श्रमिकहरूलाई भाषणमा जस्तै शासनमा पनि अधिकार दिनुपर्छ

श्रमिकहरूलाई भाषणमा जस्तै शासनमा पनि अधिकार दिनुपर्छ

Spread the love

खटिखाने श्रमिक वर्गको दिवस आउन अब केवल पाँच दिन छ। प्रत्येक साल 1 मईको दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको पालन गरिन्छ। यस दिन सरकारी, गैर सरकारी संस्था अनि विभिन्न कल-कारखानाहरूले श्रमजीवीहरूलाई लिएर कार्यक्रमको आयोजन गर्ने गर्दछन्। यहाँसम्म कि भाषणेहरू त्यस दिन देखावटीमा आफू श्रमिक अनि आफूभित्र मजदूरीको भावनात्मक देउता उतारेर आएका हुन्छन्। गैर सरकारी संस्थाहरू त्यसै दिन आफूहरू श्रमिकका भविष्य निर्माता भएको घोषणा गर्दैहुन्छन् भने सरकारी तन्त्र श्रमिकहरूलाई विभिन्न घोषणाको ललिपप भाषणबाट बाँट्न मस्त हुन्छन्। यो हाम्रो समाजले धेरै अघिदेखि देख्दै आएको एउटा तीतो सत्य पनि हो।

खासै भन्नुपर्दा श्रमिकहरू ती हुन् जसले समाज, राज्य, देश अनि विभन्न उद्योगमा मेहनत गरेर यिनको सर्वाङ्गिण विकासमा अहम भूमिका निर्वाह गरेका हुन्छन्। श्रमजीवीहरूको असङ्ख्य झुण्डको मन, मस्तिस्क साथै शरीरले जुटाएको सफलताको कारण सरकारी, गैर सरकारी औद्योगिक ढाँचाहरू उठेका हुन्छन्। उनीहरूको सफलतालाई दिइएको एक सम्मानस्वरूप एक मई महत्वाकाङ्क्षी आँखाहरूको खोक्रो सपना पूरा गर्ने एउटा माध्यम बन्दै गइरहेको देखिन्छ। भाषणमा जत्ति उनीहरूलाई अधिकारको हकदार मानिन्छ त्यति श्रमिकहरूलाई हक दिइएको पाइँदैन। सधैं सिक्किममा भइरहने घटनाहरूमा हुन् विभिन्न दवाई कारखानामा काम गर्ने श्रमिकहरूमाथि भएको अन्याय। लगभग प्रत्येक साल नै सिक्किमका विभिन्न कारखानाहरूमा श्रमिकहरूमाथि अन्याय वा शोषणका घटनाहरू बाहिर आउँछन्। घटनाहरू कति हिम्मतसाथ बाहिर आउँछन् भने कति कारखाना भित्रै दबिने गरेका पाइएका छन्। कतिले न्याय खोज्दै जाँदा आफ्नो नोकरीबाट हात धुनुपरेको अवस्था पनि छ।

सरकारले गरेका घोषणाहरू पनि अहिले श्रमजीवीहरूको निम्ति मानसिक प्रताड़ना जस्तो देखिन्छ। सरकारले देखाएका ठूला-ठूला घोषणाहरू कुनै पनि लागू हुँदैनन्। श्रमिकको हितमा हुनुपर्ने काममा सरकार होस या सम्बन्धित कम्पनीले अहिलेसम्म श्रमिकहरूसँग सम्झौता गर्ने काम गरेको देखिँदैन। सरकारी विभाग अन्तर्गत सबैभन्दा तल्लो तहमा रहेर काम गर्दै आएका कर्मचारी हुन या निजी कम्पनीहरूमा काम गर्ने कर्मचारी हुन् उनीहरूलाई आफ्नो कमाईले महिना बिताउन पनि नसक्ने अवस्थ छ। उनीहरूको हितमा कहिले काम हुने? यो प्रश्नको उत्तर यस मई दिवसमा पाइऩ्छ होला। श्रमिकहरूलाई दिनुपर्ने न्याय भनेको भाषणमा जस्तै शासनमा पनि अधिकार दिनु हो।

Leave a Reply

Your email address will not be published.