9.6% को राष्ट्रिय औसतलाई पार गर्दै सिक्किममा एमएसएमईलाई ऋणमा मार्च 2022 मा 11.32 प्रतिशतको वृद्धि

Spread the love

गान्तोक, 17 मई, 2022। सिक्किममा 31 मार्च, 2022 सम्म एमएसएमईहरूलाई ब्याङ्कद्वारा ऋण प्रदान गर्ने सम्बन्धमा एमएसएमईका लागि नवौं अधिकृत समितिको बैठक भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा आयोजन गरियो।

बैठकको अध्यक्षता आरबीआइ गान्तोकका प्रभारी एवं महाप्रबन्धक किशोर परियारले गरेका थिए भने यस अवसरमा एमएसएमईका निर्देशक एम रविकुमार, नाबार्डका प्रभारी एवं महाप्रबन्धक एसके गुप्त पनि विशेष रूपमा उपस्थित थिए। बैठकमा केभीआइसी, डीआइसी, एसईईडी प्रकोष्ठ लगायत सिक्किम राज्यमा सञ्चालित विभिन्न ब्याङ्कका क्षेत्रीय प्रभारीहरू पनि उपस्थित थिए।

आफ्नो सम्बोधनमा आरबीआइका महाप्रबन्धक किशोर परियारले भारतीय अर्थनीतिको समग्र विकासमा एमएसएमई क्षेत्रको महत्त्वबारे उल्लेख गर्दै सरकारका साथै आरबीआइले यस क्षेत्रमा ऋणको प्रवाह बढाउन प्रयास गरिरहेको जानकारी दिए। आफ्नो अभिनव विचार साझा गर्दै यसको समुचित कार्यान्वयनका लागि विविध आयाम खोज्न उनले हितधारकहरूलाई आग्रह गरे। 31 मार्च, 2022 मा समाप्त भएको त्रैमासिकमा 11.32 प्रतिशतको वृद्धि दर्ता गरेकोमा उनले ब्याङ्कहरूको सराहना गरे। सिक्किम सरकारको एमएसएमईका निर्देशक एम रविकुमारले एमएसएमई क्षेत्रका साथमा उद्यमितालाई राज्यमा प्रोत्साहित गर्नका सरकारले चालेको विभिन्न कदमबारे अवगत गराए। यसै गरी नाबार्डका महाप्रबन्धक एसके गुप्तले राज्यमा वित्तीय सचेतना फैलाउन छुट्याइएको धनराशिबारे चर्चा गरे।

प्रधानमन्त्री रोजगार प्रत्याभूति योजना (पीएमईजीपी) अन्तर्गत ऋण प्रवाह वित्तीय वर्ष 2021-22 को वार्षिक लक्ष्यभन्दा 103 प्रतिशत रहेको तथा त्रैमासिक रूपमा स्ट्याण्ड अप इण्डिया योजना अन्तर्गत ऋण प्रवाह उल्लेखनीय रूपमा 107.67 प्रतिशत दर्ता भएको पनि बैठकमा अवगत गराइयो। प्रधानमन्त्री मुद्रा योजना (पीएमएमवाई) अन्तर्गत सिक्किममा प्रदान गरिएको अग्रिमले त्रैमासिक आधारमा 14.79 प्रतिशतको वृद्धि दर्ता गरेको पनि जानकारी गराइयो। अन्त्यमा आरबीआइका महाप्रबन्धक परियारले उत्साही उद्यमीहरूलाई आवश्यक ब्याङ्क ऋण प्राप्त गर्न सक्रिय रूपमा सहयोग गर्न सबै ब्याङ्कलाई प्रोत्साहित गरे। (पीआइबी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *