एस.यू बन्यो हाई सिक्यूरिटी प्रमाणपत्र दिने पूर्वोत्तरको पहिलो विश्वविद्यालय

एस.यू बन्यो हाई सिक्यूरिटी प्रमाणपत्र दिने पूर्वोत्तरको पहिलो विश्वविद्यालय

Spread the love

गान्तोक, 15 नोभेम्बर। सिक्किम केन्द्रीय विश्वविद्यालय (एस.यू) को छैटौं दीक्षान्त समारोहमा 126 जना पीएचडी डिग्री सहित 12661 जना विद्यार्थिले डिग्री प्राप्त गर्नेछन्। विश्वविद्यालयका कुलपति प्रो. अभिनाश खरेले पत्रकार सम्मेलन गरेर आगामी 18 नोभम्बरको दिन हुने छैटौं दीक्षान्त समारोहको बारेमा विस्तृत जानकारी दिएका छन्। विश्वविद्यालयका चीफ रेक्टर राज्यपाल गङ्गा प्रसाद प्रमुख अतिथि रहने यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मुख्यमन्त्री प्रेम सिंह तामाङ रहने बताउँदै कुलपति खरेले विश्वविद्यालयद्वारा जाली डिग्री ऱ्याकेटलाई रोक्न गरिएको प्रयास बारे जानकारी दिए।

पत्रकार सम्मेलनमा विश्वविद्यालयको हाई सेक्युरिटी डिग्री प्रमाणपत्रको पनि लोकार्पण गरियो। यो प्रमाणपत्रलाई फोटोकपी गर्न नसकिने, पानी तथा अन्य रसायनिक पदार्थले परिवर्तन गर्न नसकिने सुरक्षा प्रदान गरिएको छ। यसले यूवी रेजिस्टेन्स 130 डिग्री सेल्सियससम्म नडड्ने, लेमिनेसनको आवश्यक नपर्ने, डुप्लिकेट बनाउन नसकिने, जीवनभरी सुरक्षित रहने उच्च गुणस्तरीय प्रमाणपत्र वितरण गर्ने पूर्वोत्तर भारतकै पहिलो विश्वविद्यलय रहेको कुलपति खरेले बताए।

सप्ताहव्यापी रूपमा पालन भइरहेको दीक्षान्त समारोह हिजो 14 नोभेम्बरदेखि शुरू भएर 17 नोभेम्बरसम्म विविध कार्यक्रमहरू बीच सम्पन्न हुनेछ। जसमा विद्यार्थी, शिक्षकहरूको सहभागिता रहनेछ। यो दीक्षान्त समारोहमा 280जना भन्दा धेरैले स्वर्ण र रजत पदक पाउनेछन्, ती मध्ये 146वटा स्वर्णपदक रहेको छ। स्वर्णपदक 93 जना महिला विद्यार्थिहरूको पक्षमा रहेको छ। यसैगरी 9वटा विशेष पदक पनि राखिएको छ त्यसमा 3 वटा आईसीएआई मेडल अफ मेरिट, 3 वटा प्रोफेसर समिरा माइती गोल्ड मेडल र 3 वटा सीताराम जिन्दल फाउण्डेसन गोल्ड मेडल रहेको छ।

दीक्षान्त समारोहको बारेमा जानकारी बाहेक कुलपति खरेले दक्षिण सिक्किमको याङ्गाङमा निर्माण भइरहेको विश्वविद्यालयको क्यम्पसमा यसै वर्षभित्र प्रयोगशाला नभएका विभागहरू सारिने बताए। जसमा लिम्बू, भोटिया र लेप्चा भाषाका विभागहरू मूल क्याम्पसमा सर्ने बताए। अर्कोतिर उनले विश्वविद्यालयको तत्परतामा शुरू गरिएको केसर खेतीको सफल गाथालाई साझा गर्न बिर्सिएनन्। उनले यो अनुसन्धानले सिक्किमका किसानलाई ठूलो लाभ हुने तथा विश्वविद्यालयले गरेको एउटा सफलतम कार्य रहेको पनि बताए। यसैगरी सिक्किम भूकम्प समवेदनशील राज्य भएको कारण त्यस बारे अध्ययन गर्ने दिशामा पनि विश्वविद्यालयले काम गरिरहेको बताउँदै अन्य विषयमा पनि अध्ययन र अनुसन्धानहरूको काम भइरहेको दाबी गरे।

Leave a Reply

Your email address will not be published.