प्रश्नोत्तरमा पवन चामलिङ- “अर्काले ठीक्क पारेको सीट बाँड़्ने काम मात्र एसकेएम सरकारले गरेको हो”

Spread the love

“ प्रश्न – एसकेएम सरकारले राज्यको स्वास्थ्य क्षेत्रमा ठूल्ठूला विकास गरेको दावी गर्नथालेको छ। यो दावीप्रति तपाईं के भन्नुहुन्छ?

उत्तर – उनीहरू आफैले घोषणा गरेको परिवर्त्तन नै राजनीतिक मजाक बनिसकेको अवस्थामा एसकेएम-ले शरम पचाएरै आफ्नो उपलब्धिको डीङ हाँक्नु परेको हो। पछिल्लो तीन वर्षमा ग्रामीण अर्थतन्त्र डाँवाडोल भएको छ, गरीबी उन्मूलनको गति उल्टो भएको छ, बेरोजगारीको समस्याले आकाश छोएको छ, सड़कहरू भत्किसकेका छन्, कानून-व्यवस्था भताभुङ्गै भइसकेको छ, अपराध दर बढ़ेको बढ़ेकै छ, सिक्किमको भ्रष्टाचार राष्ट्रिय हेडलाइन्स बन्न थालेका छन् अनि बाहिरिया मानिसहरूले सिक्किमका जमीन-जायदाद र सम्पत्तिहरू धमाधम किनिरहेका छन्। प्रगतिशील, शान्तिंमय र सुरक्षित राज्य भनेर चिनिने सिक्किम आज चिन्नै नसकिने गरी पश्चगामी, दुःखी र असुरक्षित बन्न पुगेको छ। आज एसकेएम सरकारसँग देखाउनलाई कुनै उपलब्धि छैन, त्यसैले उनीहरूले ल्याएको दुइ-तीनवटा डायलिसिस मेसिनलाई अजङ्ग र अचम्भको उपलब्धि ठऱ्याएर प्रचार गरिरहेको छ।

आज एसकेएम सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि गरेको छ भन्ने जुन झूट फैलाइरहेको छ, वास्तवमा त्यो उनीहरूको काम नभएर हाम्रो सरकारले गरेका कामहरूलाई नै उनीहरू आफूले गरेको काम भनेर प्रचार गर्दैछन्।
भन्नु नै हो भने आज पनि एसडीएफ सरकारमा बनेका पूर्वाधारले सिक्किमको काम चलिरहेको छ। र आगामी धेरै दशकसम्म यिनै पूर्वाधारहरूले सिक्किमको काम चलिरहनेछ। हाम्रा तिनै योजनाहरूलाई एसकेएम सरकारले उद्घाटन गर्ने, पुनर्उद्घाटन गर्ने कामहरू गर्दैछ। उनीहरूले गरेको काम त उनीहरूकै घोषणा-पत्र र मनको डायरीमा मात्र सिमीत छ। हामीले बनाएका पूर्वाधार र विकासले आज पनि राज्यभरि जनतालाई सेवा दिइरहेका छन्। वर्त्तमान सरकारले त त्यसमा एउटा प्लास्टिकको चौकी पनि जोड़ेको छैन।

सोकेगाङमा बृहत हस्पिटल बनाउने योजना हाम्रै हो। यो हस्पिटल बनाउने सपना पनि हाम्रै हो र काम पनि हामीले नै पूरा गरेका हौं। देशको कुनै पनि राज्यमा राज्य सरकारद्वारा निर्मित यो सबैभन्दा ठूलो हस्पिटल हो। नयाँ दिल्लीको एम्सपछि सबैभन्दा ठूलो सरकारी हस्पिटल। विभिन्न स्रोतहरूबाट बजेट जुटाएर हामीले यो परियोजनालाई सफल पाऱ्यौं। यसको व्यवस्थापन कसरी हुनसक्यो भन्ने कुरो मलाई नै थाहा छ। भव्य र विशाल हस्पिटल भवनसँगै अत्याधुनिक उपचार उपकरणहरू, मेसिनहरू जड़ान गऱ्यौं। म स्वयंले सेन्ट्रल ब्याङ्क अफ इन्डियाका सीएमडी-सँग कोलकोतामा भेटेर स्वास्थ्य उपकरण र मेसिनहरूका निम्ति 300 करोड़ रुपियाँ ऋणको व्यवस्था गरें। मैले हाम्रो योजना र यसका जरूरतहरू बताएपछि ब्याङ्कले कम ब्याज-दरमा ऋण उपलब्ध गरायो।

