गान्तोक, 21 मई । केन्द्रिय पोत, जहाजरानी तथा जलमार्ग एवं आयुष मन्त्री सर्वनन्द सोनवालका साथमा केन्द्रिय आयुष तचथा महिला एवं शिशु विकास राज्यमन्त्री डा. मुञ्जपाडा महेन्द्रभाइ कालुभाईले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका साथ योग उत्सवमा योग गरे। गान्तोकको ऐतिहासिक इञ्चे गुम्पामा आयोजित उत्सवमा सिक्किमका स्वास्थ्य मन्त्री डा. मणिकुमार शर्मा लगायत केन्द्रिय मन्त्रालय अनि सिक्किम सरकारका वरिष्ठ अधिकारीगण, गुम्पाका लामा अनि विद्यार्थीहरूले पनि यस उत्सवमा सहभागिता जनाए।
केन्द्रिय आयुष मन्त्रालय, राष्ट्रिय आयुष मिशनका साथमा सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले आगामी महिना हुने अन्तरराष्ट्रिय योग दिवसलाई ध्यानमा राख्दै योग उत्सव आयोजन गरेको हो। यस अवसरमा बोल्दै केन्द्रिय मन्त्री सोनवालले योग जीवनलाई समृद्ध बनाउने सुन्दर विधि रहेको बताए। यसले शारीरिक तन्दुरूस्ती बढाउनका साथै आध्यात्मिक स्वास्थ्यमा पनि सुधार ल्याउने उनले दाबी गरे। गान्तोकको ऐतिहासिक इञ्चे गुम्पामा योग गर्न पाउनु धेरै खुशीको कुरा रहेको पनि उनले बताए।
योगले विश्व पटलमा भारतको दर्जालाई सर्वोच्च शिखरमा पुऱ्याएको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्त्वमा अन्तरराष्ट्रिय योग दिवस पालन गर्ने दिशामा देशव्यापी योगको प्रक्रिया शुरु गरिएको मन्त्री सोनवालले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीकै प्रयासमा 21 जूनको दिन प्रत्येक वर्ष विश्वभरी योग दिवस पालन गर्न शुरु गरिएको र सिक्किमबाट यसको निम्ति शुरुवात गर्न पाउनु धेरै खुशीको क्षण बनेको उनले बताए।
स्वस्थ अनि समृद्ध जीवनको निम्ति योगलाई आफ्नो दैनन्दिनीको अंश बनाउन पनि केन्द्रिय मन्त्रीले अपील गरे। यसले विश्व पटलमा भारतको नरम शक्ति बढाउन धेरै ठूलो योगदान पुऱ्याउने पनि उनले दाबी गरेको जानकारी पीआईबीले दिएको छ।