सिक्किमको जैविक उत्पादन अमेरिकामा बेच्ने प्रमाणपत्र लिन अमेरिका हिँड़े कृषि मन्त्री

Spread the love

गान्तोक, 20 अप्रेल। सिक्किममा उत्पादित जैविक उत्पादलाई अन्तर्राष्ट्रिय बजारमा पुऱ्याउन आवश्यक नेशनल अर्गेनिक प्रोग्राम (एनओपी) प्रमाणपत्र लिन सिक्किमका कृषि तथा बागवानी मन्त्री लोकनाथ शर्मा आज अमेरिकाको निम्ति गान्तोकबाट प्रस्थान भएका छन्। विशेषरूपमा अमेरिकाको बजारमा जैविक उत्पाद पठाउनको निम्ति एनओपी प्रमाणपत्र आवश्यक भएको  हुनाले सिक्किमको जैविक उत्पादलाई अमेरिकी बजारमा पठाउने लक्ष्य लिएर सिक्किम सरकारले काम गरिरहेको र प्रमाणपत्रको निम्ति अन्तिम चरणको बैठक अमेरिकामै हुने भएको मन्त्री शर्माले बताए।

अमेरिकाको निम्ति प्रस्थानहुन अघि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री शर्माले सिक्किम सरकारले किसानहरूको हितमा विभिन्न कार्यक्रमहरू गरिरहेको अनि किसानहरूको फाइदाको निम्ति जैविक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुऱ्याउने ध्येय राखेर एनओपी प्रमाणपत्रको निम्ति गरिएको पहल अन्तिम चरणमा पुगेको बताए। उनले राज्य सरकारको कृषि विभागका सम्बन्धित अधिकारीहरूसहित आफू मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देशमा अमेरिका जान लागेको बताए। त्यहाँ पुगेर वासिङगटन डिसी, फ्लोरिडा र अन्य ठाउँहरूमा गरिने कृषि प्रविधिबारे जानकारी लिने र सिक्किमको निम्ति कामलाग्ने कुरा सिकेर यहाँका किसानहरूलाई फाइदा पुऱ्याउने लक्ष्य राखेको पनि मन्त्री शर्माले अवगत गराए।

अर्कोतिर मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले जैविक अभियानको यो एउटा ऐतिहासिक उपलब्धी रहेको बताउँदै एनओपी प्रमाणपत्रको निम्ति भइरहेको पहलको निर्णायक बैठकको निम्ति मन्त्री लोकनाथ शर्मा र विभागीय दल अमेरिका गइरहेको बताए। यो प्रमाणपत्र पाएपछि सिक्किमका किसानहरूलाई धेरै लाभ हुने र अमेरिका जस्तो ठाउँमा सिक्किमको उत्पादन जैविक ब्राण्डको साथमा बिक्रीहुने पनि जानकारी दिए। उनले सिक्किमको टोलीको भ्रमणको सफलताको कामना पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *