जीटीए चुनाउ: पेम्बा रिम्पोर्छे स्वतन्त्र प्रार्थीको रुपमा चुनाउ लड़ने घोषणा
खरसाङ, 28 मई । खरसाङ क्षेत्रबाट धर्म गुरु पेम्बा रिपोर्छेले आगामी जीटीए चुनाउमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाउ लड़ने भएका छन्। पेम्बा रिम्पोर्छेले खरसाङ 28 नम्बर समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा आगामी जीटीए चुनाउमा भाग लिने निर्णय लिएका छन्। उक्त घोषणा उनले आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर गरेका छन्।
पेम्बा रिम्पोर्छेले भने, म आफै उठेको होइन, तर जनताले नै अनुरोध गरेको कारणले खरसाङको 28 नम्बर समष्टि अर्थात खरसाङ देवराली समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनाउ लड्ने निर्णय लिएको हुॅं। उनले खरसाङको एक नम्बरदेखि 10 नम्बर वार्डसम्मका जनता अनि खरसाङको चिमनी, देवराली क्षेत्रका जनताले अनुरोध गरेको कारणले आफु चुनाउमा उठ्न लागिरहेको दाबी गरेका छन्।
एक प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छेले आफु धर्म गुरुलगायत समाज सेवक पनि रहेकोले सामाजिक कार्यलाई अगाडी बढ़ाउन राजनैतिक प्लेटफार्म पनि चाहिएको बताए। यस कारण आफु चुनाउमा भाग लिन गइरहेको उनले बताएका छन्। उनले आफ्नो जितप्रति आशावादी रहेको पनि बताएका छन्।