प्रश्नोत्तरमा पवन चामलिंग- जति नै ढुङ्गामूढ़ा बर्साए पनि हाम्रो सिक्किम बचाऊ अभियान रोकिनेवाला छैन- चामलिंग

Spread the love

“ प्रश्न – एसडीएफ पार्टीले सिक्किम बचाऊ अभियानलाई हेल्मेट ऱ्यालीको रूपमा
पालन गऱ्यो। तपाईंका विरोधीहरू यसलाई नाटकवाजी भनिरहेका छन्। तपाईं
के भन्नुहुन्छ?

 

उत्तर – एसकेएम पार्टीको खुल्ला गुण्डागर्दी र राजनैतिक आतङ्कको माहोलमा
अरू के गर्नसकिन्छ र?  जब राज्यका मुख्यमन्त्रीले नै घर-घरै पसेर
विपक्षीहरूलाई शेष पार्छौं भन्ने भाषण दिन्छन् भने हामीले के गर्नसक्छौं त?
गोलेले मुख्यमन्त्रीको रूपमा नभई पार्टी अध्यक्षको रूपमा मात्र काम गर्ने घोषणा
गरिसकेका छन्। वास्तवमा आज राज्यमा घटिरहेका सबै आतङ्ककारी
घटनाहरूका अगुवा नै उनी हुन्! रक्षक नै भक्षक बनिएपछि समाजमा के हुन्छ?
जब सबै थाना र प्रशासन नै एसकेएम-को अध्यक्षको हातमा कैद भएपछि आम
जनताले न्याय माग्नका लागि कहाँ जानु?

पछिल्लो चार वर्षमा मात्रै हाम्रा 68जना साथीहरूमाथि प्राणघातक हमलाहरू भइसकेका छन्। राजनैतिक दग्दी र भिक्टिमाइजेसनका कामहरू चलिरहेका छन्। एसडीएफ समर्थकहरूका गाड़ी रघरहरू फुटाइएका छन्। गान्तोक, जोरथाङ र नाम्चीका हाम्रा पार्टी कार्यालयहरू तोडफोड़ गरिइएका छन्। घात गरेर हाम्रा मानिसहरूमाथि आक्रमणहरू भइरहेका छन्। कुनै सामाजिक वा राजनैतिक कार्यक्रम गर्नु अघि पनि ढुङ्गामूढ़ा र भौतिक आक्रमणको सम्भावनालाई सामना गर्नुपर्ने भएको छ।

पुलिस थानाहरूमा पनि एफआईआर लिन मान्दैनन्। सिसीटिभी वा मोबाइल
रेकर्डिङका भिडियोहरू उपलब्ध गराउँदा पनि अपराधीहरूलाई पक्राउ गरिंदैन।
सिक्किम पुलिस केवल प्रेस कन्फरेन्स गरेर बसिरहेको छ। आजसम्म एकैजना
अपराधीलाई पनि पक्राउ गरिएको छैन। पुलिसले अपराधीलाई पक्राउ गरेर
पिढीतलाई न्याय दिनुको साटो उल्टै पिढ़ीतहरूलाई नै पक्राउ गरिँदैछ।
यदि यस घटनालाई कसैले नाटकवाजी देख्छ भने उ अझै बेसी एसकेएम-को
गुण्डागर्दी हेर्न र हाम्रा मानिसहरू लहुलुहान भएको हेर्न उत्सुक हुनुपर्छ।
हामी अहिंसामा विश्वास गर्छौं र हामी हाम्रो रणनीतिमा कायम छौं। तर पनि
सहनुको सीमा पार भइसकेको छ र एसकेएम-का ढुङ्गाधारी एवं रक्त
पिपाशुहरूलाई हामी सतर्क गराउनचाहन्छौं। हामी पनि जनताको पक्षमा आफ्नो
रक्षाको निम्ति तयार हुनुपरेको छ।

सिक्किममा ढुङ्गा हान्नेहरूको नेताले यो पनि जानून् कि हिंसाको बाटोबाट
सिक्किम नाश भएर जानेछ। फरक मत राख्नेहरूलाई दप्काउने, हप्काउने र
आतङ्कित गर्ने तरिका ढुङ्गे युगको तरिका हो। शान्ति, समृद्धि र बौद्धिक
विकासको प्रगतिशील तरिका मात्र आजको तरिका हो। हत्या, हिंसा र बदलाले

आफ्नै क्षति गर्छ। अरूको रगतले आर्जेको तत्कालिन लाभले दीर्घकालमा क्षति
दिँदछ। इतिहास साक्षी छ, यस्ता काण्डहरूले केवल पीढ़ी दर पीढ़ीलाई
लघारिरहन्छ। त्यसैले वर्तमान सिक्किम सरकारमा रहेकाहरूले भावी पीढ़ीको
हकमा तत्कालै हिंसाको बाटो परित्याग गरोस्।

आज भ्रममा परेका युवाहरूलाई पनि म हिंसाको बाटो छोड़्न अपील
गर्नचाहन्छु। तपाईंको जीवन बहुमूल्य छ। तपाईं राम्रा कामहरूका योग्य हुनुहुन्छ।
भगवानले तपाईंलाई तपाईंकै सङ्गीसाथीहरूलाई ढुङ्गा हान्न, आक्रमण गर्न र
हत्या-हिंसा गर्न सिर्जेका होइनन्। तपाईंका नेताले तपाईंको आत्मालाई केही
रुपियाँमा खरीद गरेर जघन्य हिंसा गर्न लगाइराखेका छन्। तपाईंका पनि आफ्ना
छोरा-छोरीहरू हुनेछन्। तपाईंले आज जसमाथि आक्रमण गरिरहनुभएको छ,
उनी पनि कसैका छोराछोरी हुन् भन्ने सोच्नुहोस्। उनीहरू पनि सिक्किमका भावी
सन्ततिहरू  हुन्। उनीहरूसित पनि जीवनको अधिकार छ, र उनीहरू पनि
मान्छेकै जीवन जिउन चाहन्छन्।

उनीहरूको पनि आफ्ना चाहनाहरू छन्, सपनाहरू छन्, विश्वासहरू छन्। आफ्नो नेतालाई प्रसन्न पार्नकै निम्ति उनीहरूमाथि आक्रमण नगर्नुहोस्। तपाईंले आज आफ्नै छिमेकीलाई ढुङ्गा हान्नुहुँदैछ। आफ्नै मान्छेमाथि आक्रमण गर्दैहुनुहुन्छ। तपाईंको आफ्नै छिमेकीको रगतले हात रङ्गेको छ भने तपाईंको नेता तपाईंको साथी हुनसक्छ कि दुश्मन? चिन्नुहोस्। अपराधबाट मुक्त शान्ति, मर्यादा र प्रेमको जीवन बाँच्नुहोस्।

आज एसकेएम युथ भन्नासाथ मानिसहरूको आँखाअघि डरलाग्दो मुखुण्डो
ओढेको, अन्धकारमा लुकिरहेको, पिढ़ीतहरूमाथि ढुङ्गा हानिरहेको र जथाभावी
बोल्दै मान्छे लुटिरहेको तस्बीर अघि आउने भएको छ। आज सिक्किमका
युवाहरूले आफ्नो यो छवि बदल्नुपर्ने समय आएको छ। युवा भनेको सकारात्मक
कुराहरूको ऊर्जाघर हो। हामीलाई त्यस्तै युवाहरू चाहिएको छ। त्यसैले
सिक्किमका युवाहरू यस्ता शैतानी हर्कतहरूबाट टाड़ा रहनेछन् भन्ने विश्वास मैले
लिएको छु।
हामीमाथि जति नै ढुङ्गामूढ़ा बर्साए पनि हाम्रो सिक्किम बचाऊ अभियान
रोकिनेवाला छैन भन्ने साङ्केतिक सन्देश पनि हाम्रो हेल्मेट ऱ्याल्लीले दिएको हो।
हामी अगि बढ़िरहन्छौं। हामी जनतालाई भेटिरहन्छौं। हामी सिक्किमको निम्ति
लड़िरहन्छौं। हामीलाई आफ्नो जीवनभन्दा सिक्किमे जनताको जीवनको माया छ।
हरेक सिक्किमेको रक्षाको निम्ति हजार मृत्यु मर्न पवन चामलिङ तयार छ।
अन्तमा, नागरिक समाजलाई म यो अपील गर्न चाहन्छु कि एसकेएमको
गुण्डागर्दी र आक्रमणलाई एसकेएम-एसडीएफ बीचको भिड़न्त भनेर मान्न

छोड़िदिनुस्। यी खुनी वारदातहरू एसकेएम-ले एसडीएफमाथि गरिरहेको
नियोजित आक्रमणहरू हुन्। यी हमलाहरू एकलौटी र एकपक्षीय छन्। यस्ता
घटनाहरूलाई सामाजिक तहबाटै हामीले विरोध गर्नुपर्छ। सिक्किम र
सिक्किमेमाथि भइरहेका यस्ता जघन्य अपराधहरूप्रति कसैले पनि मौन भएर
रहनु ठीक ठहर्न सक्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *