खरसाङ, 28 मई । हिल तृणमूल कांग्रेसले आगामी जीटीए चुनाउमा खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा आफ्नै प्रार्थीहरू दिने घोषणा गरेको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर हिल तृणमूल कांग्रेस खरसाङको सभा हिल तृणमूल कांग्रेसको नेता प्रदीप प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा हिल तृणमूल कांग्रेसले आफ्नै प्रार्थीहरू उठाउने निर्णय लियो।
उक्त जानकारी हिल तृणमूल कांग्रेस खरसाङ टाउन कमिटी अध्यक्ष आरिफ खानले एक पत्रकार सम्मेलनमा दिए। उनले भने, आज खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिका प्रतिनिधिहरूलाई सभा बोलाइएको र खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा हिल तृणमूल कांग्रेसको लागि योग्य प्रार्थीहरूको नाम घोषणा गरिएको बताए। उनले सबै जना विगत लामो समयदेखि हिल तृणमूल कांग्रेसमा कार्य गर्दै आएका पार्टीका कार्यकर्ताहरु रहेको पनि बताए।
आरिफ खानले प्रश्नहरूको उत्तरमा खरसाङका 9 वटा समष्टिका प्रार्थीहरूको नामको सूची आज फ्याक्समार्फत् मुख्यमन्त्री ममता ब्यानर्जी, महासचिव अभिषेक ब्यानर्जी, राज्य सभा सासंद शान्ता छेत्री र पार्टीको चेयरम्यान एलबी राईलाई पठाउने बताए। खानले जीटीए चुनाउको लागि कुनै राजनीतिक दलसित गठबन्धन गर्ने खबर केवल हल्ला मात्रै रहेको र यस विषयमा पार्टी हाईकमानबाट पनि कुनै निर्देशन नआएको जानकारी गराए।
उनले पार्टी अध्यक्षा एवं मुख्यमंत्री ममता ब्यानर्जीको निर्देशन अनुसार नै पार्टीले भावी निर्णयहरू लिने पनि बताए। उनले चुनाउ जित्ने पूर्ण आशा रहेको र जीटीएको 45 वटा सिटमा 40 सिट जितेर बोर्ड गठन गर्ने पनि दाबी गरेका छन्।