खरसाङ, 19 जून । आगामी जीटीए चुनाउमा खरसाङ क्षेत्रका मुस्लिम माइनोरिटी समुदायले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको दाबी गरिएको छ। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुस्लिम नारी शक्तिको आयोजनामा खरसाङ महकुमा कार्यालयमा एक सभा खरसाङ क्षेत्रको मुस्लिम समुदायलाई लिएर सम्पन्न भयो। उक्त सभा मोहम्मद अलीको अध्यक्षतामा सम्पन्न भयो।
सभामा आगामी जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरूलाई भोट गर्ने भएको बताइएको छ। सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस सभालाई भागोप्रमो केन्द्रिय सदस्य एंव खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, खरसाङ गिद्ध पहाड़ समष्टिका सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ आदिले सम्बोधन गरेका थिए।
सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका मानिसहरूले भागोप्रमोले उठाएको उम्मेदवारहरूलाई जिताउन भोट दिने वचन दिएको दाबी गरिएको छ। उनीहरूले खरसाङको मुस्लिम समुदाय पहिला पनि अनित थापाको पक्षमा रहेको र यसपालीको चुनाउमा पनि उनकै साथमा रहेको बताए।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै फिरोज खानले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुस्लिम नारी शक्तिको आयोजनामा सभा सम्पन्न भएको र सभामा मुस्लिम समुदायले यसपाली पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र अनित थपालाई नै साथ दिने निर्णय लिएको बताए।