गान्तोक, 28 मई। बहुप्रतिक्षित राई जाति को सांस्कृतिक, भाषिक तथा धार्मिक धरोहर ‘पारुहाङ साप्तेन माङखिम’-को सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आधिकारिकरूपमा उद्धाटन गरे। राजधानी गान्तोक देखि 9 किलोमीटरको दूरी राङ्का स्थित यस माङ्खिमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री तामाङ मुख्य अतिथि थिए भने उनकी धर्मपत्नी श्रीमती कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष एलबी दास लगायत मन्त्रीगण, विधायक अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, पारुहाङ साप्तेन माङखिमका कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा छिमोकी राष्ट्र नेपाल लगायत राज्यका विभिन्न स्थानबाट आएका कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको शुरुआतमा मुख्यमन्त्री गोलेले पारुहाङ साप्तेन माङ्खिमको उद्घाटन गरेका थिए। यसपछि तीन चुल्हाको पूजा अनि अन्तर्राष्ट्रिय राई किरांत भाषिक अनि सांस्कृतिक अनुसन्धान केन्द्रको उद्घाटन गरे। कार्यक्रमको अवसरमा माङ्खिम निर्माणमा आफ्नो योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई अभिनन्दित गरिएको थियो। कार्यक्रमलाई पारुहाङ साप्तेन माङखिमका अध्यक्ष मोहन दुङ्माली, माङ्खिम उद्घाटन आयोजन समितिका मुख्य संरक्षक जेकब खालिङ लगायत अन्यले सम्बोधन गरेका थिए।

आफ्नो सम्बोधनमा राजनीतिक सचिव जेकब खालिङले माङ्खिम निर्माणको निम्ति सहयोग पुऱ्याउने व्यक्तिहरूलाई धन्यवाद दिए। उनले यो धरोहर केवल सिक्किमको मात्र नभएर विश्वका राई-किरातहरूको निम्ति समर्पित गरिएको जनाए। उनले राज्यमा समान दृष्टिकोण राख्ने सरकार भएको कारणमात्रै यो माङ्खिमको निर्माण कार्य पूरा गरिएको बताए। पूर्व मुख्यमन्त्री पवन चामलिङलाई कार्यक्रममा बोलाउने कुरालाई लिएर चर्किएको विवादमा स्पस्टिकरण दिँदै उनले भने, पूर्व मुख्यमन्त्री पवन चामलिङलाई बोलाउन उद्घाटन कार्यक्रम आयोजन समितिले सभामा प्रस्ताव पनि पारित गरेको थियो।
उनलाई बोलाउनको निम्ति एकेआरएस-का वरिष्ठ सदस्यलाई पठाएको तर पूर्व मुख्यमन्त्रीले निम्तो लिन अस्वीकार गरेका थिए। यसका साथै उनलाई निम्त्याउनको निम्ति नामची पूर्व मुख्यमन्त्रीकै आवासमा सरकारी अधिकारीहरूलाई पठइएको थियो। तर पनि उनले भेट्ने एपोइण्टमेण्ट नदिएको बताए। यसरी नै उनले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई उद्घाटन कार्यक्रमको अवसरमा अभिनन्दन जनाउने कार्यक्रम रहेको पनि जानकारी दिए। जेकब खालिङले वर्तमान सरकारको इच्छाशक्तिको कारण नै यो निर्माण कार्य सफल भएको पनि जानाए।