा मुख्यमन्त्री विशेष अतिथि रहेको राष्ट्रिय कार्यगोष्ठीमा केन्द्रिय आयुष मन्त्री सर्वनन्द सोनवाल, केन्द्रिय महिला एवं शिशु विकास तथा आयुष राज्यमन्त्री डा. मुञ्जपाडा महेन्द्रभाइ कालुभाइ विशेष अतिथिका रूपमा उपस्थित थिए। यसका साथै राज्यका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मणिकुमार शर्मा लगायत मन्त्रालय अनि सिक्किमका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
आयुष मन्त्रालय अन्तर्गत राष्ट्रिय सोवा रिग्पा संस्थान (एनआइएसआर) अनि नामग्याल तिब्बतीय संस्थान (एनआइटी), गान्तोकको संयुक्त तत्वावधानमा आयोजित दुईदिने कार्यगोष्ठीमा सोवा रिग्पाका विशेषज्ञ, विद्वान, विद्यार्थी तथा अन्य हितधारकले भाग लिइरहेका छन्।
यस अवसरमा केन्द्रिय मन्त्रीले अन्य अतिथिगणका साथ एनआइटी, देउराली गान्तोकमा सोवा रिग्पा महाविद्यालय भवनको पनि परोक्ष रूपमा उद्घाटन गरे।
यस अवसरमा बोल्दै केन्द्रिय मन्त्री सर्वनन्द सोनवालले सुन्दर राज्य सिक्किमसँग मानव आत्माका साथै स्वास्थ्यलाई निको पार्ने धेरै तत्त्व रहेको बताए। सोवा रिग्पाको समृद्ध धरोहरबाट हामीले धेरै कुरा प्राप्त गर्नसकिने उल्लेख गर्दै आधुनिक चिकित्सा विधिका साथमा पारम्परिक चिकित्सा विधिले मानव जीवनलाई समृद्ध तुल्याउँदै जीवनको गुणस्तरमा सुधार ल्याउने अपार सम्भावना रहेको उनले बताए। यी दुई विधिले साथमा मिलेर स्वस्थ अनि खुशी राष्ट्र निर्माण गर्न धेरै सहयोग गर्ने परिकल्पना प्रधानमन्त्रीको परिकल्पना रहेको पनि उनले बताए। त्यसै दूरदृष्टि अनुरूप काम गरिरहेको उल्लेख गर्दै आयुष मन्त्रालयले चालेको पाइलाबाट क्षेत्रका साथै सम्पूर्ण देशका जनमानस व्यापक रूपमा लाभान्वित बन्ने आशा उनले व्यक्त गरे।
यस अवसरमा बोल्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पारम्परिक चिकित्सा विधि प्रयोग गर्ने वैद्यहरूसँग जडीबुटीका साथमा त्यसको उपचारी गुणबारे धेरै जानकारी रहने गरेको बताए। यस्ता विधिलाई प्रोत्साहित गर्न केन्द्रिय मन्त्री सर्वनन्द सोनवालले धेरै पदक्षेपको घोषणा गरेकोमा उनले सिक्किमको जनमानसको तर्फबाट आभार व्यक्त गरे। सोवा रिग्पा विश्वकै सबैभन्दा पुराना दस्तावेजित चिकित्सा विधि रहेको र हिमाली भेक लगायत सिक्किमका जनमानसले युगौंदेखि यसको प्रयोग गर्दै आएको उनले बताए।
पूर्वोत्तरमा आयुषको भूमिकाबारे बोल्दै केन्द्रिय मन्त्री सर्वनन्द सोनवालले विश्व पटलमा आयुर्वेद अनि योगले भारतको दर्जा धेरै नै बढाएको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको गतिमान नेतृत्त्वमा भारतीय पारम्परिक चिकित्सा पद्धतिले भारतको उपलब्धिलाई अझ शिखरमा पुऱ्याउने विश्वास रहेको उनले बताए। पुरातन कालदेखि नै महान राष्ट्र भारत दुवै स्वास्थ्य अनि आध्यात्मिक उपचारको निम्ति प्रख्यात रहेको उल्लेख गर्दै पूर्वोत्तर क्षेत्र भारतको विकासको नयाँ इञ्जिन रहेको पनि उनले बताए। यहाँको समृद्ध वनस्पतिले आयुष आधारित विकासलाई ठूलो टेवा प्रदान गर्नसक्ने उनले दाबी गरे। पूर्वोत्तर भारतमा आयुषको अपार सम्भावनालाई ध्यानमा राख्दै एउटा मञ्च स्थापित गर्ने दिशामा कदम चालिरहेको पनि उनले बताए। यसका साथै सिक्किम अनि सम्पूर्ण पूर्वोत्तर क्षेत्रले यसलाई ठूलो अवसरको रूपमा लिँदै यसको आर्थिक क्षमता उजागर गर्न प्रमुख हितधारक बन्ने उनले विश्वास व्यक्त गरे। (पीआइबी)