सिक्किममा गरीबी रेखादेखि मुनीका मानिसहरूको दर तीन देखि बढ़ेर 30 प्रतिशत भएको छ- पवन चामलिङ

सिक्किममा गरीबी रेखादेखि मुनीका मानिसहरूको दर तीन देखि बढ़ेर 30 प्रतिशत भएको छ- पवन चामलिङ

Spread the love

सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किममा केवल सरकारमात्र भएको तर प्रशासन नभएको आरोप लगाउँदै एसकेएम पार्टीलाई आफ्ना चुनावी वादाहरू याद दिलाएका छन्। उनले एउटा प्रश्नको उत्तरमा उल्लेख गरेका छन्, विगत साढ़े तीन वर्षदेखि सिक्किमका जनताले एसकेएम सरकार र मुख्यमन्त्रीको मुखबाट केवल फोस्रो आश्वासन मात्र पाइरहेका छन्। मिन्तोगाङ नै यस्ता हल्लाहरूको केन्द्र भएको छ। मिन्तोगाङले विगत दिनको आफ्नो गौरव नै आज गुमाइसकेको छ। मिन्तोगाङलाई क्यान्सर हस्पिटल बनाउने गोलेको वाचालाई उनकै काम-कार्वाहीले हास्यास्पद बनाइसकेको छ। नेपालीमा भन्नु हो भने यसैलाई हावा मिठाई भनिन्छ।

 

आज केवल सरकार छ, तर प्रशासन छैन भनेर मैले के भन्न खोजेको हो भन्ने कुरा म बताउनचाहन्छु। आज सिक्किमे जनता दुःख-कष्टले रुवाबासी गरिरहँदा गोले र उनका मुट्ठीभर साथीहरू अट्टाहास गरेर हाँसिरहेका छन्। आज सिक्किमे जनताले आफ्ना सर्वस्व कुराहरू गुमाउनुपर्दा गोलेको टीमले भोका ब्याँसाले जस्तो सिक्किम निलिरहेको छ। मुख्यमन्त्री, मन्त्री, एमएलए र अनगन्ति चेयरमेन र एडभाइजरहरू छन्। त्यसमाथि पनि मुख्यमन्त्रीका सन्तानहरूले नाम्ची, सिङ्गिथाङ, लुम्से र मिन्तोगाङबाट आफू-आफै सरकार चलाइरहेका छन्। यिनीहरूकै लागि सिक्किम सरकारको कोष खालि गरिँदैछ। तर सिक्किमको निम्ति भने उपलब्धि शुन्य रहेको छ। यसरी सरकार चलाउने परिवारको घुइँचो छ, तर सुशासन र प्रशासन भने शुन्य छ। यो सरकारको काम-कार्वाहीलाई निम्न रूपमा हामी हेर्नसक्छौं –

 

फोटो- सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ

उनले भनेका छन्-

 

  1. 100 दिनभित्र 30,000 नोकरी सिर्जना गरेर नियुक्ति दिने वाचा गरेर आएको यो सरकारले एउटै पनि नोकरी दिएको छैन।
  2. 10 दिनभित्र लिम्बू-तामाङ सीट आरक्षण, 12 जातिलाई ट्राइबल मान्यता र पुराना रैथानेहरूलाई आयकरबाट माफी दिलाउने वाचा गरेको भए पनि आजसम्म केन्द्रबाट एउटै पनि राजनैतिक माग पूरा गर्नसकेको छैन।
  3. सयदिनभित्रमा सबै अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गर्ने वाचाबन्धन गरेर सत्तामा आएको यस सरकारले एक परिवार, एक रोजगार, एमआर, एडहक कसैको पनि नोकरी स्थायी गरेको छैन।
  4. बेरोजगारहरूलाई 10 हजार रुपियाँ प्रति महीना बेरोजगारी भत्ता दिने वचन दिएको एसकेएम-ले आजसम्म एकै जनालाई पनि एकै रुपियाँ बेरोजगारी भत्ता दिएको छैन।
  5. कतिवटा ट्याक्सी स्टाण्डहरू ड्राइभरहरूलाई चलाउन दिइयो? जबकि चलिरहेका स्टाण्डहरू पनि निजी कम्पनीहरूलाई बेचिसकेको छ।
  6. सबै जिल्लाहरूमा ड्राइभरका निम्ति रेस्टहाउसहरू बनाइदिन्छौं भन्ने यो सरकारले एउटै पनि रेस्ट हाउस बनाएको रेकर्ड छैन।
  7. अलैंची र अदुवाको भाउ बड़्नुको सट्टा घटेर गएको छ।
  8. प्रत्येक घर-आमाहरूको नाममा 5 लाख रुपियाँ भत्ता दिने उनीहरूको चुनाउ ताकाको वाचा अहिले बिर्सिसकेको छ।
  9. पर्यटन क्षेत्रमा कुनै नयाँ प्रोजेक्ट ल्याइएको छैन।
  10. लेबर कन्ट्र्याक्ट सिस्टम हटाइएको छैन।
  11. श्रमिकहरूको ज्याला प्रतिमहीना 20 हजार रुपियाँ बनाउने कुरो थाँतीमै छ। बरू एसकेएम-को नाटकबाजी चाहिं बढ़ेर गएको छ।
  12. लोकल प्रोटेक्सन एक्ट कहाँ छ? त्यसको उल्टा आज यो सरकारले थुप्रै केन्द्रीय कानूनहरू भित्र्याएर सिक्किमका पुराना कानूनहरूलाई मास्ने र धारा 371एफ-लाई कमजोर बनाउने कामहरू गरिरहेको छ।
  13. के आज भोटिया-लेप्चा समुदाय सुरक्षित छन् त? छैनन्। उनीहरूले त भर्खरै सम्पन्न पञ्चायत चुनाउमा आफ्नो आरक्षणको अधिकार समेत गुमाएका छन्।
  14. सबै सिक्किमेहरूलाई ट्राइबल बनाउने महाझूट एसकेएम-ले नै बोलेको हो।
  15. यिनीहरूले सिक्किममा सीबीआई ल्याए? सिक्किमबाट भ्रष्टाचार रोके? केही गरेका छैनन्। बरू उल्टै भ्रष्टाचारको मामलामा सिक्किमको नाम राष्ट्रिय समाचारहरूमा आइरहेका छन्। एक लाख करोड़ रुपियाँ बराबरको मल्टि कमोडिटी एक्सचेञ्ज घोटाला, कोविड फण्डको घोटाला र इकोनोमिक रिभाइबल फण्डको घोटालाहरू आज ठूलो चर्चामा छन्।
  16. सबै ग्राम पञ्चायतहरूमा फर्च्युनर गाड़ीको एम्बुलेन्स दिने वाचा कहाँ गयो?
  17. किसानहरूको लागि विशेष आर्थिक प्याकेजको घोषणा मात्र गऱ्यो, तर खोइ कहाँ दियो?
  18. सितम्बर, 2011 -को भूकम्पबाट पिड़ीतहरूलाई दुइ-दुइ तल्ले बिल्डिङ दिने वाचा कहाँ गयो?
  19. नारी ठेकेदारहरूलाई टीडीआर-बाट छुट दिने वचन के भयो? ऐले त नारी ठेकेदारहरूलाई टेन्डरमा भाग लिनु पनि नदिने काम गरिँदैछ।
  20. निजी क्षेत्रमा काम गर्ने सिक्किमेहरूलाई रिटायरमेन्ट बेनिफिट र अन्य सहुलियतहरू दिने कुरा के भयो?
  21. यो सरकारको मातहतमा कतिवटा आईआईटी, आईआईएफटी, एनआईएफटी, एनआईआईटी, एनआईडी, आईआईएमसी-जस्ता शैक्षिक संस्थानहरू खोलियो? शुन्य।
  22. सिक्किमका सड़कहरू कार्पेटिङ गर्ने र नयाँ सड़क बनाउने कामहरू भएका छन् त? सड़क सम्पर्कको दृष्टिले देशमै एक नम्बर रहेको सिक्किमको सड़कहरूको दुर्दशा विगत तीन वर्षमा सबैले देखेका छन्।

यस्ता कुराहरूको सूची धेरै लामो छ। यहाँ मैले केवल कतिपय कुराहरूलाई मात्र समेटेको छु। एसकेएम-को चुनाउ घोषणा पत्र हेरेर यो सरकारले साड़े तीनवर्षमा कति कामहरू पूरा गर्नसक्यो, त्यो जोसुकैले हेर्न र देख्न सक्नेछन्। आज उनीहरूको घोषणा-पत्र-लाई झुटको पर्यायको रूपमा शब्दकोशमा थप्दा पनि फरक नपर्ने भएको छ। मेरो रायमा यो मेनिफेस्टो महाझुटको दस्तावेज हो। यसरी झूटको सहारामा उनीहरूले मतदाताहरूलाई छल्न सफल बने, तर यी महाझूटहरूले जब सरकार बनाए, तब झूटमाथि झूट फैलाउने कामबाहेक अर्थोक केही गर्नसकेनन्।

सरकार जनताको निम्ति हुनुपर्ने हो, तर सिक्किममा आज गोलेका बिजिनेस पार्टनर, र उनकै सिक्किमबाहिरका स्वामीहरूको सरकार चलिरहेको छ। प्रशासन नामको कुनै चीज छैन। सरकारले जनताको निम्ति केही गरेको छैन। उनीहरू केवल कोविडलाई दोष लगाएर आफू चोखो हुन खोजिरहेका छन्। जनपक्षीय, सिक्किमपक्षीय वा राष्ट्रपक्षीय कुनै नीति छैन। यो सरकारमा सिक्किमेहरू झन् गरीब भएका छन्। 2019-मा गरीबी रेखामुनि केवल 3 प्रतिशत मानिसहरू थिए, आज यो संख्या 30 प्रतिशतभन्दा कम छैन।

याद राख्नुहोला, सिक्किमे जनताले साँचो प्रशासनलाई कायम गर्नेछन्। जनताले नै एसडीएफ-लाई पुनः सरकारमा स्थापित गर्नेछन्। हामी फेरि पनि सिक्किमलाई सुशासन दिनेछौं, हामीले जहाँ छोड़ेका थियौं, त्यहीँबाट असल कामहरूको शुरुवात गर्नेछौं।”

Leave a Reply

Your email address will not be published.