एसकेएम सरकारले ती सबै उपकरणहरू जड़ान गर्ने कामसमेत पूरा गर्नसकेको छैन। आजसम्म उनीहरूले कतिपय यन्त्र वा उपकरणहरू सञ्चालन गर्नसक्ने दक्ष जनशक्तिसमेत नियुक्त गर्नसकेको छैन। एसडीएफ सरकारले सिक्किमेहरूलाई राज्यभित्रै विश्वस्तरीय स्वास्थ्य-सेवा उपलब्ध गराउने उद्देश्यले यो हस्पिटलको निर्माण गरेको हो। यस क्षेत्रकै सर्वश्रेष्ठ उपचार केन्द्र बनाउऩे लक्ष्य राखेर हामीले यसलाई निर्माण गरेका हौं। स्वास्थ्य पर्यटनलाई पनि हामीले ध्यानमा राखेका थियौं। यसरी बनिबनाउ र सजिसजाउ हस्पिटललाई चलाउने काम मात्रै यो सरकारले गरिरहेको छ। यदि यस कुरोमा पत्यार नलागे कसैले पनि आरटीआई गरेर एसकेएम सरकारले थपेको र बनाएको मेसिन, उपकरण वा फर्निचरबारे जानकारी लिनसक्नेछन्।

अत्याधुनिक मेसिन, विश्वस्तरीय पलङ्ग वा फर्निचर, उच्च सुविधासम्पन्नता सबै हाम्रै सरकारले उपलब्ध गराएको हो। तर आज यो सरकारले हस्पिटलको रख-रखाव गर्न र कर्मचारीहरूको तलबभत्ता समेत समयमा भुक्तान गर्न धरी सकेको छैन। कहाँसम्म भने एसटीएनएम हस्पिटलमा जड़ान गरिएको सीटी स्क्यान मेसिन कम्पनीले बन्द गरिदिएकोले स्वास्थ्य मन्त्री आफ्नै उपचारको लागि पनि मणिपाल पुग्नुपऱ्यो! यो घटना मुख्यमन्त्रीको राजनीतिक सचिवले मणिपालले हस्पिटल चलाउनसक्दैन भने आफूहरूले चलाउने चुनौती दिएपछि घटेको हो।

एसकेएम सरकारले अस्पतालको सर-सफाईको लागि मात्र एउटा निजी समूहलाई वार्षिक एक करोड़भन्दा अधिक खर्चमा ठेक्का दिइएको छ। उनीहरूको विफलताको प्रमाण हो यो। अन्यथा सरकारले कमसेकम एकसय जना सिक्किमेहरूको निम्ति नोकरी सिर्जना गर्नसक्नेथियो।

अर्को, 2017-18 -देखि राज्यले आफ्नै मेडिकल कलेज सञ्चालन गर्ने अनुमोदन प्राप्त गऱ्यो। हामीले प्रतिवर्ष 50 वटा मेडिकल सीटको अनुमोदन पाएका थियौं। यस कामलाई सम्पन्न गर्न केन्द्र सरकार र विशेषतः मेडिकल काउन्सिल अफ् इन्डियासित लामो, विस्तारित र जटिल प्रक्रिया पूरा गर्नुपऱ्यो। हामीले सोकेगाङमा मेडिकल कलेजको भवन बनाउने काम पनि थाल्यौं। प्रारम्भीक चरणमा हामीले पुरानो एसटीएनएम हस्पिटलमै मेडिकल कलेज सञ्चालन गर्ने निर्णय पनि गऱ्यौं।

तर एसकेएम सरकारले राज्यको आफ्नो मेडिकल कलेज निर्माण गर्ने काम रोकेर हामीले पाएको 50 सीट पनि मणिपाल कलेजमा जिम्मा लगायो। यसको लागि सिक्किम सरकारले आज प्रति विद्यार्थी वार्षिक 5 लाख रुपियाँ बुझाउनुपर्दैछ। मुख्यमन्त्री पी.एस. गोले र एसकेएम-का नेताहरूले त्यो 50 सीट उनीहरूले सिक्किमे विद्यार्थीहरूलाई दिएको भनेर खुलेआम ढाँट्दैछन्। यो मेडिकल सीटको निम्ति एसडीएफ सरकारले वर्षौंसम्म कड़ा मेहनत गर्नुपरेको छ। यो कसैको उपहार होइन। त्यो हाम्रो लामो संघर्षले पाएको सिक्किमेको हक हो। अर्काले ठीक्क पारेको सीट बाँड़्ने काम मात्र एसकेएम सरकारले गरेको हो। यदि सरकारले आफ्नो मेडिकल कलेज खोलेर सफलतापूर्वक सञ्चालन गरेको भए निकट भविष्यमा सिक्किमेहरूले पाएको त्यो सीट बढ़ेर 100 बन्नेथियो। राज्यले स्थानीय मानिसहरूलाई नोकरी पनि दिनसक्नेथियो। हाम्रै मेडिकल र अकादमिक जनशक्ति पनि बढ़्नेथियो।

नाम्चीमा 300 बेड भएको हस्पिटल पनि 2018-मा एसडीएफ सरकारले नै अनुमोदन गरिसकेको परियोजना हो। यो अनुमानित 375 करोड़ रुपियाँको लागतमा निर्माण गरिनुथियो। एसकेएम सरकार बनेपछि त्यही परियोजनाको लागत खर्च बढ़ाएर 585 करोड़ रुपियाँ बनायो र हस्पिटल भेटनेरी प्ले ग्राउण्डमा बनाउने निर्णय गऱ्यो।

विगत तीन वर्षदेखि एसकेएम सरकारले कुनै नयाँ कुरो गरेको छैन। सरकारको रुटिन कामबाहेक यसले केही गरेको छैन। तर उनीहरूको सोच र कार्यक्षमता यति निम्न दर्जाको छ कि सामान्य रुटिन कामलाई पनि उनीहरू आफ्नो विशाल उपलब्धि ठान्छन्। एसकेएम सरकारले केन्द्रीय कार्यक्रमबाहेक स्वास्थ्य क्षेत्रमा आफ्नो कुनै एउटा कार्यक्रम ल्याएको छ भने त्यसको जानकारी माग्न म सिक्किमे जनगण र बुद्धिजीवीहरूसमक्ष अपील गर्नचाहन्छु।

मुख्यमन्त्रीले स्वास्थ्यसम्बन्धी मूलभूत निर्णयहरूको अधिकारसमेत आफ्नै परिवारका सदस्यहरूलाई दिएर, एक अर्थमा, विभागमाथि बलात् हस्तक्षेप गरेका छन्। स्वास्थ्य विभागका सप्लाइको काम उनकै परिवारलाई दिइएको छ। पीएस गोले र उनको परिवारले जनताको स्वास्थ्य-उपचारको निम्ति आफ्नै पुस्तैनी धन खर्च गरेझैं प्रचार गर्दैछन्। उनीहरूले जनताको पैसा मनपरी बाँड़ेर जनतालाई बेवकुफ बनाउँदैछन्। तर राम्रो स्वास्थ्य केले सम्भव हुन्छ र राम्रो स्वास्थ्य प्रणालीले कसरी काम गर्छ भन्ने दर्शन भने उनीहरूले नै बुझेका छैनन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *