सिक्किमको राजधानी गान्तोकमा 23औं नेपाली भाषा मान्यता दिवस उल्लासका साथ मनाइयो। यस अवसरमा सिक्किमेली नेपाली साहित्यका परिचित व्यक्तित्व कवि प्रविण राई ‘जुमेली’लाई कञ्चनजङ्घा अगम स्मृति पुरस्कार-2023 ले सम्मानित गरियो। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गरिएको दिनलाई प्रत्येक वर्ष भाषा मान्यता दिवसको रूपमा पालन गरिँदैछ।
कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ्ग (गोले)-को मुख्य आतिथिको रूपमा उपस्थित थिए। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङ्गले नेपाली भाषालाई भारतीय संवैधानिक मान्यता दिलाउन सङ्घर्ष व्यक्तिहरूलाई याद गरे। गान्तोकको चिन्तन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनेका छन् नेपाली भाषालाई सम्वैधानिक मान्यता दिलाउन सिक्किमका पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारी अनि उनकी धर्मपत्नी तथा तत्कालीन सिक्किम की लोकसभा सांसद दिलकुमारी भण्डारीको ठूलो योगदान रहेको छ। राजनीतिक अन्तरका कारण सत्ताच्यूत भएपछि पूर्व सरकारमा पूर्व मुख्यमन्त्री भण्डारी अनि पूर्व सांसदका कामको उत्ति मूल्याङ्कन हुन नसकेको कुरा मुख्यमन्त्रीले साझा गरे।
भाषा अनि संस्कृतिको महत्वमाधि बोल्दै मुख्यमन्त्री तामाङ्गले भने, आफ्नो संस्कृतिमाथि त्यति ध्यान नदिएकै कारण पनि आज पश्चिमी संस्कृति हामी माथि हाबी हुँदैछ। भाषा र संस्कृतिको विकासको निम्ति यसलाई प्रयोगमा ल्याउन आवश्यक रहन्छ। अबका युवा कवि तथा लेखकहरूले नेपाली भाषाहरूमा लेखिएका पुस्तकहरू अन्य विभिन्न भाषामा अनुवाद गरी विश्वका नामी विश्वविद्यालय अनि पुस्तकालयमा पुऱ्याउने काम गर्नुपर्छ। भाषाले सम्वैधानिक मान्यता मात्र पाएर हुँदैन तर नागरिकहरूले यसबाट पाउने सुविधाको पनि उपभोग गर्न सक्नुपर्छ मुख्यमन्त्रीले भने। अन्य भाषाहरूको ज्ञान सँगै नेपालीलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने मुख्यमन्त्रीले अपील गरेका छन्। उनले सिक्किममा एउटा राष्ट्रीय स्तरको नेपाली च्यानल खोल्ने सुझाउको समर्थन गर्दै यसको निम्ति सरकार तैयार रहेको जनाएका छन्।
भारतमा नेपाली भाषा आन्दोलन, इतिहास अनि उपलब्धिमाथि वार्ता प्रस्तुत गर्दै वार्ताकार पश्चिम बङ्गालको कालेबुङ निवासी सुवास सोताङले भनेका छन् त्यस समयको भारतीय जनसङ्ख्या बीच नेपाली भाषीहरू केवल एक प्रतिशत मात्र थिए। एक प्रतिशत जनसङ्ख्याले बोल्ने भाषालाई मान्यता दिलाउने सङ्घर्ष सजिलो थिएन। तर सिक्किम सरकारले त्यस समय भाषा मान्यताको निम्ति ब्रह्मअस्त्र नै प्रयोग गरेको भन्न सकिन्छ। हुनत नेपाली भाषा मान्यताको आन्दोलन साल 1956मा देहरादूनबाट शुरू गरिएको हो। लगभग 36 वर्षको लामो सङ्घर्षपछि सिक्किमका पूर्व मुख्यन्त्री नर बहादुर भण्डारी अनि उनकी पत्नी तथा पूर्व सांसद श्रीमती दिलकुमारी भण्डारीको अथक प्रयासमा आन्दोलन सफल बनेको कुरा सार्वजनिक गरे। उनले आन्दोलन द्वारा प्राप्त गरिएको उपलब्धी अनि सफलतालाई संरक्षण गर्ने अपील पनि गरेका छन्।
कार्यक्रमको अवसरमा सिक्किम केन्द्रीय विश्वविद्यालयबाट नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी रतन राईलाई प्रेम लाल स्मृति शैक्षिक पुरस्कार पनि प्रदान गरियो।
फोटोः भाषा दिवसको अवसरमा पुरस्कार ग्रहण गर्दै कवि जुमेली