जीटीए चुनाउमा दार्जीलिङ जिल्ला ट्रक मालिक र ट्रक चालक एसोसिएशनद्वारा भागोप्रमोलाई सघाउने निर्णय

Spread the love

खरसाङ, 12 जून। दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशन र दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले यसपालीको जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको छ। आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशनको संयुक्त सभा सम्पन्न भयो। उक्त सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा उपस्थित थिए।

यसै सभामा दुवै संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ। उक्त सभा दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशन र मालिक एसोसिएशनका विभिन्न समस्याहरूको समाधान गर्न गरिएको थियो भने यसै सभामा ट्रक चालकहरू र ट्रक मालिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सघाउने निर्णय गरियो।

दार्जीलिङ ट्रक जिल्ला मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीको अध्यक्षता सम्पन्न सभामा दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पक्षबाट महासचिव पवन बस्नेत र दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशनको पक्षबाट महासचिव चन्दन छेत्रीले सम्बोधन गरेका थिए। दुवैले ट्रक मालिक एसोसिएशन र ट्रक चालकहरूको पक्षमा विभिन्न मागहरू राखे।पछि, भागोप्रमो अध्यक्ष अनित थापाले ट्रक चालकहरूको मागलाई चुनाउ जितेको खण्डमा पूरा गरिदिने आश्वासन दिए।

थापाले सभालाई सम्बोधन गर्दै भने, मलाई पहाड़मा पाँच वर्ष मौका दिएको खण्डमा म ठूलो कुरा गर्छु त भन्दिन, तर पहाड़लाई सुव्यवस्थित पहाड़ बनाउनेछु। थापाले दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र ट्रक चालक एसोसिएशनका समस्याहरूलाई समाधान गर्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्ने आश्वासन दिए। उनले ट्रक चालकहरू सबैको सुविधाका लागि कुनै एउटा ठाउँमा रेस्ट हाउस निर्माण गरिदिने पनि आश्वासन दिए। साथै ट्रक चालकहरूको माग अनुसार एउटा एम्बुलेन्स दिने पनि उनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *