सत्ता करप्सन गर्दै बस्ने तर जनताले पैसा नतिरे बिजुली बाल्न पनि नपाउने स्थिति आउँदैछ- गणेश राई

Spread the love

गान्तोक, 15 मई। 97 प्रतिशत सिक्किमेले रेफरेण्डम-मा भोट हालेर ल्याएको प्रजातन्त्रले के सिक्किमेलाई उनीहरूले चाहेको अधिकार दिएको छ? भन्ने कुरामा भोली राज्य स्थापना दिवसको दिन चर्चा हुनुपर्ने सुधारवादी राजनीतिको विचार लिए अघि बढ़ेका गणेश राईले पत्रकार सम्बोधनमा माग राखेका छन्। राज्यमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै देशको 22औं राज्य सिक्किम आज ऋणको माध्यमबाट चल्दैछ भने 47 सालमा पनि राज्यका थाँतिमा रहेका राजनीतिक मुद्दाहरूको समाधान हुन सकेको छैन। उनले यो सबै नेतृत्व सही दिशामा नभएको र प्रजातान्त्रिक प्रणालीको हनन भएको कारण हो भने।

राज्यमा सरकारको सोच र उनीहरूको विचार विरुद्ध कसैले आवाज उठाउनु अपराध साबित हुँदैछ। जो सत्ताको विरुद्ध सोच्छ उसमाथि कार्वाही हुँदैछ। मान्छेहरूले सरकारको नीति विरुद्ध जाँदा उनीहरूको नोकरी जाँदैछ। पूर्व मुख्यमन्त्री पवन चामलिङ गाउँमा सामाजिक कार्यमा जाँदा जसले उनलाई धन्यवाद दिन्छ उनीहरूको नोकरी जाँदैछ। वर्तमान समयमा सरकारी नोकरी पनि सुरक्षित छैन भने युवाहरूको भविष्य कता तिर जाँदैछ यो चिन्ताको विषय हो गणेश राईले भने।

उनले राज्यको यस्तो दशा हुँदा हामी कसरी राज्य दिवस मनाउने भन्ने प्रश्न राखेका छन्। अर्कोतिर राज्यका जनताले गएको अप्रेल महिनासम्ममा 264 करोड़ रुपियाँ जीएसटी तिरेका छन् भन्दै सरकारमा रहेकाले जनताको धनलाई गोजिको पैसा जस्तो गरेर दुरुपयोग नगर्ने आह्वान पनि गरे। उनले जनतामा पैसा पुग्नुपर्छ तर त्यसको पनि व्यवस्था हुनुपर्छ भन्ने तर्क राखेका छन्।

राज्यको झर्दो आर्थिक अवस्थामा मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी लामा र सल्लाहकार सीएल डेञ्जोङ्पामाथि पनि उनले कटाक्ष गरेका छन्। गणेश राईले डा. लामा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त हुँदा सिक्किमलाई धेरै ठूलो आशा लागेको थियो तर अहिले त्यो आशा विरुद्ध भइरहेको छ। उनको दक्षतामाथि पनि शङ्का उत्पन्न हुन थालेको छ। 47 सालमा पनि राज्य ऋण बिना चल्न सकेको छैन भने महेन्द्र पी लामा र सीएल डेञ्जोङ्पाले मुख्यमन्त्रीलाई के सल्लाह दिँदैछन् भनि प्रश्न गरे। उनले यस्तो स्थितिमा यी दुवै सल्लाहकारले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्ने माग राखेका छन्।

एडहक शिक्षकको कार्य आदेशलाई लिएर पनि उनले प्रश्न उठाएका छन्। उनले शिक्षकहरूलाई दिइएको आदेशमा उल्लेखित दुई बुँदाहरूको चाँड़ै संशोधन गरिनुपर्छ भन्ने माग राखेका छन्। यसमा उल्लेख गिरएको छ कि आफ्नो नोकरी विरुद्ध कुनै पनि कर्मचारीले आवाज उठाउन या मीडियामा गएर बोल्न पाउने छैनन् भने सात साल पूरा भएपछि पनि उनीहरूले आफ्नो नोकरी स्थायी गरिनुपर्ने कुरा क्लेम गर्न नपाउने कार्यालय आदेशमा उल्लेख गरिएको बताए।

