युवा पत्रकार पंकज ढुङ्गेल ‘एक्सिलेन्स इन् जर्नलिज्म फर् द इयर 2021-22’ पुरस्कारले पुरस्कृत

युवा पत्रकार पंकज ढुङ्गेल ‘एक्सिलेन्स इन् जर्नलिज्म फर् द इयर 2021-22’ पुरस्कारले पुरस्कृत

Spread the love

गान्तोक, 24 मई । पत्रकार पंकज ढुङ्गेललाई ‘एक्सिलेन्स इन् जर्नलिज्म फर् द इयर 2021-22’ पुरस्कारले पुरस्कृत गरियो। राजधानीको स्थानीय एक होटलमा मंगलवार आयोजित ‘राम पात्रो मेमोरियल अवार्ड’ कार्यक्रममा पत्रकार ढुङ्गेललाई पुरस्कृत गरिएको हो। राज्य शहरी विकास विभाग मन्त्री अरुण उप्रेतीको बाहुलीद्वारा पत्रकार ढुङ्गेललाई पुरस्कृत गरियो।

यसरी नै पत्रकार प्रशान्त आचार्यलाई वर्ष 2021-22 का लागि सिक्किम एक्सप्रेस र हिमाली बेलाका उत्कृष्ट श्रमजीवी पत्रकार पुरस्कारले सम्मानित गरियो। पत्रकार आचार्यलाई विधायक जीटी ढुङ्गेलको बाहुलीद्वारा सम्मानित गरियो। यसरी नै चेतकुमार गुरूङलाई उनको उल्लेखनीय योगदानको निम्ति मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको बाहुलीद्वारा सम्मानित गरियो।

कार्यक्रमका मुख्य अतिथि मन्त्री अरुण उप्रेतीले आफ्नो सम्बोधनमा सिक्किमेली पत्रकारिताको क्षेत्रमा पत्रकार स्व. राम पात्रोको योगदानको सराहना गरे। पत्रकारहरूले समाजको सेवामा दिनरात परिश्रम गरिरहेको भए तापनि उनीहरूले आफ्नो खटाई अनुरुप रिवार्ड भने नपाएको उनले बताए। मन्त्री उप्रेतीले सिक्किम देशकै एउटा यस्तो राज्य रहेको बताए जहॉं पत्रकारहरूले बिना डर निष्पक्षरूपमा काम गर्न पाइरहेका छन् भनी बताए। यदि पत्रकारहरूले यस्तो कुनै स्थिति सामना गर्नु परेको खण्डमा सिक्किम सरकार सदैव पत्रकारहरूको साथमा रहेको पनि उनले विश्वास दिलाए।

विशिष्ट अतिथि विधायक जीटी ढुङ्गेलले पत्रकारितालाई हल्का रूपमा लिनु नहुने विचार राख्दै पत्रकारिता आवाजविहीनहरूको आवाज रहेको बताए। उनले पत्रकारिता सरकार र जनताबीच एउटा सेतु पनि रहेको बताउॅंदै लोकतन्त्रमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले समाजलाई क्षति पुग्ने काम गर्नु नहुने सुझाउ राख्दै पत्रकारिताद्वारा स्वस्थ समाज निर्माणको निम्ति काम गर्नुपर्छ भन्ने कुरा राखे।

अर्का विशिष्ट अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले आफ्नो सम्बोधनमा पत्रकारिता कठिन विषय रहेको र पत्रकारहरूले आफ्नो ज्यानलाई समेत खोजिममा हालेर मानिसहरूमा समाचार सम्प्रेषणको काम गर्ने गरेको बताए। सोशियल मिडिया र प्रिन्ट मिडियामाथि आफ्नो विचार राख्दै उनले सोशियल मिडियाको जीवन क्षणिक रहेको, तर प्रिन्ट मिडिया इतिहास बनेर सदा बाचिरहने आसय व्यक्त गरे। अर्कोतिर, प्रेस सल्लाहकार शर्माले युवा सञ्चारकर्मीहरूलाई होशियारीपूर्वक पत्रकारिता गर्न तथा पत्रकारितालाई व्यवसायिक रूपमा अपनाउन सुझाउ दिए।

कार्यक्रमलाई आज सम्मानित पत्रकारद्वय पंकज ढुङ्गेल र प्रशान्त आचार्य, सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्राले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published.