खरसाङ, 04 मई। तेराख प्रतिष्ठान धुलाबारी झापा, नेपालबाट प्रदान गरिने ‘तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार 2078’ वरिष्ठ साहित्यकार एवं अल इण्डिया रेडियोबाट सेवानिवृत्त रेडियोकर्मी, युग्मककार कालुसिंह रनपहेंलीलाई प्रदान गरिने भएको छ। प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार नेपाल र नेपाल बाहिरका स्रष्टाहरूलाई प्रदान गरिन्छ। उक्त पुरस्कार यस वर्ष भारतमा रहेर नेपाली भाषा-साहित्य र संस्कृतिको विकास र सम्बर्द्धनमा उल्लेखनीय योगदान दिन प्रेरक व्यक्तित्व कालुसिंह रनपहेंलीलाई प्रदान गरिने भएको छ।
पुरस्कारको रूपमा नगदराशि 35 हजार रुपियाँ र सम्मान पत्र अर्पण गर्ने गरिन्छ। उक्त पुरस्कार अर्पण कार्यक्रम आगामी 7 मईको दिन पूर्वी नेपालको झापास्थित धुलाबारीमा हुने जानकारी प्राप्त भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ डा. देवी नेपाल रहनेछन्। लामो समयदेखि भारतीय नेपाली साहित्यको सेवा गर्दै आएका वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीलाई यो पुरस्कार प्रदान गरिने भएकोमा सबैले खुशी व्यक्त गरेका छन्। साहित्यकार रणपहेंलीले पनि आफु पुरस्कृत बन्न लागिरहेकोमा खुशी व्यक्त गरेका छन्।