गान्तोक, 01 मई। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले विश्वका श्रमिकहरूलाई एक हुने आग्रह गरेका छन्। 18औं शताब्दीको अन्त्यतिर भएको श्रमिक आन्दोलनको नारा ‘विश्वका श्रमिक एक हौं’-लाई श्रमिकहरूले बुझ्न नसकेको कारण आज विश्वका उद्योगपति एक भए तर श्रमिकहरू एक हुन सकेका छैनन् उनले भने। एसडीएफ पार्टीले राज्यमा 1993मा पहिलोपल्ट श्रमिक दिवस मनाएको र 1995देखि यस दिनलाई सरकारी बीदाको रूपमा घोषित गरेको कुरा उल्लेख गर्दै पवन चामलिंङले आफ्नो सरकार आएपछि श्रमिकहरूको दैनिक ज्यालामा बढ़ोत्तरी गरेको कुरा राखे। उनले श्रमिकहरू एक नभएको कारण नै आज विश्वका 10 प्रतिशत मानिसहरूको हातमा 80 प्रतिशत सम्पत्ति रहेको दाबी गर्दै श्रमिकहरूमा एकता आएको भए आज यस्तो स्थिति हुने थिएन भने। उनले विश्वका श्रमिकहरूका सङ्गठन जात, धर्म र पार्टीको नाममा बाँड़िएको कारण एक हुन नसकेको जानकारी दिए। पवन चामलिङले आफ्नो सरकारको कार्यकालमा नै साल 2017मा श्रमिकहरूको ज्यालामा बढ़ोत्तरी गरेको जानकारी दिए। उनले राज्य सरकार समक्ष राज्यका श्रमिकहरूको निम्ति मासिक 27 हजार रूपियाँ बनाउपर्ने माग राखेका छन्।
अर्कोतिर राजनीतिक कुराहरूमा उनले भने, वर्तमान शिक्षित जमातले एसडीएफ पार्टीको 25 वर्षे कार्यकालमा भएका राम्रा नराम्रा कुराहरूलाई बाहिर निकाल्ने काम गर्नुपर्छ। वर्तमान सरकारमाथि भ्रष्टाचारको आरोप लगाउँदै उनले भने, वर्तमान सरकारको कार्यकालमा व्यापक भ्रष्टाचार भएको छ। सरकारको तीन सालको कार्यकालमा 52 हजार करोड़ रूपियाँ आएको छ त्यो कहाँ प्रयोग गरिएको छ? लेबर ठेकादारी प्रथामाथि बोल्दै पवन चामलिङले भने, एसडीएफ पार्टीले लेबर ठेकादारी प्रथा हटाउने कार्य शुरू गर्दा एसकेएम पार्टीले विरोध गरेको आरोप लगाए। उनले त्यस समयमा विरोध गर्ने अहिले मन्त्री पदमा रहेका छन् र उनी पनि एक लेबर ठेकादार नै हुन् पनि भने। उनले साल 2024मा सिक्किमबाट लेबर ठेकादारी प्रथा हटाउन आफू आउने घोषणा पनि गरे।
अर्कोतिर आफूलाई विभिन्न स्थानमा कालो झण्डा देखाएको कुरामाथि बोल्दै पवन चामलिङले भने, चुनाउको समयमा सरकारले गरेका घोषणालाई हेर्दा कालो झण्डा वर्तमान सरकारलाई देखाउनुपर्ने हो। 100 दिनमा दिन्छु भनेको एलटी सीट, 12 जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा आदि पूरा नभएकोमा सरकारलाई कालो झण्डा देखाउनुपर्छ। उनले राज्यका आठ साल पुगेका एडहक शिक्षकहरू अन्याय गरेको कुरामा पार्टीले प्रतिवाद जनाएको बताए। अर्कोतिर पवन चामलिङले सिक्किममा स्थानीय सब्जी र कुखुराको मासु आदिमा बिक्री नहुनको कारण एसकेएम पार्टीका व्यक्तिहरूले यसको सप्लाई गरिरहेको पनि आरोप लगाए।
एसकेएम सरकारमा भएको घोटालामाथि विभिन्न आरोप लगाउँदै पवन चामलिङले आफ्नो कार्यकालमा बनिँदै गरेका ठूला परियोजनाहरूको पैसा बढ़ाएर लुटेर खाएको छ भने। उनले आरोपलगाएका छन् कि वर्तमान सरकारले विभिन्न परियोजनालाई टेण्डर नगरी केवल जब अर्डरमा काम गराई रहेको छ। उनले राजधानी गान्तोकस्थित पश्चिम-दक्षिण ट्याक्सी स्टेण्डको उदाहरण दिँदै भनेका छन्, एसडीएफ सरकारले उक्त स्टेण्ड 14 करोड़ खर्च गरेर निर्माण गरेको थियो भने यसलाई भत्काउन सरकाले 13 करोड़ रुपियाँ खर्चिएको छ। यसमा सरकाले13 करोड़ रुपियाँ ग्राण्ड दिएको छ जो अघि कहिल्यै भएको थिएन।
चर्किँदो एमसीएक्स घोटालामाथि बोल्दै पवन चामलिङले भने, राज्यमा एक लाख करोड़ जतिको कालो बजारी भएको छ जो साल 2020 देखि शुरू भएको हो। यो कालो बजारी 2022-को फरवरीदेखि यो अझ धेर बढ़ेर गएको छ जो लगभग एक लाख करोड़ पुगिसकेको हुनुपर्छ। यो सबै सरकारको जानकारीमा भएको काण्ड हो। उनले यस घोटालामा विदेशी हात भएको पनि अनुमान लगाएका छन्। पवन चामलिङले यस्ता घटनालाई लिएर राज्य सरकार जिम्मेवार हुनुपर्छ भन्दै यस काण्डले राज्यको मात्र होइन भारत सरकारको बेइज्जति भएको छ भने। उनले एमसीएक्स घोटालाको कारण सिक्किमेले पाएको आयकर छुट पनि उड्न सक्ने अनुमान लगाएका छन्।
अर्कोतिर भारत चीन ब्यापारिक मार्ग नथुलाबाट सुन र चन्दनको तस्करी हुनेगरेको कुरा पनि उनले सार्वजनिक गरेका छन्। पवन चामलिङले अहिले बड्दो ड्रग्स व्यवसाय र हात्तीको दाँतकोसम्म सिक्किमबाट व्यापार हुँदै गरेको आरोप लगाएका छन्। यसरी नै पवन चामलिङले राज्यमा क्रिप्टो करेन्सीलाई लिएर पनि व्यापक घोटाला भएको अनि यसमाथि आफूहरू काम गरिरहेको बताए। क्रिप्टो करेन्सीमा 30 प्रतिशत आयकर लाग्ने भएकोले सिक्किमको आयकरको छुटको फायदा उठाउँदै यसमा पनि व्यापक घोटाला भएको कुरा सार्वजनिक गरे।
30 अप्रेलको दिन सोरेङमा भएको घटनामाथि बोल्दै पवन चामलिङले भनेका छन्, सोरेङमा एसडीएफ पार्टीको क्षेत्रस्तरीय पार्टी कार्यालय खोल्नु थियो। यस कार्यक्रमको निम्ति प्रशासनबाट अनुमति पाइएको पनि थियो। तर यसलाई विफल बनाउन एसकेएमका 200 जति भाड़ाका गुण्डाहरू र स्थानीय नेताहरूले एसडीएफमाथि आक्रमण गरे। जसमा 15 वटा जति वाहन, 50 जना जति एसडीएफ समर्थक घायल भएका छन् भने एसडीएफका कार्यकर्ताहरूमा अरूण लिम्बू चोटिल भएका छन्। अर्कोतिर अभिनास याखा र रिक्जिङ नर्बू भोटिया माथि पनि आक्रमण भएको थियो। उनले आक्रमण कर्ताहरूमा एसकेएमका शुकु सुब्बा, विष्णु प्रधान आदिको नाम पनि लिएका छन्। अभिनास याखाले बन्दूक पड्काएको कुरामा उनले भने, पुलिस विभागले जसको ज्यान खतरामा छ उसलाई आत्म रक्षाको निम्ति लाइसिन्सधारी पिस्तल बोक्ने अनुमति दिएको हुन्छ। उनले आत्म रक्षाको निम्ति बन्दुक पड्काएका हुन्। उनले आफ्ना समर्थकहरू निखोज रहेको र यसको जिम्मेवारी एसकेएम सरकारले लिनुपर्छ पनि भनेका छन्। पवन चामलिङले पुलिसमाथि एसकेएम पार्टीको पेड वर्करको रूपमा काम गर्दै आएको आरोप पनि लगाएका छन्।
यस अतिरक्त उनले मुख्यमन्त्री पीएस गोलेले अरूणाचल प्रदेशमा पाँच करोड़ रूपियाँ खर्चेर गुम्पाको निर्माण गरेको कुरा बताए। यसरी नै उनले एसकेएममाथि एसडीएफ पार्टीका पूर्व विधायक 1 करोड़ रुपियाँमा र नेताहरू 50 लाख रुपियाँमा किन्दै आएको आरोप लगाए। उनले बङ्गाल चुनाउमा पनि सिक्किमबाट 80 करोड़ रुपियाँ सगाएको कुरा सुन्नमा आएको उनले बताएका छन्। उनले यो पनि भनेका छन् कि यसको आफूसँग कुनै सबुत छैन तर पनि यो कुरा भने चलेको छ भने। उनले यो सबै पैसा कहाँ बाट आयो? कि राज्यका मुख्यमन्त्रीकोमा गाड़धन छ? भनि प्रश्न गरेका छन्।
पवन चामलिङले आगामी 2024को विधानसभा चुनाउमा पनि आफू चुनाउ लड़्ने घोषणा गरे। उनले भने, 2024को चुनाउमा आउँदैछु। पार्टीले छानेको जनताले मानेको उम्मिद्वारहरू लिएर अन्तिम राजनीतिक लड़ाईँ लड्नेछु। मुख्यमन्त्री र सरकारको लागि होइन सिक्किमे जनतालाई शक्ति दिलाउन लड्नेछु। 2024मा मुख्यन्त्री को हुन्छ त्यो सिक्किमको सिक्किमे बाटै हुन्छ। सिक्किम बचाउन र सिक्किमेको बेचिएको अधिकारको सुरक्षा गर्न आवश्यक छ उनले भने।
फाइल फोटोः पवन चामलिङ