सिक्किम विश्वविद्यालयको नेपाली विभागले 32औँ नेपाली भाषा मान्यता दिवस एवम् भानु स्मरण दिवस भव्य रूपमा पालन गरेको छ। कार्यक्रममा सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारी मुख्य अतिथिको रूपमा उपस्थित थिइन् भने विश्वविद्यालयका कुलपति प्रोफेसर अविनाश खरेले कार्यक्रमको अध्यक्षता गरेका थिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक र साहित्यिक प्रस्तुतिहरू समावेश गरिएको थियो जसमा तेस्रो सत्रका विद्यार्थीहरूले रामायण पाठ प्रस्तुत गरेका थिए भने सामुहिक गीत प्रस्तुति, कविता वाचन र नृत्य प्रस्तुतिहरू समावेश गरिएको थियो। कार्यक्रममा विभिन्न विभागका विद्यार्थीहरूले लेप्चा, भोटिया र लिम्बू नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा डा गोकुल सिन्हाद्वारा लिखित कवि भानुभक्त आचार्य बारे अङ्ग्रेजी वार्ता पनि प्रस्तुति गरिएको थियो। यसरी नै आमन्त्रित कविहरूमा, सिक्किमबाट कवि गोपाल ढकाल, दीपा राई र आदर्श मिलन प्रधान अनि दार्जीलिङबाट कवि नोर्जाङ स्याङदेनले आफ्नो कविता वाचन गरेका थिए।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित पूर्व सांसद दिलकुमारी भण्डारीले भाषा मान्यता आन्दोलनको सङ्घर्षमाथि प्रकाश पारेकी थिइन् भने अतिथि प्रो रोजी चामलिङ र सभा अध्यक्ष प्रो अविनाश खरेले पनि आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा नेपाली विभागद्वारा प्रकाशित जर्नल अनुसन्धानको लोकार्पण पनि गरिएको थियो।
नेपाली विभागकी विभाग अध्यक्ष डा कविता लामाको स्वागत भाषणबाट सुरु भएको कार्यक्रम नेपाली विभागकी उप प्राध्यापक डा अरुणा राईको धन्यवाद ज्ञापनपछि समापन भएको थियो। कार्यक्रमलाई डा बलराम पाण्डे र डा सुमन बान्तवाले सञ्चालन गरेका थिए।