सिक्किम सुरक्षा समिति खाँटी सिक्किमेहरूको सुरक्षाको निम्ति बोल्दैछ: मदन तामाङ

Spread the love

सोम्बारे, 23 मई। खाँटी सिक्किमेको पक्षमा र फर्जी दस्तावेजधारीहरुको विरुद्धमा लगातार आवाज उठाउँदै आइरहेको गैर राजनीतिक संगठन सिक्किम सुरक्षा समिति (एसएसएस)-को जनचेतना एवं जनजागरण कार्यक्रम आज सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिको सोमबारे बजारमा सम्पन्न भयो। राज्यका विभिन्न ठाउँमा सिक्किम सुरक्षा समितिले धारावाहिक रूपमा जनचेतना एवं जनजागरण कार्यक्रम गर्दै आएको छ भने सोमबारे बजारमा पहिलोपटक कार्यक्रम आयोजना गरियो।

सिक्किम सुरक्षा समितिले खाँटी सिक्किमेहरुको पक्षमा निरन्तर वकालती गर्दै सिक्किम राज्यभित्र फर्जी दस्तावेज र प्रमाणपत्रहरु बनाएर सिक्किमका खाँटी नागरिकहरूको हक अधिकारमाथि अतिक्रमण गर्नेहरु विरुद्ध तीव्र आवाज उठाउँदै आइरहेको छ। सिक्किममा जाली सिक्किम सब्जेक्ट, सीओआई, आवासीय प्रमाणपत्र, मतदान परिचयपत्र, आधार कार्ड, व्यापार लाइसेन्स, सब्लेट लाइसेन्स चलाउने व्यक्तिहरु विरूद्ध कारबाही गरिनुपर्छ भन्ने अडान समितिले स्पष्ट गरेको छ।

सम्बोधन गर्ने क्रममा सिक्किम सुरक्षा समितिका पश्चिम जिल्ला अध्यक्ष विनोद सुब्बाले जाली प्रमाणपत्र बनाएर खाँटी सिक्किमेको अधिकार खोस्दै सरकारी नोकरीमा लागेकाहरुले तुरुन्तै आफ्नो जाली प्रमाणपत्र आत्मसमर्पण गर्नुपर्ने अल्टिमेटम दिँदै यदि जाली व्यक्तिहरुले आफ्नो फर्जी प्रमाणपत्र रद्द नगरे अर्को सभामा ती व्यक्तिहरुको नाम सार्वजनिक गर्ने चेताउनी दिए। सोरेङ ग्राम पञ्चायत एकाईका वर्तमान पञ्चायत सदस्य समेत रहेका विनोद सुब्बाले अब वैध सिक्किम सब्जेक्ट, सीओआई र आवासीय प्रमाणपत्र हुनेहरुको मात्र लाइसेन्स रिन्यू गरिने अनि सबलेट लाइसेन्स विरुद्ध कडा पहल गरिने बताए।

यसरी नै सिक्किम सुरक्षा समितिका प्रवक्ता ओआर छेत्रीले सम्बोधन गर्दै सिक्किममा आज सिक्किमे जनतामा मनमुटाउ भइरहेको बताए। उनले यी तमाम मनमुटाउलाई समाधान गर्नको निम्ति सरकारसमक्ष ध्यानाकर्षण गराउने काम सिक्किम सुरक्षा समितिले गर्ने बताए। प्रवक्ता छेत्रीले अघि भने, जब खाँटी सिक्किमेलाई अन्याय भएको कुराहरू सरकारसमक्ष पुग्नेछन् तब सरकारलाई पनि न्याय दिनु कर लाग्नेछ। सिक्किमका बौद्धिक व्यक्तित्वहरु यो समितिसँग जोडिनु होस्। हामी सरकारसँग लड्न आएका छैनौं, तर मूलवासी सिक्किमे जनताको सुरक्षा हुनुपर्छ भन्ने सिक्किम सुरक्षा समितिको स्पष्ट अडान छ। अर्कोतिर सिक्किमको पुरानो कानुनहरु पनि यथावत रहनुपर्छ भन्ने पनि प्रवक्ता छेत्रीले बताए।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित सिक्किम सुरक्षा समितिका अध्यक्ष मदन तामाङले खाँटी सिक्किमे भर्सेस् नन् सिक्किमको लडाइँमा सिक्किम सुरक्षा समितिलाई साथ दिने अपिल गरे। उनले भने, सिक्किम सुरक्षा समिति कसैको विरोधमा छैन, तर खाँटी सिक्किमेहरुको निम्ति बोल्दैछौं। सिक्किममा फर्जी दस्तावेज बनाएर बस्नेहरुले यहाँका खाँटी बासिन्दाहरुलाई राजनीतिक, शैक्षिक र आर्थिक क्षेत्रमा धलिमलि गरिरहेका छन्। आज वन साङ्लेले घर साङ्लेलाई लखेट्ने काम हुँदैछ। यदि अहिले नै हामी खाँटी सिक्किमे एक भएनौं भने भविष्यमा हामी अल्पसंख्यक हुने छौ।

उनले अझ भने, सिक्किममा जाली मान्छेहरुले मूलवासी सिक्किमेलाई दबाउने काम गरिँदैछ। फर्जी सीओआई बनाएर सिक्किमा राज गर्नेहरु विरुद्ध खाँटी सिक्किमेहरु अब एकजुट हुनुपर्छ। आज जाली सीओआई बनाउनेहरुले सरकारी नोकरी गर्दैछन्। धेरै फर्जी प्रमाणपत्र धारीहरुले राम्रो-राम्रो पोस्टमा काम गर्दैछन्। आज यहाँका खाँटी सिक्किमेहरुले ओएफओजे-को नोकरी गर्दैछन्। जाली दस्तावेज बनाएर सरकारी नोकरी गर्नेहरु विरुद्ध सरकारले किन कारवाही गर्दैन। किन फर्जी प्रमाणपत्र बनाउनेहरुलाई पक्राउ गरिँदैन, अध्यक्ष मदन तामाङले सरकारप्रति तिखो प्रश्न गरे।

आज सोमबारे बजारमा आयोजित सिक्किम सुरक्षा समितिको जनसचेतना एवं जनजागरण कार्यक्रममा सिक्किम सुरक्षा समितिका अध्यक्ष मदन तामाङ, सिक्किम ओल्ड सेल्टरका उपाध्यक्ष तन्बिर आमद, सिक्किम सुरक्षा समितिका महासचिव डेबिड तामाङ, समितिका प्रवक्ता ओआर छेत्री, कर्थोक ब्लकका पञ्चायत सभापति डम्बर प्रधान, समितिका राज्य स्तरीय महिला अध्यक्ष राधिका मगर, समितिका युवा संयोजक रोशन धिताल, सिक्किम सुरक्षा समितिका पश्चिम जिल्ला अध्यक्ष विनोद सुब्बा, विभिन्न ग्राम पञ्चायत एकाईका पञ्चायतगण, नागरिक समाजका प्रतिनिधिगण र सचेत नागरिकहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *