एसकेएम सरकार स्थापना दिवसको अघिल्लो दिन एसडीएफ पार्टीले जारी गर्यो प्रेस विज्ञप्ति

Spread the love

सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम)-ले विधानसभा चुनाउको समयमा सिक्किमेली जनतालाई जेजस्ता वाचा गरेका थिए, ती वाचाहरू आज सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि पुरा भएका छैनन्। यसले चुनाउका समय एसकेएम पार्टीले जनतासामू झूटा कसम खाएको सिद्ध हुन्छ। एसकेएम पार्टीको घोषणा पत्र पनि सिक्किमकै  राजनीतिक इतिहासमा झूटको पुस्तक प्रमाणित भएको छ।

सरकार बनाएपछि एसकेएम पार्टीले जनतासँग गरेका घोषणा र वाचाहरूका विपरीत काम गरिरहेको छ। सिक्किम र सिक्किमेली जनताका हक, अधिकार, सुरक्षा, अस्तित्व र अस्मितालाई ताकमा राखेर राज्यको प्राकृतिक, सांस्कृतिक, पारम्परिक, आर्थिक, सामाजिक संसाधनलाई ध्वस्त बनाउने अभियानमा सरकार जुटेको सबैलाई विधित छ।

एक राष्ट्र एक राशन कार्ड, नागरिकता संशोधन अधिनियम (सीएए), राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी), केन्द्रिय मोटर भेकल कानुनजस्ता सिक्किमको विशिष्ट चिन्हारीलाई ध्वस्त बनाउने केन्द्रीय कानुनहरू राज्यमा विस्तार गरेर सिक्किमका पुराना कानुनहरूलाई एकपछि अर्को गर्दै तरलीकरण गर्ने काम भएको छ।

एसकेएम पार्टीले विधानसभामा लिम्बू-तामाङको सिट आरक्षण, परमपावन कर्मापालाई सिक्किम ल्याउने, छुटेका समुदायलाई जनजाति बनाउने, बेरोजगार युवाहरूलाई भत्ता दिने, तीस हजारलाई नोकरी दिने, अस्थायी कर्मचारीलाई स्थायी गर्ने, आमाहरूलाई एकलाख रूपियाँको वार्षिक आर्थिक सहयोग दिने, किशानहरूलाई अदुवा-अलैँचीको दाम पाँच हजार र पचास हजार दिने, मजदुरहरूको वेतन बीस हजार गर्नेजस्ता अनेकौँ मुद्दामा सिक्किमेली जनतालाई धोका दिएको छ।

राज्य भित्र र राज्य बाहिराका सिक्किमले परम्परादेखि अर्जेका जगा-जमीन बाहिराका पुञ्जीपतिहरूलाई बेच्ने काम भइरहेको छ। यस्ता पुञ्जीपतिहरूलाई सिक्किमका पूर्वाधारहरू जस्तै अस्पताल, ट्यक्सी स्टेण्टहरू पब्लिक प्राइभेट पार्टनरसीप-को नाममा धमाधम विक्री गरिँदैछ। एसकेएम सरकारले राज्यका वन-जंगललाई विनाश गरेको जनताले देखि रहेका छन्। खोलानालामा गिटी-बलुवासमेत तस्करी गरिँदैछ।

राज्यमा भ्रष्टाचारलाई एसकेएम सरकारले संस्थागत गर्दै गएको छ, जसको ज्वलन्त उदाहरण एमसीएक्स घोटाला, कर चोरी आदि हुन्। एसकेएम सरकारले राज्यको शान्ति श्रृङ्खलालाई खलल पुऱ्याउँदै सर्वसाधारण जनतामा भय र त्रासको वातावरण सिर्जना गर्दै तीनवर्षदेखि सत्ता हाँकिरहेको छ। जनतामाथि ढुङ्गा-मूढा गर्नु, गाली गर्नु, विपक्षी दल र नेतालाई तगारो हाल्नु, प्राणघातक आक्रमण गर्नु एसकेएम सरकारका प्रमुख उलब्धीहरू हुन्। राज्यमा हत्या, हिंसा, बलात्कार, चोरी-डकैती, ड्रग्सखोरी आदि अनेकौँ आपराधिक क्रियाकलापलाई सरकारले प्रोत्साहन गरेर संस्थागत अपराधलाई मलजल गरिरहेको छ। यो एसकेएम सरकारको तीन वर्षको प्रमुख उपलब्धी हो।

अतः एसकेएम पार्टीको सरकार स्थापना दिवस 27 मईलाई सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) धोका दिवस घोषणा गर्दछ।  राज्यमा एसकेएम पार्टीको धोका अनि जनविरोधी क्रियाकलापबारे जनतालाई सचेत गर्न राज्यव्यापी रूपमा धोका दिवस पालन गरिनेछ।

कृष्ण खरेल

उपाध्यक्ष, प्रचार-प्रसार मामिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *