जीटीए प्रमुख कार्यपाल अनित थापा सिटोङ लाटपञ्चर समष्टिको भ्रमणमा
जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको दुई दिने भ्रमणमा पुगेका छन्। उनी सिटोङ लाठपञ्जार समष्टिका सभासद पनि हुन्।
आफ्नो समष्टि भ्रमणमा आएका अनित थापाले भने, ‘मैले समष्टिलाई महिनामा दुई दिन दिन्छु भनेर वचन दिएको थिए। त्यही वचन अनुरूप दुई दिन समष्टिमा बिताउने छु। मैले चुनाउ समयमा समष्टिलाई जुन वचन दिएको थिए त्यो पूरा गर्ने पहल शुरु गरेको छु। समष्टिका मानिसहरूले व्यक्तिगत होइन सामूहिक विकासको माग राखेका छन्। स्थानीयहरूको माग समष्टिको विकास रहेको छ।’
उनले अझ भने, ‘यो समष्टिमा पर्यटन वैकल्पिक आय श्रोत हो। पर्यटन व्यवसाय आधुनिक बनेको छ। समष्टिमा यो व्यवसायसॅंग सम्बन्धित सबै व्यवसायीहरुलाई यही माग अनुरूप अघि बढाउने मेरो सोच रहेको छ।’
जीटीए चिफ्ले भ्रमणको पहिलो दिन लोवर सेब्जे सार्वजनिक भवनको निर्माण कार्यको शिलान्यास गरे। सार्वजनिक भवन निर्माणको वचन उनले चुनाउको समयमा दिएका थिए। आज थापाले एमएसके सिटोङ १, ट्राइबल मैदान, घलेटार, पाँच पोखरी, सेल्पु सिटोङ पुगेर स्थानीय मानिसहरुसॅंग भेटघाट गरी विभिन्न समस्याहरू बुझ्ने र सुन्ने प्रयास गरेका थिए।