भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनाउमा 27 सिट जितेर बोर्ड गठन गर्न सक्षम
खरसाङ, 29 जून । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले जीटीए चुनाउमा बहुमत ल्याएर जीटीए सभाको बोर्ड गठन गर्ने भएको छ। जीटीए सभाको 45 वटा सिटमा भागोप्रमोले 27 वटा सिटमा बिजय बनेर जीटीएको बोर्ड गठन गर्ने भएको हो। दार्जीलिङको 17 वटा सिटमा भागोप्रमोले 7 वटा सिटमा बिजय हासिल गरेको भने हाम्रो पार्टीले पनि 7 वटा सिटमा बिजय हासिल गरेको छ।
यसैगरी, टीएमसीले 2 र निर्दलीयले 2 सीट जितेको छ। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड र प्रमोस्कर ब्लोन पनि बिजय बनेका छन्। तर भागोप्रमोको केन्द्रिय महासचिव अमर लामा र दार्जीलिङ महकुमा समितिको सभापति आलोक कान्तमणि थुलुङले भने हारको सामना गर्नु परेको छ।
कालेबुङ जिल्लामा जम्मा 13 वटा सिटमा भागोप्रमोले 8 वटा सिट जितेको छ। यसरी नै निर्दलीयले 4 र टीएमसीले एउटा सिट जितेको छ।कालेबुङमा हाम्रो पार्टीले खाता पनि खोल्न सकेन। यता खरसाङ र मिरिक लगाएर जम्मा 15 वटा समष्टिमध्ये भागोप्रमोले 11 वटा सिटमा कब्जा गरेको छ भने हाम्रो पार्टीले केवल एउटा सिट जितेको छ, जुन तकदाह ग्लेनवर्ण समष्टि हो। यस समष्टिमा हाम्रो पार्टीको सन्नी तामाङले केवल 2 भोटले भागोप्रमो प्रार्थी पुलक मोक्तानलाई जितेका छन्।
खरसाङको तीनवटा सिट तृणमूल कांग्रेसले जितेको छ।
भागोप्रमोले जीटीए चुनाउमा 26 वटा सिटमा जित हासिल गरेको छ भने रंगबुल धोतरिया रंगमुक समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाउ लड़ने राजेश चौहान पनि भागोप्रमोको समर्थनमा रहेकोले उनीसॅंग भागोप्रमोले जम्मा 27 वटा सिट जितेर जीटीए सभाको बोर्ड गठन गर्ने निश्चित भएको छ।
भागोप्रमोको केन्द्रिय अध्यक्ष अनित थापाले दुवैवटा समष्टि क्रमैले खरसाङ गिद्ध पहाड़ समष्टि र सिटोङ लाठपञ्चर समष्टिबाट भारी मतले बिजय हासिल गरेका छन्। आफु उठेको दुवैवटा सिटबाट बिजय हासिल गरेको विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले भने, यो जीत जनताको हो। धेरै चुनाउहरू हारे पनि मैले यसपालीको चुनाउलाई चुनौतीको रुपमा लिएको थिए र यसपालीको चुनाउ मेरो निम्ति महत्वपूर्ण थियो। जनताले यसपाली भरोसा देखाएको छ र काम गरेर देखाउनुपर्छ।
उनले पार्टी कार्यकर्ताहरू र समर्थकहरूलाई जितको खुशी शान्तिपूर्ण ढंगमा मनाउन आह्वान गर्दै जितको खुशी मनाउँदा शान्ति भंग नहोस् भनी बताए। जनताले आफुहरूमाथि भरोसा देखाएको र अब जनताले देखाएको भरोसा अनुसार काम गरेर देखाउनुपर्छ भनी उनले बताएका छन्।