नागाल्याण्डका पत्रकारहरूको टोली सिक्किमको अध्ययन भ्रमणमा
गान्तोक, 21 मई । प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले शनिवार नागाल्याण्डको सूचना एवं जन सम्पर्क विभाग निदेशालय (डीपीआईआर) र पत्रकारहरूको टोलीलाई राजधानी गान्तोकमा स्वागत जनायो। नागाल्याण्डबाट आएका सातजना मिडियाकर्मी र अधिकारीहरूको अगुवाई डीपीआईआर विभागका उप निदेशक र नागाल्याण्ड प्रेस एसोसिएशन (एनपीए) का अध्यक्षले गरेको थियो। नागाल्याण्डको टोली सिक्किमको विशेष रूपमा बढ्दो पर्यटन क्षेत्रको अध्ययन भ्रमणमा आएका हुन्।
पीसीएसका अध्यक्ष शेखर खवास र महासचिव डीआर दुलालले राजधानीमा आज आयोजित एक अन्तरक्रिया सत्र अवधि नागाल्याण्डको टीमलाई स्वागत जनायो। यस कार्यक्रममा डीआईओ, गान्तोक दिपेन्द्र शर्मा विशेष अतिथि थिए। अन्तरक्रिया सत्रमा नागाल्याण्डको डीपीआईआरका उप निदेशकले राज्यका मिडियाकर्मीहरूको निम्ति सरकारले वर्षेनी यस प्रकारको कार्यक्रम आयोजन गर्ने गरेको बताए। उनले सिक्किमको विषयमा धेरै सुनेको र यहॉं पर्यटन निकै बढ़ेर गइरहेको हुनाले राज्यको भ्रमण गरेर बुझ्न आएको बताए।
नागाल्याण्डबाट आएको प्रतिनिधिमण्डलले यस प्रकारको विनिमयको महत्वमाथि पनि प्रकाश पारेका थिए। उनीहरूले सिक्किमका मिडियाकर्मीहरूलाई पनि नागाल्याण्डको भ्रमणमा आउन निम्तो दिए। पीसीएसका सदस्यहरूले पनि पूर्वोत्तरको आठ राज्यका पत्रकारहरूबीच सहयोग बढ़ाउनु पर्ने विचारहरू साझा गरेका थिए। नागाल्याण्डको प्रतिनिधिमण्डलले आइतवार छाङ्गु लेक र नथुलाको भ्रमण गर्ने छन्। त्यसपछि, उत्तर सिक्किमको दुई दिने भ्रमणमा जाने छन् भने 25 मईको दिन फर्किनेछन्।