जनताको अधिकार भावनामा मात्र होइन,व्यवहारिकतामा पनि सुरक्षित हुनुपर्छ

जनताको अधिकार भावनामा मात्र होइन,व्यवहारिकतामा पनि सुरक्षित हुनुपर्छ

Spread the love

सिक्किमेली समाजले चाहान्छ जनताको अधिकार भावनामा मात्र होइन,व्यवहारिकतामा पनि सुरक्षित हुनुपर्छ। जिन्दावाद, मुर्दावाद र ढुङ्गा-मूढ़ाको प्रत्यक्ष परोक्ष पेलाईमा रहेको सिक्किमको राजनीति अहिले आएर बन्दुकको गोली हान्ने स्थितिमा पुगेको छ। भाषण र जनजिब्रोमा रहेको ‘शान्तिप्रीय सिक्किम र सिक्किमे’ यस कहावतलाई यस्तै परिस्थितिमा हो भने अत्युक्ति हो भन्नुपर्ने वाद्याता आउन समय लाग्ने छैन। आज 30 अप्रेल 2022-दिन पश्चिम सिक्कमको सोरेङ जिल्लामा घटेको घटनाले सिक्किमको जनजिब्रे शान्ति व्यवस्थामा पानी फेरेको अनुमान लगाउन सकिन्छ।

आजको घटनालाई सत्तारूढ अनि राज्यका विपक्षी राजनीतिक पार्टीहरूले कुन दृष्टिले हेर्छन् त्यो आफ्नै स्थानमा सुरक्षित छ। अर्कोतिर लगभग आफ्नो सिद्धान्तबाट लुप्तप्रायः पार्टीहरूबाट जनताले के आशा नै राख्न सक्छन् र? आजको घटनामाथि राज्यको हित र प्रजातन्त्रको चिन्तागर्ने व्यक्तित्वहरूलाई भने गम्भीरता पूर्वक सोच्न बाध्य बनाएको छ। प्रजातान्त्रिक प्रणालीमा प्रत्येक राजनीतिक दलहरूले आफ्नो पार्टीको प्रचार-प्रसार अनि सभाहरू डाक्न पाउनुपर्छ। जनताको प्रजातान्त्रिक अधिकार केवल ईभीएम-मा मात्र होइन तर  एकतन्त्रे पार्टी अनुभव विगतमा सिक्किमले पनि नगरेको होइन।

हुनत यो नितान्त राजनीतिक मामला हो। यसलाई लिएर ढाकछोप गर्ने या आरोप प्रत्यारोपका बयानहरू सार्वजनिक हुन थालिसकेका पनि छन्। वास्तवमा सोरेङ काण्डलाई लिएर अहिलेसम्म आएको घटनाक्रममा राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले पश्चिम सिक्किमका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको निर्वाचन क्षेत्रस्तरीय सभाको समापन गर्ने उद्देश्यले एउटा सभा डाकेको थाहा लागेको छ। यस सभामा पूर्व मुख्यमन्त्री पवन चामलिङको पनि उपस्थिति र यहाँ स्थानीय नागरिकहरूले एसडीएफ पार्टीमा शामिल हुने कुरा पनि थाहा लागिसकेको थियो। यस्तैमा आज सोरेङमा एसडीएफ पार्टीको सभाको आयोजन हुनै नपाउनु र एसडीएफ पार्टीका कार्यकर्ता सभास्थलमा पुग्नुभन्दा अघि नै सत्तारूढ एसकेएम पार्टी र एसडीएफ पार्टीबीच झड़प हुनु यो सोच्नुपर्ने विषय हो।

अहिलेसम्म विपक्षी पार्टीले कुनै पनि राजनीतिक सभा गर्नुहुँदैन भनेर सरकार पक्षबाट कुनै अधिसूचना या आदेश जारी गरिएको पाइएको पनि छैन। अर्कोतिर यस घटनालाई लिएर हेर्दा यसमा पुलिस प्रशासनको पनि धेरै कम्जोरी देखिएको छ। सम्पूर्ण सिक्किमलाई थाहा छ कि यदी सिक्किमको वर्तमान स्थितिमा एसडीएफ पार्टीले कुनै पनि सभा या कार्यक्रम आयोजन गर्दैछ भने त्यहाँ अवश्य पनि झगड़ा हुन्छ, त्यसैले यहाँ प्रशासनको सतर्कतामाथि पनि ठूलो प्रश्न उठ्दछ। अर्कोतिर राज्यका मुख्यमन्त्रीको गृह जिल्ला तथा मुख्यमन्त्रीकै छोरा आदित्य गोले विधायक भएको यस निर्वाचन क्षेत्रमा पुलिस प्रशासनले विपक्षी पार्टीको सभामा जनतालाई सुरक्षा दिन नसक्नु यो लज्जास्पद कुरा पनि हो।

यसरी नै राजनीतिक विज्ञहरूले यस घटनालाई लिएर प्रतिक्रिया दिएका छन् यो सिक्किमको प्रजातान्त्रिक प्रणालीको लज्जास्पद कुरा हो। सिक्किमको स्थिति गम्भीर छ। अर्कोतिर एसडीएफ पार्टीका एकजना कार्यकर्तामाथि आक्रमण भएका फोटोहरू देखिएका छन्। यसरी नै एकजना व्यक्ति हातमा बन्दुक बोकेर हवाई फायर गर्दै भागिरहेका छन्। सिक्किमले अहिले ढुङ्गा-मूढ़ादेखि लिएर बन्दुकको राजनीतिसम्म झेल्नुपर्ने स्थिति आएको छ। यस्तो स्थितिलाई कसरी सम्हाल्ने यो राज्यको प्रशासनमाथि ठूलो जिम्मेवारी र प्रशासनको अग्नि परिक्षा पनि आएको छ। प्रश्न यो छ कि एसडीएफ पार्टीका समर्थक आखिर किन बन्दुक पड़्काउन बाध्य बने?

Leave a Reply

Your email address will not be published.