खरसाङ, 29 जून। जीटीए चुनाउमा खरसाङको तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) प्रार्थी नवराज छेत्रीले भारी मतले जित हासिल गरेका छन्। उनले 6 हजार 8 सय 67 भोट प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्दी हाम्रो पार्टीका प्रार्थी रिन्जेन कुसाङ मोक्तानले 2 हजार 55 भोट प्राप्त गरेका छन्। तेस्रो नम्बरमा निर्दलीय प्रार्थी आईतमान राई रहेका छन् जसले 11 सय 71 भोट पाएका छन् भने चौथोमा निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले 6 सय 36 अनि निर्दलीय प्रार्थी सत्यवान छेत्रीले 262 मत प्राप्त गरेका छन्।
आफ्नो जितपछि भागोप्रमो प्रार्थी नवराज छेत्रीले भने, यो जीत मेरो होइन, जनताको जीत हो। उनले जितको श्रेय जनतालाई, भागोप्रमो अध्यक्ष अनित थापाका साथै सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई दिए। छेत्रीले पत्रकारहरूसित कुरा गर्दै तीनधारे महानदी समष्टिको 22 वटै बुथहरुमा जनताले आफुलाई जिताएको छ भन्दै यो जित जनताको जीत रहेको बताए। उनले अब समष्टिका 22 वटै बुथमा गएर जनतालाई धन्यवाद दिने अनि कसरी काम गर्नु पर्ने हो भन्ने विषयमा बसेर छलफल गर्ने बताए।