गोवा, सेप्टेम्बर। पीआईबी गान्तोकको प्रायोजनमा देशको पश्चिमी सुन्दर राज्य गोवाको भ्रमणमा रहेको सिक्किमेली पत्रकारहरूको टोलीले अन्तरराष्ट्रिय पर्यटन दिवस, 2023 को अवसरमा गोवाका विभिन्न ऐतिहासिक तथा धरोहर स्थलहरूको भ्रमण गरेको छ। सिक्किमे मिडिया टोलीले आज पीआईबी गोवाद्वारा व्यवस्थापन गरिएको पर्यटक गाइडको साथमा गोवाका विभिन्न पर्यटक गन्तव्यहरूको दर्शन गर्दै यी धरोहरहरूको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे जानकारी हासिल गरेको छ।
सिक्किमेली पत्रकारहरूको टोलीले भ्रमणको चौथो दिन पुरानो गोवाको भ्रमण गरेको छ, जहाँ उनीहरूले भारतको सबैभन्दा पुरानो चर्चको भ्रमण गरे। यो भव्य संरचना गोवाको समृद्ध इतिहास र सांस्कृतिक सम्पदाको प्रमाणको रूपमा खडा रहेको छ। मिडिया टोलीले चर्चको अन्वेषण गर्दा यो चर्चको अचम्मको वास्तुकला र वरिपरिको शान्त वातावरण व्याप्त रहेको छ। 15 सय शताब्दीमा स्पेनिशहरूले निर्माण गरेको यो चर्चलाई ईशाई धर्मावलम्बीहरूको पवित्र स्थलका रूपमा मानिन्छ।

पत्रकारहरूको टोलीले आफ्नो यात्रा कार्यक्रममा अर्को पुरातात्त्विक सङ्ग्रहालयको पनि परिदर्शन गरेको छ। यी सङ्ग्रहालयहरूले क्षेत्रको गौरवशाली विगतको झलक प्रदान गर्दै कलाकृति र अवशेषको विशाल सङ्ग्रह प्रदर्शन गरेका छन्। मिडिया टोलीले प्रदर्शन गरिएका जटिल विवरण र ऐतिहासिक महत्त्वबारे जानकारी पनि सङ्कलन गरेको छ। यी तथ्यहरूले गोवाको जीवन्त इतिहासको जीवन्त चित्र चित्रित गरेका छन्।
त्यसपछि सिक्किमेली पत्रकार टोलीले दक्षिण गोवाको कुकोलिमस्थित बालाजी मन्दिरको दर्शन गऱ्यो। यो ठाउँलाई गोवासहित यहाँ भ्रमणमा आउने हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल मानिन्छ।
यसै अवसरमा पत्रकारहरूले दक्षिण गोवाको केरीमा ट्रपिकल स्पाइस प्लान्टेशनको भ्रमण गरेका छन्। १०० ऐकर जमिनमा फैलिएको यो स्थानमा विभिन्न प्रकारका मसला उत्पादनसँगै ग्रामीण पर्यटनको विस्तारमा महत् योगदान पुऱ्याएको छ। टोलीलाई हरियाली क्षेत्रको दर्शन गराउनका साथै गोवाको स्थानीय खानामा मसलाको महत्त्वबारे जानकारी गराइयो। यस अवसरमा सिक्किमेली पत्रकारहरूले गोवाका सुगन्धित मसलाको प्रयोग गरेर बनाइएको परम्परागत गोवाली व्यञ्जनहरूको स्वाद लिने अवसर पनि पाए।
आज अपराह्नमा सिक्किमेली पत्रकार टोली दक्षिण गोवाको कोल्भा बिचमा पुग्यो। अरब सागरको किनारमा सेतो रङको बालुवा र स्वच्छ-स्पष्ट पानीमा 28 किलोमीटरसम्म फैलिएको कोल्भा बिचमा आनन्द उठाउन हजारौँ पर्यटकहरू भेला हुने गर्दछन्। सिक्किमेली पत्रकार टोलीले गोधूलि साँझमा समुद्रको आनन्द उठाएको छ।
विश्व पर्यटन दिवस साँच्चै सिक्किम मिडिया टोलीका लागि सम्झने दिन थियो। उनीहरूले गोवाको समृद्ध सांस्कृतिक सम्पदा मात्र अन्वेषण गर्न सक्षम भएनन् तर ट्रपिकल स्पाइस प्लान्टेशनले गाउँको पर्यटन प्रवर्द्धन का लागि गरेको प्रयासबारे पनि जानकारी हासिल गरेका छन्। यस अवसरमा गोवाका निजी पर्यटक गाइड सैलेश पाईले पर्यटन व्यवसाय गोवाका लागि दोस्रो सबैभन्दा ठूलो राजस्व आर्जनको माध्यम रहेको जनाउँदै गोवामा गुणस्तरीय पर्यटनको दिशामा काम भइरहेको छ। उनले पर्यटक केन्द्रको रूपमा परिचित गोवामा पर्यटन दिवसको ठूलो महत्त्व रहेको जनाए।