मई दिवस-को अवसरमा मजदूर, श्रमिकहरूका नाममा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङद्वारा जारी सन्देश

मई दिवस-को अवसरमा मजदूर, श्रमिकहरूका नाममा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङद्वारा जारी सन्देश

Spread the love

प्रिय श्रमिक-मजदूर दाजुभाइ, दिदीबहिनीहरू,

आज हामी 137औं अन्तर्राष्ट्रिय मजदूर दिवस पालन गरिरहेका छौं। श्रमिक-मजदूर वर्गको यस महान् पर्वको उपलक्ष्यमा सिक्किमका सम्पूर्ण खटिखाने, श्रमजीवी वर्गप्रति न्यानो अभिवादन जनाउँदै हार्दिक शुभकामना र बधाई दिनचाहन्छु। साथै देश तथा विश्वभरिका श्रमिक-मजदूरहरूसँग आत्मीय एकात्मता जाहेर गर्नचाहन्छु।
मई दिवस अथवा अन्तर्राष्ट्रिय मजदूर दिवसको ऐतिहासिक महत्व छ। यो दिन विश्वको मानव इतिहासमा श्रमिकहरूले आफ्नो पक्षमा लड़ेको लड़ाइँमा पहिलोचोटि सर्वोच्च र सामुहिक विजय हासिल गरेको दिन हो। आजकै दिन श्रमिक-मजदूरहरूले मालिक, पूँजीपति र शोषकहरूको अन्याय, अत्याचारविरुद्ध एकताबद्ध आन्दोलन गरी न्याय र अधिकार हासिल गरेका हुन्। यस अर्थमा मई दिवस विश्वका श्रमिक-मजदूरहरूको एकताको प्रतीक पनि हो, श्रमिक-मजदूरहरूको अजेय शक्तिको प्रतीक पनि हो, मजदूर वर्गको जीतको प्रतीक पनि हो। मानव सभ्यताको अग्रगामी इतिहासमा यस दिनले श्रमजीवी वर्गको एकजुटता र सङ्कल्पको जल्दोबल्दो प्रमाण दिएको छ, र दिइरहनेछ।
संसारका प्रायः सबै देशहरूमा मई दिवसलाई पालन गर्दै ल्याइएको छ। आज पनि संसारका धेरै देशहरूमा यस दिवसलाई मनाइँदैछ। आज विश्वभरिका श्रमिकहरूले यस दिनलाई आफ्नो मुक्ति दिवसको रूपमा पालन गरिरहेका छन्।
त्यसैले आज मजदूर-किसानहरूको विजयको दिन हो। यस दिनले संसारभरिका श्रमजीवी वर्गलाई स्वतन्त्र, उन्मुक्त, न्यायपूर्ण र सम्मानजनक जीवन जिउने प्रेरणा र हौसला दिएको छ, र यस लक्ष्यलाई प्राप्त गर्ने उत्साह र आकांक्षालाई सधैं जागृत गरिदिएको छ। त्यसैले मई दिवस असाधारण महत्वको पर्व हो, अनि यसको पछाड़ि एउटा गौरवशाली इतिहास छ।
प्रिय साथीहरू,
आजभन्दा करीब डेढ़ शताब्दीअघिसम्म पनि संसारमा किसान, मजदूर, श्रमिक वा श्रमजीवीहरूलाई मानिसको रूपमा इज्जत, मर्यादा र मान्यता मिलेको थिएन। श्रमिक-मजदूरहरूलाई दास वा गुलामको रूपमा व्यवहार गरिन्थ्यो। बर्बर दमन, अन्याय, अत्याचार गरिन्थ्यो, पशुसरह बर्ताव गरिन्थ्यो। उनीहरूले मालिक र पूँजीपतिहरूका निम्ति दिनमा चौदह-चौदह, सोह्र-सोह्र, अठार-अठार घण्टासम्म काम गर्नुपर्थ्यो। उनीहरूको जीवनमा कुनै सुख थिएन, चैन थिएन, आनन्द थिएन, न स्वतन्त्रता नै थियो, न सुरक्षा नै। यसरी मजदूरहरू तुच्छ, हेय र नारकीय जीवन जिउन बाध्य थिए।
यहाँ एउटा अति नै महत्वको कुरोलाई हामीले ध्यान दिनुपर्नेछ कि त्यति हुँदाहुँदै पनि तर मजदूर-श्रमिक वर्गले आफ्नो हालतलाई बदल्नसकिरहेका थिएनन्। उनीहरू पीढ़ी-दर-पीढ़ी दासत्व भोग्न बाध्य थिए, शास्तीको जीवन बाँच्न विवश थिए।
यस्तो किन भइरहेको थियो भने मजदूर-किसानहरूलाई आफ्नो मुक्तिको बाटो थाहा थिएन। उनीहरूलाई त्यसको ज्ञान पनि थिएन, चेतना पनि थिएन। अचेतनता र अज्ञानताको अन्धकारमा किसान-मजदूर-श्रमिकहरू बाँचिरहेका थिए। आफ्नो जीवन किन यति कष्टमय छ भन्ने कुरोको जानकारी नभएकोले तथा कसले आफूहरूलाई नारकीय जीवन जिउन बाध्य बनाएको होला भन्ने कुरोको चेतना नभएकोले उनीहरू दासत्वको जीवन जिइरहेका थिए। त्यस अवस्थामा मजदूर-श्रमिकहरूको एकता नहुनु स्वाभाविक नै थियो। उनीहरूको आफ्नो सङ्गठन नहुनु पनि स्वाभाविक ने थियो। फलस्वरूप उनीहरूको पक्षमा आवाज उठाइदिने, उनीहरूको हक-हितको निम्ति लड़ाइँ लड़िदिने कोही थिएन, उनीहरू चुपचाप कुनै विरोध वा प्रतिरोधबिनै मालिक र पूँजीपतिहरूको मुनाफा र ऐश्वर्यको लागि खटिरहेका थिए। भनौं, आफैलाई पुस्ता-दर-पुस्ता मेटाइरहेका थिए।
प्रिय श्रमिक साथीहरू,
त्यो जटिल समयमा अमेरिकाको शिकागो शहरबाट श्रमिकहरूको सङ्गठित आवाज गुञ्जियो। मजदूर-श्रमिकहरूले आफ्नो अधिकारको निम्ति आफ्नै सङ्गठन बनाएर आन्दोलन गरे। हिजोसम्म अलग-थलग विभाजित भएर अन्याय-अत्याचारमा बाँचिरहेका श्रमिक-मजदूरहरू ट्रेड युनियन र मजदूर सङ्गठनहरूमा सामेल भए, अनि न्याय, मुक्ति र हकका लागि आवाज उठाउनथाले। त्यही आवाज र आन्दोलनको नतीजाको रूपमा श्रमिकहरूले ऐतिहासिक जीत हासिल गर्नसके, जसलाई आज हामी मई दिवसको रूपमा स्मरण गर्ने गरेका छौं।
तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु, यदि ती मजदूर-श्रमिकहरूले सङ्गठित बनेर लड़ाइँ नलड़ेका भए, उनीहरूले ज्यानको पर्वाह नगरी आन्दोलन नगरेका भए अथवा उनीहरू पनि भय-त्रास र डरको भावनाले दबेर रहेका भए, हुनसक्छ आजसम्म पनि मजदूर-श्रमिक-किसानहरूको अवस्था दास-दासीकै रहनेथियो। हुनसक्छ, आजसम्म पनि उनीहरू अधिकारविहीन नै रहनेथिए, पराधीन र बन्दी नै रहनेथिए। तर सचेत र साहसी श्रमिकहरूले जेल-नेल र बन्दुकको पर्वाह नगरी अन्याय र अत्याचारको विरोधमा आन्दोलन गरेका कारण अमेरिकाका मजदूरहरूले मुक्ति पाए। र त्यही मुक्तिको उदाहरणले संसारभरिकै श्रमिक-मजदूरहरूलाई पनि आ-आफ्नो उन्मुक्तिको बाटो देखायो। त्यसैको फलस्वरूप आज संसारभरिका मजदूर-श्रमिकहरू गुलामीको जञ्जीरबाट मुक्त बन्नसकेका छन्।
तपाईंहरू जान्नुहुन्छ, 18औं र 19औं शताब्दीमा आइपुग्दा उद्योग र कल-कारखानाहरू बढ्नुसँगै मजदूर र श्रमिकहरूको जीवन सहज र सुविधाजनक हुनुको साटो झन्-झन् कठीन र कष्टकर बन्दै गएको थियो। पूँजीपति वा उद्योगका मालिकहरू आफ्नो मुनाफा बढ़ाउने ध्यानमा श्रमिक-मजदूरहरूमाथि झन्-झन् शोषण गरिरहेका थिए। श्रमिकहरूलाई कमभन्दा कम ज्यालामा ज्यादाभन्दा ज्यादा काममा खटाएर शोषण गर्नथालियो। श्रमिकहरूलाई कामको उचित ज्याला नदिनु मात्र होइन, उनीहरूको भोक, तिर्खा, निद्राको समेत ख्याल गर्न छोड़ियो। मजदूरहरू विश्रामसम्म लिन नपाउने अवस्थामा पुगे।
साथीहरू,
श्रमिक वर्गले यो असहनीय दुःख भोगिरहेकै बेला अमेरिका दुइवटा आर्थिक मन्दीको शिकार बन्नपुग्यो। 1873 अनि 1884-85 -मा देखा परेको आर्थिक मन्दीको समय पूँजीपतिहरूले श्रमिकहरूमाथि थप बोझहरू थोप्नथाले। देश आर्थिक मन्दीको चपेटमा परेको बेला पनि उनीहरू आफ्नो मुनाफा कम गर्न चाहँदैनथे। त्यसैले उनीहरूले मजदूरहरूलाई झन्झन् शोषण गर्नथाले, झन्झन् अत्याचार गर्नथाले। अनेकौं प्रकारका ताड़नहरू दिइयो। मजदूरहरूलाई छटनी गरियो, कामको अवधि बढ़ाइयो, ज्यालासमेत घटाइयो।
यही समयमा विश्वमा पहिलोचोटि श्रमिक-मजदूरहरू एकीकृत हुँदै जानथाले, र सङ्गठित भएर आन्दोलन गर्नथाले। कल-कारखानाका श्रमिकहरू, खानीमा काम गर्ने मजदूरहरू, रेलवे तथा अन्य विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू आन्दोलनमा सरीक हुनथाले। श्रमिकहरू आन्दोलित हुनथालेपछि सन् 1875 -मा उद्योग मालिकहरूको इशारामा अमेरिकी सरकारले दशजना श्रमिकहरूलाई फाँसीको सजाय दियो। सरकारको यस्तो दमनबाट आक्रोशित बनेका मजदूरहरूले आन्दोलनलाई अझ तीब्र गतिमा अघि बढ़ाए। विद्रोही श्रमिकहरूले देशव्यापी रूपमा आन्दोलनलाई फैलाएर बन्द-हड़तालहरू गर्नथाले। आन्दोलनलाई दबाउन सरकारले सेनासम्मको मद्दत लिनुपर्यो। 1877-मा भएको यस विद्रोहमा मजदूर वर्गले सफलता पाउन त सकेनन्, तर मजदूरहरूले आफ्नो एकताको शक्ति चिन्ने मौका पाए, र आन्दोलनलाई सफलताको दिशामा अघि बढ़ाउने ऐतिहासिक शिक्षा र अनुभव पाउनसके।
1881-84 -को अवधिभित्र अमेरिकामा मजदूरहरूको हड़ताल र बन्दको घटना वर्षको हरदर 500 पुगेको थियो, जसमा डेढ़ लाखभन्दा बढ़ी मजदूरहरूले भाग लिएका थिए। त्यसपछि यो आन्दोलनले झन तीब्र गति लियो र 1885 -मा अढ़ाई लाख मजदूरहरूले आन्दोलनमा भाग लिए। हड़ताल र बन्दको संख्या पनि बढ्दै गयो। आन्दोलनमा अमेरिकाका 11,562 वटा कल-कारखानाका मजदूरहरूले भाग लिएका थिए।
श्रमिकहरूको कामको अवधि 8 घण्टा हुनुपर्छ भन्ने माग गरेर आन्दोलन चर्किएको थियो। श्रमिक फेडरेसनले 1 मई, 1886-देखि यो नियम लागू गर्ने प्रस्ताव पारित गरेपछि श्रमिकहरूमा उत्साह बढ़ेको थियो, र आन्दोलनले बृहत्तर आकार लिएको थियो। तपाईंहरूलाई स्मरण गराउनचाहन्छु कि मजदूरहरूको यो निर्णायक आन्दोलनमा विभिन्न श्रमिक संगठनहरूसँगै मजदूरहरूको पहिलो राजनैतिक पार्टी पनि सम्मिलित रहेको थियो।
1 मई आन्दोलनको केन्द्र शिकागो शहर थियो, जहाँ लाखौं मजदूरहरू भेला भएका थिए। सम्पूर्ण शिकागो शहर बन्द भएको थियो। मजदूरहरूले आफ्नो एकता र शक्तिको शानदार प्रदर्शन गरे। आन्दोलन सफल भएपछि सरकारी दमन बढ़ेर गयो। पूँजीपतिहरूले मजदूर नेताहरूलाई हत्या गरी आन्दोलनलाई बिथोल्ने प्रयास गरे। 3 मईको दिन शान्तिपूर्ण सभा गरिरहेका मजदूरहरूमाथि अन्धाधुन्ध गोली चलाएर 6 जना श्रमिकहरूको हत्या गरियो र अनेकौंलाई घायल पारियो। सरकारले हिंसात्मक दमन गर्नथालेपछि मजदूरहरू पनि प्रतिहिंसामा उत्रिए। त्यही बहानामा सरकारले अल्बर्ट पार्सन्सलगायतका आठ जना मजदूर नेताहरूलाई बन्दी बनायो र 4 जनालाई फाँसीको सजाय दियो। लुई लिग्गको जेलमै हत्या भयो र अन्य तीन जनालाई आजीवन काराबासको सजाय दियो।
विश्वका श्रमिक मजदूरहरूले गरेको यही सफल आन्दोलनको स्मृतिमा विश्वभरि 1 मईको दिनलाई मजदूर दिवसको रूपमा पालन गर्ने परम्परा शुरू भएको हो।
आज हामी यो कुरो पनि स्मरण गरौं कि फाँसीको दण्ड दिएर मारिएका शहीदहरूको शव यात्रामाथि अमेरिकी सरकारको कड़ा नियन्त्रण र आदेश हुँदाहुँदै पनि 6 लाख मानिसहरूले अंशग्रहण गरेका थिए। उल्लेखनीय कुरो त यो छ कि सरकारले झूटो मुद्दामा फँसाएर फाँसीको सजाय दिएका र आजीवन काराबासको सजाय तोकिएका मजदूर नेताहरूलाई पछिबाट अदालतले निर्दोष घोषित गऱ्यो।
आजको यस ऐतिहासक अवसरमा ती सबै शहीद र योद्धाहरूप्रति हार्दिक नमन गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु।
प्रिय श्रमिक साथीहरू,
तपाईंहरूलाई थाहै छ, मजदूर, श्रमिक, किसानहरूको यो महान् पर्व मई दिवसलाई सिक्किममा पालन गर्ने परम्पराको शुरू हाम्रै सरकारले गरेको हो। मई दिवसलाई सरकारी छुट्टी घोषणा गरी उत्सवको रूपमा पालन गर्ने हाम्रो निर्णयको पछाड़ि गहिरो सैद्धान्तिक कारण रहेको छ। अन्यथा हाम्रो सरकार बन्नअघिसम्म सिक्किममा मई दिवस पालन गरिँदैनथ्यो, छुट्टी त कुरै थिएन। हामीले सिक्किमका श्रमजीवीहरूलाई सम्मान गर्न र विश्वको ऐतिहासिक मजदूर आन्दोलनको गौरवशाली इतिहाससित सिक्किमे मजदूर आन्दोलनलाई जोड्न यो निर्णय गरेका थियौं। यसको निम्ति म फेरि पनि तपाईंहरूलाई हार्दिक शुभकामनासँगै बधाई दिनचाहन्छु।
साथीहरू,
एसडीएफ पार्टी किसान, मजदूर, श्रमजीवीहरूको हक, हित, उत्थान र विकासको पक्षमा लड्ने पार्टी भएकोले श्रमिकहरूको यो उत्सवलाई हामीले मान्यता दियौं। हाम्रो पार्टी न्याय, समानता र समावेशितालाई मान्दछ। हाम्रो पार्टी अन्याय, अत्याचार, भेदभावको विरोधमा छ। त्यसैले गरीब, असहाय, सीमान्तीकृत मानिसहरूको सुरक्षा र संरक्षण हाम्रो सिद्धान्तका प्राथमिक लक्ष्यहरू हुन्, जसमा श्रमजीवीहरू पनि पर्छन्। त्यसैले मजदूर, किसानहरू हाम्रा सैद्धान्तिक साथी हुन्, र एसडीएफ पार्टी मूलतः मजदूर-किसान-श्रमजीवी वर्गको पार्टी हो।
