जीटीए चुनाउअघि स्थायी राजनैतिक समाधानको मागमा रिले भोक हडताल शुरु
दार्जीलिङ, 16 मई। गोर्खा जनमुक्ति युवा मोर्चाले दार्जीलिङको सिंहमारीस्थित गोजमुमोको केन्द्रिय कार्यालयमा रिले भोक हडताल शुरु गरेको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङले 16 मईदेखि दार्जीलिङको चौरस्तामा भोक हडताल बस्ने बताएका थिए। आजदेखि युवा मोर्चाले आफ्नै पार्टी कार्यालयमा भोक हडताल शुरु गरेको छ। उक्त रिले भोक हडतालमा पहिलो दिन युवा मोर्चाका 5 जना सदस्य बसेका छन्।
युवा मोर्चाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए चुनाउ रोक्नु पर्ने अपील गर्दै तथा जीटीए चुनाउअघि गोर्खाहरूको स्थायी राजनैतिक समाधानको लागि डायलग ओपन गर्नुपर्ने माग लिएर रिले भोक हडताल शुरु गरेका छन्। युवा मोर्चाले डुवर्सका 396 मौजाहरू पनि गाँभ्नु पर्ने माग गरिरहेको जानकारी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय महासचिव रोशन गिरीले दिएका छन् ।