गान्तोक, 18 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आज पश्चिम सिक्किमको भ्रमण गरे। उनले भ्रमणको पहिलो चरणमा आफ्नो परिवार तथा पार्टीका सहयोद्धाहरूसहित रोलु मन्दिरमा पूजा अर्चना गरेर सिक्किम र सिक्किमेली जनताको रक्षा र कल्याणका निम्ति प्रार्थना गरे।
त्यसपछि, चामलिङ साहित्यकार एवम् लिम्बू भाषा साहित्यका युगपुरुष स्वर्गीय बीबी मुरिलिङ्लाको निवासस्थानमा पुगी शोकाकुल परिवारलाई भेट गर्दै समवेदना प्रकट गरे। पश्चिम सिक्किमको भ्रमणका क्रममा एसडीएफ अध्यक्षले याङ्थाङ समष्टिअन्तर्गत सल्ले वार्डस्थित एसडीएफ पार्टी कार्यालयको नीरिक्षण गरे। यसक्रममा उनले स्थानीय जनतासित अन्तरक्रिया गर्दै एसडीएफ सरकारकालमा गरिएका जनमुखी कार्यक्रम र उपलब्धिहरूको स्मरण गराए।
उनले राज्यमा अहिले सबै जनताले आफ्नो स्वतन्त्रताको अधिकार गुमाएको र सिक्किममा सिक्किमेलीहरूको राज कायम गराउन एसडीएफ पार्टीलाई सरकारमा फेरि पनि ल्याउनु पर्ने विषयमाथि जोड दिए। एसडीएफ सरकार पुनः गठन गरेपछि गाउँको कामलाई पहिलो प्राथमिकताका आधारमा गर्ने भावी कार्यक्रमलाई उनले आवगत गराए। वर्तमान सरकारको जनविरोधी कार्यशैलीले सिक्किमेली जनताले आपदकालीन र सङ्कटग्रस्त अवस्था झल्न परिरहेको बताउँदै आपद-विपददेखि जनतालाई बचाउन आफु राजनीतिमा रहेको उनले बताए।
ठूलो संख्यामा उपस्थित बनेका स्थानीय जनताले एसडीएफ अध्यक्षसित आफुहरूले झेली रहेको समस्याहरू राखेको जानकारी एसडीएफ प्रचार प्रसार महासचिव विष्णु दुलालले प्रेस विज्ञप्तिमा दिएका छन्। एसडीएफ अध्यक्षले स्थानीय जनताका गुमासो र मागलाई गम्भीरतापूर्वक लिएको अनि एसडीएफ सरकार आएपछि सबै पूर्णरूपले पूरा गरिदिने वचन दिएको बताइएको छ।