1993 सालमा एसडीएफ पार्टी गठन गर्दा हामीले सिक्किमे समाजका विभिन्न वर्ग, तह र तब्काका मानिसहरूका इच्छा-आकांक्षा र जरूरतहरूलाई सम्बोधन गर्ने थुप्रै नाराहरू लगाएका थियौं। त्यतिखेर किसान-मजदूरहरूका पक्षमा लगाइएको नारा अत्यन्त लोकप्रिय बनेको कुरो पनि म यहाँ सम्झना गर्न र गराउनचाहन्छु। तिनै नाराहरूका साथमा करीब दुई वर्षसम्म चलेको प्रजातान्त्रिक आन्दोलनको परिणामको रूपमा एसडीएफ सरकार गठन भयो। अनि जब सरकार गठन भयो, हामीले पहिलो मन्त्री मण्डलको बैठकमै सिक्किमका श्रमिक-मजदूरहरूको दैनिक ज्याला दोब्बर बनाउने निर्णय गऱ्यौं, र दोब्बर बनायौं। यसबाट नै एसडीएफ पार्टी र सिक्किमका मजदूर-श्रमिकहरूको नाता-सम्बन्ध स्पष्ट हुन्छ। तर पनि म दोहोर्याउनचाहन्छु, हामी तपाईंहरूका आफन्त हौं, तपाईंहरूको हित चाहने र हित गर्ने पार्टी हौं।
तपाईंहरूमध्ये धेरैलाई थाहा छ, एसडीएफ सरकार बन्नअघिसम्म सिक्किममा एक दिन मजदूर काममा नआए दुई दिनको रोज काट्ने नियम वा कुप्रथा थियो। हामीले सरकारको पहिलो दिनबाट नै त्यो नियमलाई बन्द गऱ्यौं र मजदूर-श्रमिकहरूलाई समानताको न्याय दियौं।
महिला-पुरूष मजदूरबीचको असमान ज्याला दरलाई पनि हामीले समाप्त गऱ्यौं।
महिला श्रमिकहरूलाई सुत्केरी विदा र सुत्केरी भत्ताको व्यवस्था पनि हाम्रै सरकारले शुरू गरेको कुरो तपाईंहरूलाई बताइरहनुपर्दैन।
आज मलाई यो कुरो भन्न पाउँदा धेरै खुशी लागिरहेको छ कि हामीले आफ्नो सरकार कालमा सरकारी, अर्द्ध-सरकारी तथा सरकारी उपक्रम आदिमा एम.आर., एडहक, वर्कचार्जमा काम गरिरहेका ड्राइभर, प्लम्बर, मसिनम्यान, पिअन, चौकीदार, बाइन्डर, इलेक्ट्रिसियन, फीटर, वार्ड ब्वाय, वार्ड गर्ल, होम गार्ड, फरेष्ट गार्ड, सुपरभाइजर, माली, ग्रासकटर, सेफर, नर्सरीम्यान, बि-कीपर, फील्डम्यान आदि गरेर 30 हजारभन्दा ज्यादा कर्मचारीहरूलाई रेगुलर गऱ्यौं।
हामी सरकारमा आउँदा श्रमिकहरूको दैनिक ज्याला केवल 20 रुपियाँ थियो, त्यसलाई बढ़ाएर हामीले दक्षता अनुसार न्यूनतम् 300 रुपियाँदेखि लिएर 500 रुपियाँसम्म बनायौं।
हामीले श्रमिकहरूको हितमा धेरैभन्दा धेरै कामहरू गऱ्यौं। श्रमिकहरूको जीवनलाई सुखमय र सुरक्षित बनाउने पहलहरू गऱ्यौं। सरकारी सहुलियतहरू दिएर मद्दत पुर्यायौं। मजदूर-किसानका निम्ति आवास, भोजन, स्वास्थ्य-शिक्षासँगै सबै बुनियादी जरूरतहरू पूरा गर्ने तजबिजहरू गऱ्यौं। त्यसका निम्ति सिक्किमका मजदूर, किसान अनि विपन्न वर्गका मानिसहरूका हित र कल्याणका निम्ति हामीले अनेकौं योजना र कार्यक्रमहरू लागू गऱ्यौं।
सिक्किमका गरीब तथा घरबारविहीनहरूका निम्ति ल्याण्ड ब्याङ्क योजना शुरू गरी आधा ऐकर गरेर जमीन दियौं। जनताले पाएका ती जमीनहरूमा घर बनाइदियौं। घर छाउन 30 पन्ना च्यादर र घर मरम्मती गर्न 20 हजार रुपियाँ अनुदान दियौं।
गाउँले किसान-मजदूरहरूका निम्ति गाई, सुँगुर, बाख्रा, कुखुरा, माछा बाँड़्यौं। सित्थैमा कुटो-कोदालो, फरूवा-बेल्चा, हँसिया-मार्तोल, सिलाई मशीन आदि बाँड़्यौं।
सबै किसान-मजदुरहरूलाई ग्यास चुल्हा, सिलिण्डर, प्रेसर कूकर, इण्डक्सन चुल्हा, मासिक 35 केजी चामल दिने व्यवस्था गऱ्यौं।
विपन्न परिवारका नानीहरूलाई खाता-किताब, युनिफर्म, ब्याग, जुत्ता-मोजा, छाता-स्वेटर बाँड्यौं। कलेज तहसम्म शिक्षालाई निःशुल्क गरिदियौं।
सिक्किमका किसानहरूको आय र इज्जत बढ्ने गरी खेतीपातीलाई प्रोत्साहन दियौं। सिक्किमलाई नै जैविक राज्य बनायौं। बागवानी तथा फूलको खेतीलाई प्रोत्साहन दियौं। ग्रीन हाउसहरू बाँड्यौं, वाटर हार्भेस्टिङ ट्याङ्कीहरू बाँड्यौं। बीऊ-बिजनहरू सित्थैंमा दियौं, पावर टिलरहरू दियौं।
साथमा, गाउँले किसानहरूले उत्पादन गरेका साग-सब्जी र अन्नादि लिन घर-घरै सरकारी गाड़ी जाने व्यवस्था पनि गऱ्यौं। समर्थन मूल्य दियौं। किसानहरूले उमारेका सब्जी, फल-फूलहरू सड़्यो-गल्यो भने क्षतिपूर्ति दिने नियम बनायौं। जङ्गली जनावरहरूले खेतीबाली बिगारिदियो भने त्यसको पनि क्षतिपूर्ति दिने नियम बनायौं। आफूले उमारेका, फलाएका सामानहरू आफै बेच्न चाहने किसानहरूको निम्ति किसान बजारहरू बनाइदियौं। सड़क किनाराहरूमा मार्केटिङ शेडहरू बनाइदियौं। किसानहरूलाई उत्पादनको ट्याक्स तिर्नु नपर्ने नियम बनायौं। सिक्किमे किसानहरूलाई बिचौलिया र कमीसनखोरहरूबाट बचाउने व्यवस्था गऱ्यौं।
हामीले ‘किसान पेन्सन्’ योजना शुरू गऱ्यौं। 50 वर्ष नाघेका किसानहरूलाई मासिक 1 हजार रुपियाँ गरेर किसान पेन्सन् दिनथाल्यौं।
सबैका लागि सरकारी अस्पतालहरूमा निःशुल्क उपचार र औषधिहरूको व्यवस्था गऱ्यौं। गाउँ-घरमै सबैको स्वास्थ्य जाँच गर्ने कार्यक्रम शुरू गऱ्यौं । राज्यभित्र उपचार हुन नसकेका रोगको उपचारका लागि राज्यबाहिर लगेर निःशुल्क उपचार गराउने व्यवस्था गऱ्यौं । मजदूर-किसानलगायत गरीब मानिसहरूका नानीहरूलाई हेपाटाइटिस् बी -को टीकाकरण गऱ्यौं, 9 -देखि 14 वर्ष पुगेका छोरीहरूलाई सर्वाइकल क्यान्सरको टीकाकरण पनि गऱ्यौं। गरीब आमा-चेलीहरूलाई क्यान्सरको जाँच गराउन थाल्यौं।
यी सम्पूर्ण पहल र प्रयासहरूद्वारा हामीले हाम्रा सिक्किमे श्रमिक, मजदूर, किसानहरूलाई सम्मानको जीवन जिउन पाउने अधिकार र अवसर दिलाउन चाहेका हौं। मजदूर, किसान, श्रमजीवीहरूलाई आत्म-सम्मानको जीवन सुरक्षित गर्नचाहेका हौं। श्रमजीवीहरूलाई कसैले हेप्न नपाउने र श्रमजीवीहरू कसैबाट पनि हेपिनु नपर्ने सामाजिक, राजनैतिक र कानूनी स्थिति सिर्जना गर्न चाहेका हौं। सिक्किमका मजदूर-किसानलगायत सबै नागरिकहरूले समानताको जीवन जिउने अवसर पाउँदा नै सिक्किम सुन्दर, विकसित र सुरक्षित हुनसक्दछ भन्ने हाम्रो पार्टीको सिद्धान्तको आधारमा हामीले यो निर्णय गरेका हौं।
प्रिय साथीहरू,
त्यसैले श्रमिक, मजदूर, किसानहरूको हित कल्याण हुने र उनीहरूको जीवनलाई सहज एवम् सुखमय बनाउने सबै प्रयासहरू हामीले गऱ्यौं। सिक्किमका सबै नागरिकहरूले प्रजातान्त्रिक र खुल्ला वातावरणमा जीवन यापन गर्नपाउने अधिकार पाऊन्, कसैले पनि डर-त्रासको भाव लिएर बाँच्न नपरोस्, सबैले इज्जत र सम्मानपूर्ण जीवन जिउन पाउने अधिकार पाऊन् भन्ने हाम्रो चाहना हो, र यसै उद्देश्यका निम्ति हामीले राजनीति गर्दै आएका छौं। यस उद्देश्यको राजनीतिमा सिक्किमका किसान, मजदूर र श्रमिकहरूको सधैं साथ, समर्थन र सहयोग हामीले पाएका छौं।
प्रिय साथीहरू,
मई दिवसको महाजीतले संसारभरिका श्रमिक, मजदूरहरूलाई एकता, मिलन, भाइचारा र आपसी सद्भावको सन्देश दिएको छ। चाहे जुनसुकै देश र प्रान्तको होस्, चाहे जुनसुकै विश्वास-धर्म वा सम्प्रदायको होस्, चाहे जुनसुकै जात-जाति वा नश्लको होस्, तर श्रमिक वर्ग सबै एकै हुन् र उनीहरू सबैको हक-हित एक समान छ भन्ने मूल भावको सन्देश यस दिनले दिएको छ। हामी सिक्किमे श्रमिक-मजदूर वा श्रमिक-मजदूर वर्गका शुभचिन्तक-सहयोगीहरूले पनि यस सन्देशको भावलाई अङ्गीकार गरेर मई दिवसको सारलाई जीवन र समाजमा उतार्ने सङ्कल्प लिनु जरूरी छ।
मजदूर-किसानहरू आपसमा एकताबद्ध भएमा संसारलाई नै जित्ने सामर्थ्य र शक्ति राख्दछन्। यो कुरो मई दिवसको विजयले नै पुष्टि र प्रमाणित गरिसकेको छ। त्यसकारणले नै मजदूर-किसान-श्रमिकहरूलाई एकताबद्ध हुन नदिन, उनीहरूबीच अनेकता र फाटो ल्याउन श्रमजीवी वर्गका दुश्मनहरू सधैं कोशिश गरिरहन्छन्। इतिहासभरि नै यस किसिमका कोशिश र षड़यन्त्रहरू भएका छन्। यस्ता षड़यन्त्रहरूबाट सजग रहेर श्रमजीवी वर्गले आफ्नो वर्गीय साइनो र हितलाई सुरक्षा गर्नु जरूरी छ। र त्यसका निम्ति प्रतिक्रियावादी र दुश्मन शक्तिहरूले फैलाउने झूठ, फरेब र षड़यन्त्रबाट मजदूर-श्रमिक वर्गले आफैलाई जोगाउन जरूरी छ। आफ्नो वर्गीय एकतालाई कुनै पनि परिस्थितिमा टुट्न नदिन सधैं जागरूक रहन जरूरी छ।
साथीहरू,
राज्यका प्रगतिशील किसान-मजदूरहरूको साथ-सहयोगमा सिक्किमको भावी निर्माणमा हामी अझ धेरै कामहरू गर्नसक्नेछौं भन्ने आशा राख्दै मई दिवसको अवसरमा फेरि पनि हार्दिक शुभकामना र बधाई ज्ञापन गर्दछु।
जय सिक्किमे मजदूर- किसान।
जय सिक्किम आमा।

पवन चामलिङ
अध्यक्ष
सिक्किम डेमोक्रेटिक फ्रण्ट।

1 मई, 2022

Leave a Reply

Your email address will not be published.