मंग्पु, 28 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी जीटीए चुनाउको निम्ति 11 जना प्रार्थीको नाम घोषणा गरेको छ। दार्जीलिङ महकुमा र कालेबुङ जिल्लाबाट चार चार जना र खरसाङ महकुमाबाट तीन जना प्रार्थीको नामको घोषणा गरेको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका महासचिव अमर लामाले आज मंग्पुमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा चुनावी रणनीति र प्रार्थीबारे व्यापक चर्चा गरिएको बताए। उनले चरणबद्ध रूपमा प्रार्थीहरुको नाम घोषणा गर्ने बताउॅंदै आजको बैठकमा सर्वसम्मतिले 11 जना प्रार्थीको नाम पारित गरेको बताए। हिल तृणमूल कांग्रेससँगको गठबन्धनमा चुनाउ लड्ने भन्ने बजारमा चलिरहेको हल्ला विषय प्रश्नको जवाफमा लामाले 45 वटा समष्टिमा नै भागोप्रमोले आफ्नो उम्मेदवार दिनेछ भनी बताए।
आज घोषणा गरिएको 11 जना उम्मेदवारमा क्रमैले रिम्बिक लोधोमाबाट नोर्देन शेर्पा, चुङथुङ समष्टिबाट सन्दिप छेत्री, नागरी धजेबाट अन्जुल चौहान, पोख्रेबुङ समष्टिबाट नोबेल बम्जन, कालेबुङ जिल्ला अन्तर्गत पेदोङ समष्टिबाट कमल सुब्बा, गोरुबथान समष्टि 43 नम्बरबाट रतन थापा, जलढाका तोदे समष्टिबाट लाक्पा नामग्याल भुटिया, छिबो टासीडिङ (३३) बाट सिनोरा नाम्चु र खरसाङ महकुमा अन्तर्गत पंखबारी अम्बोटे समष्टिबाट कल्पना प्रधान, खरसाङ देउराली समष्टिबाट श्याम शेर्पा, टुङ सन्त मेरिज समष्टिबाट नुरी शेर्पा आदिको नामहरू घोषणा गरिएको बताए।