एसकेएम सरकारले जनतालाई धोका दिने, ठग्ने, अत्याचार गर्ने मात्र काम गरिरहेको एसडीएफको आरोप

एसकेएम सरकारले जनतालाई धोका दिने, ठग्ने, अत्याचार गर्ने मात्र काम गरिरहेको एसडीएफको आरोप

Spread the love

गान्तोक, 24 मई । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकारले विगत तीन वर्षको अवधिमा सिक्किमेली जनतालाई धोका दिने, ठग्ने, दुःख दिने, अत्याचार गर्ने, डर देखाउने, तर्साउने र जनताको हक, अधिकार, अस्मिता, सम्मान र गौरवलाई बन्दगी राखेर कुर्सी जोगाउने काम मात्र गरिरहेको आरोप विपक्षी एसडीएफ पार्टीले लगाएको छ।

एसकेएम सरकारबाट भएका जनविरोधी र सिक्किमविरोधी कामबाट सिक्किमेली जनता वाक्क भएर एसकेएम पार्टीलाई मरेको लासलाई जुम्राले छोडेजस्तै छोड्दै जान थालेको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा भनिएको छ, सत्तारूढ पार्टी हतास र निराश भएर अतालिएको छ। नैतिकता र दायित्व गुमाएको छ। आफ्ना जनविरोधी कार्यक्रमद्वारा सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाउँदैछ। आर्थिक अनियमितताले अर्थतन्त्रको मेरूदण्ड नै भाँची दिएको छ। विधिको शासन समाप्त भएकोले राज्यमा चरम अराजकताको माहौल सिर्जना भएको छ। सिक्किम र सिक्किमेली जनताले प्राप्त गरेको गौरव चरम चाप्लुसी र लम्पसारवादले समाप्त प्रायः पारिदिएको छ।

राज्यका मुख्यमन्त्री राज्यमा भन्दा राज्यबाहिर गएर समय र धन नष्ट गरिरहेको आरोप पनि एसडीएफले लगाएको छ। उद्योग धन्धा, कलकारखाना, सिक्किमको भूसम्पत्ति, व्यापार-वाणिज्य आदि सबै बाहिरका पुँजीपतिहरूका कब्जामा गइरहेको पनि एसडीएफले दाबी गरेको छ।
‘कमिसनखोरी र भष्ट्राचार बढेर संस्थागत भएको छ। विकासका नवनिर्माणका काम ठप्प छन्। महँगाई चरममा पुगेको छ। बजार व्यवस्था नियन्त्रण गर्ने कुनै विधि छैन। विद्यालय, शिक्षक, मजदूर, किसान र सर्वसाधारणलाई सुरक्षा, सुव्यवस्था, सहुलियत र उद्धारका कुनै योजना आजसम्म सञ्चालित भएका छैनन्, एसडीएफले विज्ञप्तिमा भनेको छ। राज्य सरकारले दिल्लीमा राज्य दिवस मनाएर सरकारी ढिकुटी रित्तो पार्न जुटेको पनि आरोप लगाइएको छ।

Leave a Reply

Your email address will not be published.