गान्तोक, 20 अप्रेल। केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पूर्व सिक्किम सिङ्गतामदेखि तार्कु हुँदै राभाङ्गला, दक्षिण सिक्किमसम्मको राष्ट्रिय राजमार्ग-510 मा सड़क बढ़ोत्तरीका क्रममा क्षतिपूर्ति नपाएका सबै पीड़ितहरूलाई झट्ट क्षतिपूर्ति दिनुपर्ने निर्देश दिएका छन्। केन्द्रिय मन्त्री गड़करीले यो निर्देश पीड़ितहरूको पक्षमा सड़क बढ़ोत्तरी गर्ने उपक्रम एनएचआईडीसीएल-का अधिकारीहरूलाई दिएका हुन्।
भारतीय जनता पार्टी सिक्किमको युवा प्रकोष्ठ अध्यक्ष विकास दाहालले सड़क मार्ग सम्बन्धित सिक्किमका विभिन्न मुद्दाहरूबारे केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई अवगत गराएपछि उनले यो निर्देश दिएका हुन्। युवा राज्य युवा मोर्चा अध्यक्ष दाहालले 19 अप्रेलको दिन केन्द्रिय मन्त्री गड़करीसित 2-मोतिलाल नेहरू प्लेस, लाल बहादुर शास्त्री स्मारकस्थित उनको सरकारी आवासमा भेट गरेर सिक्किममा राष्ट्रिय राजमार्ग बढ़ोत्तरीको क्रममा उत्पन्न समस्याहरूलाई लिएर केन्द्रिय मन्त्रीसित चर्चा गरेका हुन्।
युवा अध्यक्ष दाहालले पूर्व सिक्किम सिङ्गतामदेखि तार्कु हुँदै राभाङ्गला सम्मको राष्ट्रिय राजमार्ग-510 मा सड़क बढ़ोत्तरी कार्यले उत्पन्न भएको स्थानीय मानिसहरुको समस्याहरूको शीघ्र समाधानको मुद्दा र पीड़ित सर्वसाधारणको माग र गुनासोहरूबारे केन्द्रिय मन्त्रीलाई अवगत गराए। उनले केन्द्रिय मन्त्रीसित पीड़ितहरूमध्ये अधिकांशको क्षतिपूर्ति भुक्तान नभएको जानकारी दिए।
भारतीय जनता पार्टीका राष्ट्रिय युवा अध्यक्ष तेजस्वी सूर्या सिक्किम राज्य युवा मोर्चा अध्यक्ष विकास दाहालसित उक्त भेटघाटको क्रममा उपस्थित रहेका थिए। भाजपा राष्ट्रिय युवा अध्यक्ष सूर्याको पहलमा नै केन्द्रिय मन्त्रीसित राज्य युवा प्रकोष्ठ अध्यक्ष दाहालले केन्द्रिय मन्त्रीसित भेट गरेका थिए। तेजस्वी सूर्याले सिक्किमेली जनताको पक्षमा बोल्दै सड़क मार्ग बढ़ोत्तरीका पीड़ितहरूलाई यथाशीघ्र न्याय दिलाउने आग्रह गरेको विकास दाहालले जानकारी दिएका छन्।
केन्द्रिय मन्त्री गड़करीसित सड़क बढ़ोत्तरीका पीड़ितहरूको गुनासो राख्दै राज्य भाजपा युवा अध्यक्ष विकास दाहालले बर्खाको मौसममा स्थानीय मानिसहरूले भोग्नुपरिरहेको कष्टबारे जानकारी गराए। केन्द्रिय मन्त्री गड़करीले तत्कालै सड़क बढ़ोत्तरी गर्ने उपक्रम एनएचआईडीसीएल-का महानिर्देशक र तक्नीकि निर्देशकलाई डाकेर सड़क बढ़ोत्तरीका पीड़ितहरूलाई झट्ट क्षतिपूर्ति राशि भुक्तानी गर्नुपर्ने निर्देश दिए।
विकास दाहालले जानकारी दिएअनुसार एनएचआईडीसीएल- सिक्किमले अहिलेसम्म क्षतिपूर्तिको बिल दिल्ली नपठाएको थाहा लागेको छ। केन्द्रिय मन्त्रीले झट्ट क्षतिपूर्तिको बिल दिल्ली पठाउने र 2 देखि 3 हफ्तामा भुक्तानी गर्नुपर्ने निर्देश दिए।
भाजपा सिक्किम युवा मोर्चा अध्यक्ष विकास दाहालले सकरात्मक पहलका निम्ति सिक्किमका जनताको पक्षमा केन्द्रिय मन्त्री नितिन गड़करीप्रति आभार प्रकट गरेका छन्। उनले भाजपा राष्ट्रिय युवा प्रकोष्ठ अध्यक्ष तेजस्वी सूर्याप्रति सहयोग र साथका निम्ति कृतज्ञता व्यक्त गर्दै सिक्किमे जनताको गुनासो चाँड़ै सुनवाई हुने र पीडितहरूले न्याय पाउने भरोसा व्यक्त गरेका छन्।