सम्पादकीय- डीजिटल घेराबन्दीमा पत्रकारिता, प्रेस स्वतन्त्र भए किन मर्दैछन् पत्रिकाहरू?

Spread the love

डीजिटल निगरानीको घेराबन्दीमा रहेको पत्रकारिता जगत आजको दिनमा कत्तिको स्वतन्त्र र सुरक्षित छ त्यो एउटा चर्चाको विषय हो। अन्तर्राष्ट्रिय पत्रकारिता स्वतन्त्रता दिवस 2022-को विषय ‘डीजिटल घेराबन्दी अन्तर्गत पत्रकारिता’ थियो। यस दिनको महत्व पत्रकारहरूको स्वतन्त्रता र उनीहरूको रक्षा प्रति जागरुकता फैलाउनु मानिएको छ। साल 2022को प्रेस स्वतन्त्रता दिवस उरुग्वे गणराज्यमा यूनिस्कोद्वारा आयोजन गरिएको थियो।

यसको इतिहासलाई केलाउँदा सबैभन्दा पहिले साल 1991मा दक्षिण अफ्रीकाका पत्रकारहरूद्वारा प्रेस स्वतन्त्रता दिवसको मांग गरिएको थियो। जसपछि संयुक्तको राष्ट्र महासभा (यूएनजीए)मा 1991को दिसम्बर महिनामा यो विधेयक ल्याइएको थियो जसलाई तीन मईको दिन प्रत्येक साल पत्रकारिता स्वतन्त्रता दिवस मनाउने निर्णय लिइयो। यस दिनले विश्वका सरकारहरूलाई अभिव्यक्तिको स्वतन्त्रता याद दिलाउन महत्वपूर्ण योगदान दिएको छ। यसै दिन ती पत्रकारहरूलाई याद गरिन्छ जसले पत्रकारितामा महत्वपूर्ण योगदान दिएका छन् अनि जसले यस क्षेत्रको निम्ति आफ्नो ज्यान पनि गुमाएका छन्। पत्रकारिता स्वतन्त्रता दिवसको दिन पत्रकारिता अनि पत्रकारहरूलाई पुऱ्याइएको नोक्सानी र सरकारलाई यो पनि पनि जानकारी गराइन्छ कि पत्रकारहरूको सुरक्षाको जिम्मेवारी सरकारको हो भन्ने।

वर्तमान समयमा सिक्किम लगायत विश्वकै पत्रकारिताको दशालाई हेर्नुहो भने पत्रकारिता क्षेत्र डीजिटल जासूसीको निगरानीमा परिसकेको छ। साँचै भन्नुहोभने वर्तमान समयमा पत्रकारहरूले प्रीण्ट मीडियामा जस्तो आफ्नो स्वतन्त्रताको प्रयोग गर्न सकिरहेका छैनन्। धेरै ठाउँमा पत्रकारहरू गोप्य रिपोर्टको फोन टेपिङको शिकार भइरहेका छन् भने कतिपयः पत्रकारहरूका समाचार स्रोतहरू मास्ने काम भइरहेका छन्। समाचार स्रोतहरूमा मासिएमा प्रशासनभित्र भएका सरकारी कच्चा चिट्ठाहरू जनतामा पुग्न सक्दैनन् भन्ने एउटा सोचको कारण पनि पत्रकारहरूले पाठकलाई कतिपय ठाउँमा व्यवस्थाको अन्धकारमै धकेलि रहेको पाइन्छ।

प्रेस स्वतन्त्रता दिवस पालनपछि पत्रकारहरू

जर्नलिस्ट युनियन अफ सिक्किमले पत्रकारिता स्वतन्त्रता दिवसको अवसरमा सानो चर्चाको कार्यक्रम आयोजन गर्यो। चर्चामा निस्किएका कुराहरूमा धेरै गम्भीर विषयहरू छन्। जसमा जुनै सरकार आएपनि पत्रकारितालाई स्वतन्त्रता दिन चाहाँदैन। पत्रिकाहरू बन्द हुनको कारणमा आर्थिक दुर्बलता, राम्रा स्टोरी अनि सामाजिक सञ्जाल आदि पनि रहेको कुराहरूका खुलासा भए। अर्कोतिर यो पनि कुरा उठ्यो कि यदी पत्रकारिता स्वतन्त्र छ भने सरकार पक्षले बारम्बार किन भनिरहनुपरेको छ कि हामीले पत्रकारहरूलाई लेख्ने स्वतन्त्रता दिएका छौं। आजसम्म आफू कुनै समाचार नबनेर अर्काको समाचार बनाएको पत्रकारिता जगत नै समाचार बनिने कागारमा पुगेको छ भने यसको स्थिति कस्तो हुँदै जाँदैछ यो सोच्नुपर्ने विषय हो।

अर्कोतिर प्रीण्ट मीडिया अथवा समाचार पत्रिका जसलाई एउटा गरीब मान्छेको विश्वविद्यालय पनि भनिएको छ। हुनपनि आजको नदिनमा रू. 150/- प्रति महिना तिरेर विश्वको ज्ञान पाउने त्यो भन्दा सस्तो विश्वविद्यालय कहाँ होला र। आज पत्रिकाहरू भटाभटि बन्द हुँदै जाँदैछन्। सिक्किममा हामीले थाहा पाउँदा पाउँदै दर्जनौं पत्रिकाहरू बन्द भए कति बन्द हुने कागारमा पुगिसकेका छन्। यस्तो स्थितिमा मान्छेहरूले जसरी पत्रकारहरूमाथि विश्वास राखेर न्यायालय, पुलिस प्रशासनभन्दा पहिले पत्रकार सम्मेलन गर्न पुग्छन् ती मानिसले आफ्नो अभिव्यक्तिको स्वतन्त्रता खुल्ला रूपमा राख्ने स्थानलाई पनि सुरक्षित गर्ने दिन नजिकिँदै आएको देखिन्छ। यसमा पत्रिका र पत्रकारहरूले पनि आफ्नो सेवाको गुणस्तरता बढ़ाउन आवश्यक देखिएको छ। यदी प्रेस स्वतन्त्रता दिवसको भाषण र जागरुकताले मात्र पत्रकारिता क्षेत्रको विकास र संरक्षण हुन्छ भने किन आज मर्दैछन् त पत्रिकाहरू।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *