प्रेस विज्ञप्ति
नेपाल र सिक्किमको प्रेस तथा मिडिया सम्बन्धको गतिशील विकासका लागि द्विपक्षीय सहयोगलाई बढावा दिन प्रेस क्लब अफ सिक्किम र लुम्बिनी प्रेस क्लब माझ एउटा समझौता ज्ञापनमा हस्ताक्षर भएको छ। प्रेस क्लब अफ सिक्किमको प्रतिनिधि टोलीले लुम्बिनी भ्रमण गरेको अवसरमा 16 मईका दिन यो सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। दुई देश बिचको कानून र नियमभित्र रहेर द्विपक्षीय मिडिया सम्बन्धलाई थप विस्तार गर्न, विकास र प्रवर्द्धन गर्ने उद्देश्य साथै दुवै देशका मिडिया सम्बन्ध र पत्रकार सदस्यहरूमाझ राम्रो समन्वय र सहयोगको भावनालाई बढ़ावा दिनुपर्ने आवश्यकतालाई महसुस गर्दै दुई प्रेस क्लबले सहकार्य गर्ने भएका हुन्।
सम्झौता हस्ताक्षर अवधि प्रेस क्लब अफ सिक्किमका महासचिव डिल्लीराम दुलाल, कोशाध्यक्ष अम्बर गुरुङ, प्रचार सचिव होमनाथ दवाडी, साहित्य सचिव प्रकास अघिकारी, खेल सचिव विनोद तामाङ, जर्नालिस्ट युनियन अफ सिक्किमका महासचिव सुजल प्रधान, प्रचार सचिव दिछेन अङ्मु भोटिया सहित 16 सदस्यीय प्रतिनिधि टोली र लुम्बिनी प्रेस क्लबका अध्यक नरेश केसी, महासचिव कमल रायमाझी लुम्बिनी प्रेस क्लबका अन्य सदस्यहरू र नेपाल पत्रकार महासङ्घका प्रतिनिधी साथै लुम्बिनी विकास कोशका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेतेय) को पनि उपस्थिति रहेको थियो।
यसै क्रममा 17 मईको दिन प्रेस क्लब अफ् सिक्किमको टोलीले नेपाल पत्रकार महासंघ चितवन शाखाको भ्रमण गर्यो। यस अवधि सिक्किमको टोलीलाई पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारी र अन्य सदस्यहरूको उपस्थितिमा एउटा परिचयात्मक कार्यक्रम आयोजन गरिएको थियो जसमा दुवै क्षेत्रको पत्रकारिता र यस सम्बन्धित विषयमा चर्चा परिचर्चा भयो। चितवनको कार्यक्रम अवधि भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले सिक्किमेली पत्रकार टोलीलाई स्वागत जनाउनसितै आफूले केही वर्ष अघि सिक्किम भ्रमण गरेको अनुभव साझा गरे। नेपाल पत्रकार महासंघकी सदस्य सृजना अर्यालको नेतृत्वमा सिक्किमबाट गएका पत्रकारहरू नरायणी नदीमा आयोजन गरिने साँझको आरतीमा पनि सहभागी बने।
उल्लेखनीय छ, लुम्बिनी प्रेस क्लबको निमन्त्रणामा प्रेस क्लब अफ् सिक्किमको 16 सदस्यहरूको एउटा टोलीले 15 देखि 17 मईसम्म लुम्बिनी, भैरवा र चितवनको भ्रमण गऱ्यो। यस क्रममा सिक्किमको टोलीले भगवान बुद्धको जन्म भएको स्थान माया देवी मन्दिर लगायत लुम्बिना विभिन्न देशद्वारा निर्माण गरिएका मन्दिर तथा साँस्कृतिक केन्द्र र बुद्धग्रामको भ्रमण गऱ्यो।
बुद्धग्राम लुम्बिनीको एकमात्र रोबोटिक रंगमञ्च हो जसमा बुद्धको जन्मदेखि लिएर महापरिनिर्वाण सम्म जीवनका विभिन्न घटना र उपदेशलाई आठ चरण गरेर रङ्गमञ्च शैलीमा कथानकको रूपमा प्रस्तुत गरिन्छ। लुम्बिनी तथा चितवन भ्रमण गर्दा सिक्किमका पत्रकार टोलीलाई, होटल व्यवसायी रविन्द्र शर्मा घिमिरे, सिद्धार्थ होटल एसोसिएशन नेपालका अध्यक्ष सीपी श्रेष्ठ लगायत व्यवसायिक संघका अन्य प्रतिनिधि र पर्यटन हितधारकहरूले पनि भेट गरेका थिए।
होमनाथ दवाड़ी
प्रचार सचिव, प्रेस क्लब अफ् सिक्किम