सरकारले घोषणा गरेका विभिन्न अवार्डहरूमाथि बोल्दै उनले भने, राज्यका मुख्यन्त्रीले साङ्गीतिक कार्यक्रमको निम्ति दुई करोड़ रुपियाँसम्म खर्च गर्ने भएका छन्। यदी मुख्यन्त्री सङ्गीतमा त्यतिकै रूची राख्ने थिए भने राज्यका स्कूलहरूमा 150 जना जति सङ्गीत शिक्षकहरू नियुक्त गरिएको छ उनीहरूलाई वाद्य-वादनका सामाग्री प्रदान गर्नुपर्ने हो। मुख्यमन्त्रीले विज्ञापन गरेर सत्तामा बसिरहने विचार हो। सरकारले आफूहरूलाई मात्र फायदा हुने काम गर्दैछ। यसरी नै राम्रो काम गर्ने नर्सहरूलाई पनि अवार्ड दिने घोषणा गरिएको छ। तर नेशनल हेल्थ मिशन अन्तर्गत स्थायी नोकरी गर्दै आइरहेका नर्सहरूलाई सरकारले पहिले एकै मुस्टमा उनीहरूको मासिक सेलेरी दिनुपर्ने प्रावधान गर्नुपर्छ। उनीहरूले एक महिनाको सेलेरी दुई किस्तिमा थापिरहेका छन् भने उनीहरूलाई अवार्ड होइन सेलेरीको व्यवस्थामा सुधार ल्याइदिनुपर्छ। नर्सहरूलाई स्थायी नोकरी गर्नेहरूले पाउनुपर्ने सुविधा सबै पाउनुपर्छ भन्ने माग राखेका छन्।

यसरी नै सिक्किममा भ्रष्टाचारलाई संस्थागत गरिएको आरोप लगाउँदै यो सबै कार्य चाँड़ै बन्द गर्नुपर्छ भने। स्वास्थ्य, शिक्षा, सड़कको केही सुधार नहुनको कारण नै भ्रष्टाचार हो। सरकारले राज्य स्थापना दिवसको दिन भ्रष्टाचार नियन्त्रणको कुरा गर्नुपर्छ। उनले भने, सिक्किम ग्लेसियर र पानीका खोलाहरूको मालिक हो। तर आज बाहिरका मानिसहरूले यसको फायदा उठाइरहेका छन्। बजारलाई निःशुल्क बिजुली दिन्छु भन्ने सरकार अहिले प्री पेड मीटर लगाउँदैछ अनि गाउँमा पनि यसलाई लगाउन जाँदैछ। सत्ता करप्सन गर्दै बस्ने तर जनताले पैसा नतिरे बिजुली बाल्न पनि नपाउने स्थिति आयो। उनले अझ भने आफ्नो विचार विरुद्ध आवाज उठाँदा धम्काउने नेतृत्व कायर हो। सिक्किमा डरको राजनीतिलाई तत्काल बन्द गरेर सुधारको नीति अपनाउन आवश्यक रहेको उनले बताए। एउटा प्रश्नको उत्तरमा उनले भने सिक्किमलाई सुधारको राजनीतिको जरुरत छ र पुराना देखि अहिलेसम्मका कामहरूमा जति सुधार ल्याउनु छ ती सबै काम गर्नुपर्ने उनले बताए। यसका साथै गणेश राईले सिक्किमका नेताहरूमा राजनीतिक इच्छाशक्ति दृड़ नभएको कारण आजसम्म धेरैवटा मुद्दाहरू थाँतिमा रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *