कानून एवं व्यवस्था, नियम र दिशानिर्देश पालन गर्न कसैसॅंग पक्षपात नगर्ने मुख्यमन्त्रीको निर्देश

Spread the love

पूर्व सिक्किमको गान्तोक जिल्ला अन्तर्गत पाङथाङस्थित सिक्किम सशस्त्र पुलिस (एसएपी)को खेल मैदानमा आज राष्ट्रिय एकता दिवस पालन गरियो। कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। यस अवसरमा राज्यपाल प्रसादले उपस्थित सबैलाई राष्ट्रिय एकता दिवसको शपत दिलाए।

राज्यपाल प्रसादले भारतको लौह पुरूष सरदार वल्लभ भाई पटेलप्रति श्रद्धाञ्जली अर्पित गर्दै पटेलले देशलाई एकताको सूत्रमा बाध्न दिएका उल्लेखनीय योगदानमाथि प्रकाश पारे। उनले पटेलको बलिदानी प्रकृति र राष्ट्रप्रति समर्पणको भावबारे पनि अवगत गराए।

उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूको अतुलनीय भूमिकाको सराहना गरे। यसै गरी, राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको देशलाई आत्मनिर्भर बनाउने भिजनको सराहना गर्दै सबैलाई आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्न प्रोत्साहित गरे।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सरदार वल्लभ भाई पटेलको उल्लेखनीय योगदानमाथि प्रकाश पारे। पटेलले देशको अखण्डताका लागि 565 विभिन्न प्रान्तहरूलाई भारतीय संघमा अन्तर्भुक्त गरेका थिए भनी अवगत गराए। प्रधानमन्त्रीले वर्ष 2014 मा राष्ट्रिय एकता दिवस घोषणा गरेपछि सिक्किमा वर्षेनी सो दिवस पालन भइरहेको पनि उनले बताए।

मुख्यमन्त्रीले नशालु पदार्थको दुरूपयोग र तस्करी रोकथाममाथि विशेष बल दिए। उनले सिक्किमलाई नशालु पदार्थको तस्करी मुक्त राज्य बनाउन सबै स्तरबाट सामूहिक प्रयासको आवश्यक रहेको बताए। उनले यस्तै पहल छिमेकी राज्यहरूमा पनि हुनुपर्छ भनी बताए। उनले पुलिस विभागलाई कानून एवं व्यवस्था सुनिश्चित गर्न नियम अनि दिशानिर्देश पालन गर्न तथा कसैसॅंग पक्षपात नगर्न निर्देश दिए।

कार्यक्रमलाई राज्यका मुख्य सचिव वीबी पाठक, डीजीपी ए. सुधाकर रावले पनि सम्बोधन गरेका थिए। यस अवसरमा संस्कृति विभागका कलाकार अनि विद्यार्थीहरूले देशभक्ति गीत एवं नृत्यहरू प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *