प्रश्नोत्तरमा पवन चामलिङः भने, हामीले राजतन्त्र गुमाए पनि आफ्नो भूमि, उत्तराधिकार, पहिचान र गौरवलाई गुमाएका छैनौं। हामी शरणार्थी होइनौं

प्रश्नोत्तरमा पवन चामलिङः भने, हामीले राजतन्त्र गुमाए पनि आफ्नो भूमि, उत्तराधिकार, पहिचान र गौरवलाई गुमाएका छैनौं। हामी शरणार्थी होइनौं

Spread the love

“प्रश्न – पहिलोपटक सिक्किमको राज्य दिवस यसचोटि नयाँ दिल्लीमा मनाइयो। यसले सिक्किमभित्रै राज्य दिवस पालन गर्ने पुरानो परम्परालाई तोड़ेर नयाँ चलन शुरू गरिएको भनेर मान्नसकिन्छ?

उत्तर – मेरो विचारमा, यो पुरानो परम्परालाई तोड़ेभन्दा पनि ज्यादा नराम्रो कुरा हो। यसले सिक्किमको गौरवलाई एक-एक गर्दै शेष गर्ने वर्त्तमान नेतृत्वको लाइनलाई नै अघि बढ़ाएको छ। यस सम्बन्धमा चिन्तन गर्न सिक्किमेली जनता अनि एसकेएम सरकारअघि म तीनवटा महत्वपूर्ण कुराहरू राख्नचाहन्छु।

पहिलो, सिक्किम संविधानको धारा 371एफ अन्तर्गत विशेष प्रावधानद्वारा बनिएको राज्य हो। हामी अलग प्रक्रियाले देशको अङ्ग बनेका हौं, हाम्रो अलग इतिहास छ, अनि हाम्रो अलग पहिचान र स्थान छ। संविधानले नै हाम्रो पहिचान र अलग अवस्थानलाई पूर्ण सुरक्षा दिएको छ, सिक्किमका पुराना कानून र विशेष दर्जालाई संविधानले नै सुरक्षा गरेको छ। संविधानले दिएका यी सुरक्षाका प्रावधानहरूलाई संरक्षण, संवर्द्धन गर्ने दायित्व सिक्किम सरकार र सिक्किमेली जनताको हो। हामीले यस कुरालाई कदापि भुल्नु हुँदैन, हामीले राजतन्त्र गुमाए पनि आफ्नो भूमि, उत्तराधिकार, पहिचान र गौरवलाई गुमाएका छैनौं। हामी शरणार्थी होइनौं।

एक अलग इतिहास र विशेष पहिचानसहितको एक गर्वित राज्यको रूपमा हामीले आफ्नो राज्य दिवस सिक्किमभित्रै पालन गर्नुपर्छ, आफ्नै पुर्खाहरूको माटोमा पालन गर्नुपर्छ। हामीले सगर्व राष्ट्रिय नेताहरूलाई सिक्किममा आमन्त्रण गर्नसक्नुपर्छ। हामीले आफ्नो राज्य दिवसको अवसरमा दिल्लीबाट नेताहरू बोलाउनसक्छौं, तर आफ्नो राज्यको कार्यक्रम लिएर दिल्ली जानु ठीक होइन। यस्ता अवसरहरूमा देशलाई नै सिक्किममा ल्याउनुपर्छ। त्यसरी मात्र हामी आफ्नो राज्यलाई सम्मान गर्नसक्छौं, र आफ्नो गौरवलाई प्रदर्शन गर्नसक्छौं। के हाम्रो राज्य अपरिचित वा अल्प महत्वको राज्य हो र हामीले आफ्नो राज्य दिवस दिल्लीमा मनाउनु? हाम्रो आफ्नो राज्य नै नभएजस्तो किन राज्यबाहिर राज्य दिवस मनाउनु? यस्तो मानसिकता बदल्नुपर्छ, तुरन्तै बदल्नुपर्छ। सिक्किमको परिचय आज विश्वमै छ। उनीहरू सिक्किममै आउँछन्, र सिक्किममै हामीसँग सामेल हुनसक्छन्।

दोस्रो, संघीय प्रणालीमा राज्य र केन्द्रबीच स्पष्ट रूपमा विभाजित क्षेत्राधिकारहरू छन्। राज्य दिवस राज्यको उत्सव हो। कुनै पनि राज्य आफ्नो राज्यको कार्यक्रम गर्न दिल्ली जाँदैनन्। त्यो हास्यास्पद कुरो हो, र कुनै पनि राज्यलाई त्यसो गर्न सुहाउँदैन।

तेस्रो, यस्ता किसिमका कदमहरूले हामीले शुरू गरेको राष्ट्राग्रही एकीकरण(Reverse Integration) -को प्रक्रियालाई घात गर्नेछ। यहाँ यो कुरो पनि याद गर्नु मुनासिब हुनेछ कि एसडीएफ सरकार कालमा देश र विश्व हाम्रो खुशीयालीमा सम्मिलित हुन सिक्किम आउनथालेका थिए। हामीले अनेकौं उत्तरपूर्वीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू सिक्किममै आयोजना गऱ्यौं, जहाँ राष्ट्रपति, प्रधानमन्त्री, पूर्वोत्तर क्षेत्रका सबै मुख्यमन्त्रीगण अनि विश्वभरिकै प्रख्यात व्यक्तित्वहरूले हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थिति दिएका थिए। 2016-मा सिक्किमले ‘टिकाउ कृषि अनि किसान कल्याण’-सम्बन्धी राष्ट्रिय सम्मेलन गान्तोकमा आयोजना गऱ्यो, जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य केन्द्रीय मन्त्रीगण तथा विभिन्न राज्यका प्रतिनिधिहरू उपस्थित थिए।

2004 -मा हामीले आयोजना गरेको ‘सिक्किम सम्मान सम्मिलन’-मा देशभरिका 100 भन्दा बढ़ी साहित्यकार, कलाकार, नेता, सङ्गीतकार, वैज्ञानिक, खेलाड़ी, व्यवसायीहरू उपस्थित थिए। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको ‘नेपाली फिल्म अवार्ड, 2016’ -मा 65 देशका 200 भन्दा बढ़ी प्रतिनिधिहरू गान्तोक आएका थिए। यी बाहेक, अन्तर्राष्ट्रिय फ्लावर फेस्टिवल, पूर्वोत्तर क्षेत्रस्तरीय सम्मेलनहरू र अन्य अनेकन् आयोजनाहरू राष्ट्राग्रही एकीकरणका उदाहरणहरू हुन्, जसले सिक्किमलाई देशको केन्द्रमा स्थापना गर्दै लगिरहेका थिए। यो प्रक्रियालाई अझ तेज बनाउनुपर्ने, तर अहिले त राज्य दिवस पनि दिल्लीमा मनाउनथालियो!

तर सिक्किमको यस्तो मुख्यमन्त्रीबाट आशै के गर्नु, जसको शपथ ग्रहण नै दिल्लीमा भएको थियो! मिन्तोकगाङ नै दिल्ली सारियो भने पनि आश्चर्य मान्नुपर्दैन। यो दिल्लगी होइन। राज्य दिवस दिल्लीमा पालन गर्नु भनेको मुख्यमन्त्री पी.एस. गोलेले नेत्तृत्व गरेको सरकारले सिक्किमको श्रीसम्पत्ति, गौरव, अधिकार र उत्तराधिकारलाई बेच्दै गइरहेको सङ्केत हो। चाँड़ै नै सिक्किमे जनताले आफ्नो मुख्यमन्त्रीलाई भेट्न सिलगढ़ी, दिल्ली वा अन्यत्रै जानुपर्नेछ। सिक्किमको गौरव र आत्मसम्मान इतिहासको विषय बन्नेछ। हुनसक्छ, सिक्किमेहरू आफ्नो पहिचान खोज्न दिल्ली(जन्तर-मन्तर) जानुपरोस्!! उनको स्वप्नविहीन, युक्तिविहीन सिक्किमविरोधी निर्णयहरू यसरी नै जारी रहे, सिक्किम नै इतिहासको किताबमा मात्र पाइनेछ।

मुख्यमन्त्रीका यी निर्णयहरूमा उनका कतिपय समर्थकहरूले कुनै गल्ती देख्दैनन्। आफूले पाइरहेको सोझो फायदाहरूले उनीहरूलाई अन्धा जो बनाइदिएको छ! जब सिक्किमले आफ्ना सबै अधिकारहरू गुमाइ पठाउनेछ, त्यतिखेर तात्कालिक भौतिक फायदाको कुनै अर्थ रहनेछैन। यी गम्भीर महत्वका कुराहरू हुन्। आफ्ना भावी सन्ततिका लागि सिक्किमलाई सुरक्षित बनाउन सबै सिक्किमेहरू एकजुट हुने समय आएको छ। याद राखौं, आज प्रत्यक्ष र परोक्ष दुवै रूपमा सिक्किमेहरूले सिक्किममाथि आफ्नो पकड़ दिनदिनै गुमाउँदै गइरहेका छन्।”

 

Leave a Reply

Your email address will not be published.