कृषि स्टार्टअप्स विषयमा राष्ट्रिय सम्मेलन कृषि मन्त्रीद्वारा उद्घाटन

कृषि स्टार्टअप्स विषयमा राष्ट्रिय सम्मेलन कृषि मन्त्रीद्वारा उद्घाटन

Spread the love

कृषि स्टार्टअप्स – सम्भावना, चुनौती, प्रविधि तथा रणनीति (एग्रिप्याक्ट – 2022)” विषयमाथि दुई दिने राष्ट्रिय सम्मेलन आज मनन केन्द्र, गान्तोकमा उद्घाटन गरियो। दुई दिने सम्मेलन कृषि कारोबारको वातावरण, सम्भावित प्रविधि, आइपीआर प्रविधि एवं वाणिज्यिकरण, वातावरण निर्माताहरूले सामना गर्नुपर्ने चुनौती तथा कृषि स्टार्टअप्स एवं हितधारकबीच सम्मिलनमाथि केन्द्रित रहनेछ।

आय सम्मेलनको उद्घाटन मुख्य अतिथिका रूपमा उपस्थित राज्यका कृषि, पशुपालन एवं पशु चिकित्सा सेवा मन्त्री लोकनाथ शर्माले गरे। आफ्नो सम्बोधनमा जैविक खेतीको महत्त्वबारे प्रकाश पार्दै सिक्किमका कृषि उत्पादहरूको देशका साथै विश्वभरी माग बढाउने अवसर सिर्जना गर्न परिशुद्धताको उच्च गुणस्तर कायम गर्न आवश्यक रहेको बताए। सिक्किम सरकारले बेच-बिखनको अवसर अरू व्यापक बनाउन चालेका कदमहरू प्रकाश पार्दै दूधको उत्पादनमा आत्मनिर्भरता हासिल गरिएको उनले बताए। यसका साथै कृषकहरूलाई लाभान्वित बनाउने हिसाबको अनुसन्धान आधारित वैज्ञानिकतम समाधान ल्याउनुपर्ने आवश्यकतामाथि पनि उनले बल दिए।

विशेष अतिथिका रूपमा उपस्थित सिक्किम विश्वविद्यालयका उपकूलपति प्रो. अविनाश खरेले दीर्घकालसम्म विपणन सुगम बनाउँदै रोजगार अनि आमदानी सिर्जनाका लागि सिक्किमको कृषि उत्पादका साथै परिशोधित वस्तुहरूको ब्राण्डिङ गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। सिक्किमका उद्यमीहरूलाई प्रोत्साहित एवं पृष्ठपोषण गर्न यस प्रकारको पहल गरिएकोमा उनले आयोजको कदमको पनि स्वागत जनाए।

मणिपुर सरकारका अतिरिक्त मुख्य सचिव पी वाइफेले विशेष गरी जैविक उत्पादका लागि उद्यमिता विकास गर्नुपर्ने महत्त्व रेखाङ्कित गरे। मणिपुरले पनि सिक्किमकै अनुसरण गर्दै जैविक खेतीलाई प्रोत्साहन दिनका अतिरिक्त क्षेत्र अनि कृषकहरूको अर्थनीतिमा मूल्य अभिवृद्धि गर्न जैविक खेतीमाथि विशेष जोड दिइरहेको बताए।

उत्पादको विकासका साथमा उपभोक्ता स्तरसम्म सञ्जालको माध्यमद्वारा स्टार्टअप्स अनि एफपीओ लगायत उद्यमीहरू पुग्ने विषयमा आइसीएआर, नयाँ दिल्लीका एडीजी (आइपी एवं टीएम) डा. के श्रीनिवासले प्रकाश पारे। यस अवसरमा तीनवटा प्रकाशन – “पूर्वोत्तरमा कृषि कारोबारका अवसरहरू”, “खेतीका लागि प्रशिक्षण अभिन्न अङ्ग” तथा “एग्रीप्याक्ट 2022 को स्मारिका” पनि लोकार्पण गरियो।

यसअघि एग्रिप्याक्ट-2022 का संयोजक तथा सिक्किम केन्द्रका संयुक्त निर्देशक डा. आर लाहाले अतिथि अनि प्रतिभागीहरूलाई स्वागत जनाए। आयोजक सचिव डा. जी कर्डिरवेलले सम्मेलनका साथमा सिक्किम लगायत पूर्वोत्तरका कृषि उत्पादको निर्यात सम्भावनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरे। उद्घाटन कार्यक्रमको समापन आइसीएआर मेघालयका प्रमुख वैज्ञानिक डा. अर्णब सेनको धन्यवाद ज्ञापनसँगै भएको थियो भने यस अवसरमा सिक्किम जैविक अभियान, आइबीएसडी, एमएसएमई, सीएयु, कृषि एवं बागवानी विभागका अधिकारीहरू पनि उपस्थित थिए।

उद्घाटन कार्यक्रममा देशभरीका पाँच सयभन्दा धेरै प्रतिभागी सामेल रहेका थिए, जसमा 75 जना वैज्ञानिक/ कारोबारी विशेषज्ञ तथा कृषक उत्पादक कम्पनी/ सङ्गठनहरूका 75 भन्दा धेरै पदाधिकारी, 20 सफल कृषि स्टार्टअप्स तथा पूर्वोत्तर क्षेत्रका 120 भन्दा धेरै अधिकारीगण, नाबार्ड, एमएसएमई, एपीईडीए, एफएसएसएआइ, एमओएमए, एसएफएसी आदिका प्रतिनिधिगण, विभिन्न कृषि तथा प्रबन्धन संस्थानका 150 भन्दा धेरै विद्यार्थी उपस्थित थिए। (पीआइबी)

Leave a Reply

Your email address will not be published.