पूर्वोत्तर क्षेत्रमा केन्द्रद्वारा ध्यान केन्द्रित गर्नु रूपान्तरणकारी साबित भएको छ : हरदीपसिंह
पूर्वोत्तर राज्यहरूको सर्वाङ्गीण विकासका लागि प्रतिबद्धता निर्बाध रहने कुरा दोहोऱ्याउँदै केन्द्रिय आवास एवं शहरी मामिला तथा पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पूरीले स्मार्ट सिटी परियोजना पूरा गर्न सिक्किम लगायत केही अन्यलाई आवश्यक सहायता दिनुपर्ने कुरालाई ध्यानमा राख्दै क्षेत्रका सबै परियोजना पूरा हुने सुनिश्चित गर्न वित्तपोषणको स्वरूपलाई परिवर्तित गरी 90:10 को अनुपात बनाउने घोषणा गरे।
आजादीको अमृत महोत्सव – पूर्वोत्तर क्षेत्र महोत्सव अन्तर्गत “पूर्वोत्तर राज्यहरूमा शहरी विकास : स्मार्ट सिटी क्रान्ति” विषयमाथि आयोजित सङ्गोष्ठीलाई सम्बोधित गर्दै उनले यस प्रकारको आशय व्यक्त गरे। पूर्वोत्तरका सबै आठ राज्यमा चल्ने सप्ताहव्यापी उत्सव पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयद्वारा आयोजन गरिएको हो। यस अवसरमा केन्द्रिय मन्त्री पूरीले सिक्किम सरकारको अनलाइन भवन निर्माण अनुमति प्रणाली (ओबीपीएस) पनि लोकार्पण गर्दै क्षेत्रमा यो योजना कार्यक्रम कार्यान्वयन गर्ने गान्तोक नगर निगम पहिलो बन्नपुगेकोमा बधाई दिए।
मुख्य अतिथिका रूपमा उपस्थित केन्द्रिय मन्त्री पूरीले सिक्किमको सातवटा शहरी स्थानीय निकायले स्वच्छ भारत मिशन-शहरी अन्तर्गत खुल्लामा दिसा-पिसाबमुक्तको (ओडीएफ) दर्जा हासिल गरेकोमा पनि सन्तुष्टि व्यक्त गरे।

प्रधानमन्त्री स्वयंले पूर्वोत्तर क्षेत्रको 30 पटकभन्दा धेरै दौडाहा गरिसकेको उल्लेख गर्दै बितेका आठ वर्षमा विभिन्न महत्त्वपूर्ण क्षेत्र जस्तै विद्युत, जल आपूर्ति, स्वास्थ्य सम्पर्क सेवा तथा शिक्षासित सम्बन्धित विकास परियोजनाहरूका लागि छुट्याइएको 18849 करोडको 95% भन्दा धेरै राशि सदुपयोग गरिसकिएको उनले बताए। बितेको पाँच वर्ष “लूक एण्ड एक्ट ईस्ट पोलिसी” केन्द्रमा रहनका साथै पूर्वोत्तर क्षेत्रका लागि रूपान्तरणकारी साबित भएको उनले बताए।
गान्तोक र नाम्चीमा रु. 2474 करोड बराबरको स्मार्ट सिटी परियोजना सफलतापूर्वक कार्यान्वयन गरेकोमा बधाई दिँदै मन्त्री पूरीले सिक्किम सरकारद्वारा प्रस्तावित अन्य परियोजनाका लागि पनि मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए। यसका साथै वित्तमन्त्रीद्वारा केन्द्रिय बजेटमा 15 सय करोड रुपियाँको शुरुवाती दरबन्दीका साथ घोषित प्रधानमन्त्रू पूर्वोत्तर क्षेत्र विकास पहलले (पीएम-डिभाइन) पीएम गतिशक्ति मिशनद्वारा निर्देशित पूर्वाधार लगायत सामाजिक विकासका परियोजनाहरूलाई आवश्यकताका आधारमा वित्तपोषण गर्ने जानकारी पनि मन्त्री पूरीले दिए।
दक्षिण एशियाई उप-क्षेत्रीय आर्थिक सहकार्य (एसएएसईसी) सडक सम्पर्क कार्यक्रमले पनि क्षेत्रलाई अरू धेरै जोड्नका साथै सम्पूर्ण देशसँगको पहुणच सुगम बनाउन उनले बताए। पूर्वोत्तर क्षेत्रको दसवटा शहरमा रु.13,563 करोड लागतको 523 परियोजना कार्यान्वयनको विभिन्न चरणमा रहेको पनि उनले जानकारी दिए। यसका साथै रु.1553 करोड लागतको 121 वटा परियोजना पूरा गरिएको र रु.8,507 करोड बराबरका 268 परियोजना कार्यान्वयनको विभिन्न चरणमा रहेको उनले अवगत गराए।
विगत आठ वर्षमा विशाल पूर्वाधार एवं सेवाको विकास गरी क्षेत्रको व्यापक सम्भावनालाई खुल्ला गरिएको पनि उनले बताए। बढ्दो सङ्ख्यामा फूड पार्क, वस्त्र उद्योग तथा सूचना प्रविधिको स्थापनासँगै पूर्वोत्तर क्षेत्रले दक्षिण पूर्वी एशियासँग कारोबारी सम्बन्ध स्थापित गर्ने आफ्नो क्षमता विकसित गरेको पनि उनले बताए।
सिक्किमका शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति मन्त्री अरुण उप्रेती, विधायक एवं पूर्वाधार विकासका सल्लाहकार जीटी ढुङ्गेल, गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्री लगायत राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूले केन्द्रिय मन्त्री पूरीलाई स्वागत जनाए। यस अवसरमा सम्बन्धित विषयमाथि भारतीय प्रौद्योगिकी संस्थान, खडगपुरका वरिष्ठ प्रोफेसरहरूले तीनवटा प्राविधिक सत्र सञ्चालन गरे। (पीआइबी)