“श्रमिक दिवस-2022’’- गोलिटारको कार्यक्रम राज्यमा चर्चाको विषय

“श्रमिक दिवस-2022’’- गोलिटारको कार्यक्रम राज्यमा चर्चाको विषय

Spread the love

हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवस। श्रमिकहरूले आफूमाथि भएको अत्याचार विरुद्ध लड़ेर न्यायको एउटा खुड्किलो चड़ेको दिन। प्रत्येक साल मनाइने श्रमिक दिवसले श्रमिकहरूको निम्ति नयाँ आशाको किरण लिएर आएको हुन्छ। सालको 364 दिन आफ्नो पसिना बगाएर त्यसमा झेलिएका अन्याय र अत्याचारका कुण्ठाहरू पोख्ने अनि त्यस अन्यायको विकल्पलाई लिएर सधैं आउने गरेको आशाको किरणलाई एक मई मान्न सकिन्छ। एक मई 2022-को दिन राज्यका विभिन्न स्थानमा श्रमिक दिवस पालन गरियो। राज्यको सत्तारूढ़ पार्टी अनि सरकार र विपक्षी पार्टीले कार्यक्रम आयोजन गरे। कति राजनीतिक पार्टीले प्रेस बयान अनि भीडीयो सन्देश जारी गर्दै शुभकामना आदि दिए भने यस दिन असरदार कार्यक्रम भने एक गैर सरकारी संस्था सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-को देखिएको छ। अन्य कार्यक्रमलाई पनि विफल भन्न उचित हुँदैन कारण सबै कार्यक्रमलाई निर्क्योल गर्दा स्वागत भाषण र धन्यवाद ज्ञापनमा समापन भए।

यहाँ प्रश्न उठ्छ कि किन एसपीवाईएफ-को कार्यक्रम असर दार रह्यो?। यसको उत्तर हो एसपीवाईएफ एउटा गैर राजनीतिक संस्था भएको कारण। एकातिर 25 सालसम्म सिक्किममा सत्ता सम्हालेको विपक्षी अर्कोतिर जल्दोबल्दो सत्तारूढ एसकेएम पार्टीले पनि कार्यक्रम आयोजन गरे। दुवै कार्यक्रममा भाषणवाजी र घोषणाहरू भए तर आज चर्चामा भने एसपीवाईएफ-को कार्यक्रम छ। एकातिर वर्तमान सरकारका मुख्यमन्त्री पीएस गोलेले आफ्नो बयानमा श्रमिकहरूको मासिक ज्याला 15 हजाररूपियाँ गरिदिने घोषणा गरेका छन्। अर्कोतिर पूर्व मुख्यन्त्री पवन चालिङले वर्तमान समयको महङ्गाईलाई ध्यानमा राख्दै श्रमिकहरूको मासिक ज्याला 27000 गरि दिनुपर्ने कुरा उठाएका छन्। यो अचानक श्रमिक दिवसको दिन गरिएका घोषणाले भन्दा एसपीवाईएफले आफू श्रमिकहरूसमक्ष पुगेर उनीहरूको उपस्थितिमा उनीहरूको खानपानको हिसाब मिलाएर वैज्ञानिक ढाँचामा निकालेको 21 हजार रुपियाँको हिसाबले श्रमिकहरूको मनलाई आफूतिर आकर्षण गरेको हो।

राजनीतिमा दुवै पार्टीले सत्ता हाँकाकेका हुन्। एउटा पार्टी गयो अर्को पार्टी सत्तामा छ। त्यसरी नै दुवै पार्टीका श्रमिक मोर्चा छन् भने दुवै राजनीति सम्बन्धित कार्यक्रममा श्रमिकहरूको पातलो उपस्थितिले श्रमिकहरूको विश्वासनीयता कता छ भन्ने कुरा स्पष्ट राखेको देखिन्छ। श्रमिकहरूले एसपीवाईएफको कार्यक्रममा जोड़-तोड़ले सहभागिता जनाउनु राजनीतिक दल र सरकारको राजनीतिक ललिपपलाई रुचाउन छोड़ेको हुनुपर्छ। यसरी नै राजनीतिक पार्टीको तुलनामा हो भने यदी पूर्वमा एसडीएफ पार्टीको सरकार र पार्टीको भातृ सङ्गठन श्रमिक मोर्चाले श्रमिकहरूको हितमा काम गरेको हुनुहो भने हिजोको कार्यक्रममा एसडीएफ पार्टी कार्यालय राज्यभरिका श्रमिकहरूको हुलले भरिने थियो हो, तर त्यो देख्न पाइएन। अर्कोतिर श्रमिकहरूको मासिक ज्याला 20 हजार रुपियाँसम्म पुऱ्याउने वाचा गरेर आएको एसकेएम सरकारको कार्यक्रममा पनि श्रमिकहरूले मन खोलेर उपस्थिति दिन नसक्नु दुवै पार्टीको कम्जोरीलाई एउटै मझेरीमा ल्याइदिएको अनुमान लगाउन सकिन्छ।

हिजो गोलिटारमा भएको जमगटले अब स्वतन्त्र एउटा श्रमिक सङ्गठनको माग राखेको अनुमान लगाउन सकिन्छ। राज्यमा स्वतन्त्र श्रमिक सङ्गठनको कमी भएको कारण आज श्रमिकहरूले जहिले पनि हेपायतमा बस्नुपरेको हुन्छ। अचम्मको कुरा के छ भने कुनै पनि कारणले कुनै कम्पनीमा काम गर्ने कर्मचारी निस्कासित हुँदा सरकार पक्ष कम्पनी प्रबन्धन विरुद्ध आवाज उठाउन सक्दैन। श्रम विभागले गर्नुपर्ने काम पार्टीको श्रमिक मोर्चाले सम्हाल्दै हुन्छ। यस्तो स्थितिमा श्रमिकहरूले जाने वैकल्पिक मार्ग नै हिजोको गोलिटारलाई बनाएका हुन् भनेर अड्कल लगाउन सकिन्छ। एउटा गैर सरकारी सङ्गठन र राज्यका श्रमिकहरूको एकताले उनीहरूले ताकेको लक्ष्य प्राप्त गर्ने हिजोको शुरूवाती एउटा स्वतन्त्र कार्यक्रम भएकै कारण पनि चर्चामा रहेको हुनसक्छ।

Leave a Reply

Your email address will not be published.