मेयर छेत्रीले ‘श्रमिक सम्पर्क अभियान’ को शरूवात गरे
गान्तोक, 09 जून। गान्तोकका मेयर नील बहादुर छेत्रीले बिहिवार एमजी मार्गस्थित जिल्ला नियन्त्रण कक्षमा आयोजित एक कार्यक्रमबीच ‘श्रमिक सम्पर्क अभियान’ शुरूवात गरे। कार्यक्रममा उप मेयर छिरिङ पाल्देन भोटिया, श्रम विभाग सचिव नम्रता थापा, च्याम्बर अफ् कमर्सका पूर्व अध्यक्ष एसके शारदा आदि उपस्थित थिए।
मेयर छेत्रीले श्रम विभागद्वारा शुरू गरिएको श्रमिक सम्पर्क अभियानको सराहना गरे। उनले श्रमिकहरूलाई लाइसेन्स दिने यस अभियानले राज्यमा कति स्थानीय र गैर स्थानीय कामगारहरू छन् भन्ने लेखाजोखा गर्न सजिलो हुने बताए। उनले श्रमिक कार्डको उद्देश्य राज्यमा कार्यरत कामगारहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु रहेको बताए। मेयर छेत्रीले व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूलाई अनलाइन माध्यमद्वारा सेवा प्राप्त गर्न र श्रम विभागसॅंग समन्वय राखेर काम गर्न आह्वान गरे।
सचिव थापाले आजदेखि शुरू भइरहेको श्रमिक सम्पर्क अभियान व्यावसायिक लाइसेन्स र कामगारहरूको पञ्जीकरण नवीकरणको निम्ति पहल रहेको बताइन्। उनले श्रमिक कार्ड राज्य सरकारद्वारा जारी गरिने एउटा परिचय पत्र हो जसको माध्यमद्वारा श्रमिकहरूले विभिन्न प्रकारका सेवा र सुविधाहरू प्राप्त गर्न सक्ने बताइन्। उनले रेकर्डका लागि डाटाबेस तयार गर्न श्रमिकहयको अनलाइन पञ्जीकरण गरिने बताइन्।
जानकारी अनुसार, एमजी मार्गमा 9 देखि 17 जून, चानमारी/रोङ्गे/ताथाङचेनमा 9 देखि 13 जून, बोझोघारी/पेनलङमा 19 देखि 13 जून, रानीपुलमा 13 देखि 16 जून, सिङताममा 13 देखि 21 जून, डिक्चु, माखामा 22 जून, साङ, रूम्तेकमा 23 जून र रेखोलामा 24 जूनमा लाइसेन्स पञ्जीकरण र नवीकरण सम्पन्न गरिने छ।