सोरेङको घटना- एसकेएमको सुनियोजित षड्यन्त्र हो, सुनियोजित आक्रमण हो- एसआर सुब्बा

सोरेङको घटना- एसकेएमको सुनियोजित षड्यन्त्र हो, सुनियोजित आक्रमण हो- एसआर सुब्बा

Spread the love

गान्तोक, 02 मई। पश्चिम सिक्किमको सोरेङ जिल्लामा 30 अप्रेलको दिन घटेको घटना एसकेएम पार्टीद्वारा गरिएको सुनियोजित आक्रमण रहेको एसडीएफ पार्टीले आरोप लगाएको छ। इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका साङ्गठनिक महासचिव एसआर सुब्बाले उक्त आरोप लगाएका हुन्। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा आफू त्यस घटनाको प्रत्यक्षदर्शी रहेको पनि दाबी गर्दै उक्त दिनको घटना पुलिसको नाक मुनी नै भएको बताए। घटनामा पुलिस तथा प्रशासनले सत्ता पक्षलाई आड़ दिएको र घटनामा पीड़ित बनेको एसडीएफ पार्टी र एसडीएफका कार्यकर्ताहरूलाई पुलिसले न्याय दिनुको साटो उल्टो अपराधी बनाउने प्रयास गरिरहेको एसआर सुब्बाले बताए।

उनले जानकारी दिए अनुसार त्यस दिन सुब्बाको निजी निवासमा एसडीएफ पार्टीको क्षेत्र स्तरीय सभा र पार्टी अफिस उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। यसका निम्ति पुलिसले 25 अप्रेलकै दिन अनुमति पनि जारी गरेको थियो। तथापी एसडीएफले कार्यक्रम गर्ने थाहा पाएपछि एसकेएमले पनि तीन दिने कार्यक्रम आयोजन गर्ने भएको र पुलिसले पनि एसडीएफको कार्यक्रम छ भऩ्ने जान्दा जान्दै पनि त्यही स्थलमा कार्यक्रम आयोजन गर्न एसकेएमलाई अनुमति दिएकोले घटना हुनुको पूर्ण जिम्मेवार पुलिस र प्रशासन रहेको उनले दाबी गरे।

अर्कोतिर दुई दिन अघि सोरेङमा पत्रकार  सम्मेलन आयोजन गरेर डीआईजी रेञ्ज बीके तामाङले दिएको बयानको उनले निन्दा खण्डन गरे। डीआईजी रेञ्जले सत्ता पक्षलाई बचाउने आधारको बयान दिएको र उनको बयानमा रत्तिभर सत्यता नरहेको सुब्बाले बताए। उनले सामाजिक सञ्जाल र पुलिसको माध्यमबाट एसडीएफलाई 30 अप्रेलको घटनाको आरोपी बनाउने प्रयास भइरहेको दाबी गरे। घटना पछि एफआईआर गर्न समेत एसडीएफलाई कठिन परेको अनि घाइते बनेका अरुण लिम्बूलाई उपचार गराउनको साटो पुलिस प्रशासनले आफ्नो कब्जामा राखेको बताउँदै यसमा न्यायपालिकाले हस्तक्षेप गरेर पीड़ित एसडीएफ पार्टी र कार्यकर्ताहरूलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्।

उनले यो घटना एसडीएफ र एसकेएम बीचको झड़प नभएर एसकेएम पार्टीले एसडीएफमाथि गरिएको सुनियोजित आक्रमण हो। उनले यस घटनापछि एसडीएफ पार्टीका कार्यकर्ताद्वय रिक्जिङ नर्बु भोटिया र अभिनास याखा निखोज रहेको जानकारी दिँदै यी दुई निखोज रहनुको जवाफदेही पनि पुलिस प्रशासन नै हुनुपर्छ भन्ने बताए। उनले यस घटनाले गर्दा पार्टी कार्यकर्ता चिन्तित नहुनुपर्ने र अझ पार्टीको कार्यक्रमलाई अघि बढ़ाउनुपर्छ भन्दै पार्टी समर्थकहरूलाई प्रोत्साहित गराए।

सम्मेलनमा पार्टीका प्रवक्ता जेबी दर्नालले पनि एसकेएम सरकारका कार्यकालमा भएका अप्रीय घटनाहरूमाथि प्रकाश पार्दै विभिन्न आरोप लगाए।

Leave a Reply

Your email address will not be published.