29 दिसम्बरमा छुजाचेनका जनताका निम्ति मुख्यमन्त्रीले लगाउने जनता दरबार
राज्य स्तरीय साकेवा पर्वलाई सम्बोधन गर्दै राज्यका मुख्यमन्त्री पीएस गोलेले वर्तमान सरकार कुनै पूर्वाग्रह बिनै काम गर्दै आइरहेको जानकारी दिए। उनले भने, एसकेएम सरकारले साड़े तीन सालको कार्यकाल पूरा गर्दैछ। तर पूर्व सरकारको कार्यकालमा लथालिङ्ङै भएका पूर्वाधार निर्माण कार्य भने एसकेएम सरकारले पूरा गर्दै आएको छ। उनले सबै जातिको निम्ति निर्माण गरिने पूर्वाधारहरूमा सरकारले कुनै पूर्वाग्रह राखेको छैन।
दलपचन्द र आरिटारको शीरमा रहेको राई मन्दिर (माङ्खिम)को आधारशिला राखेपछि मुख्यमन्त्रीले दलपचन्द हेलिपेडबाट जनतालाई सम्बोधन गरेका थिए। उनले भनेका छन् एसकेएम सरकारको कार्यकालमा कुनै जातिमाथि राजनीतिक दबाव भएको छैन। मिन्तोकगाङबाट कुनै प्रकारको दबाव बिनै सबै जातले आफ्ना प्रतिनिधि चुन्न पाएका छन्। सबै सङ्गठनलाई आफ्नो स्वतन्त्रता दिइएको छ। मुख्यमन्त्रीले सबै जातीय भवनहरूलाई आयश्रोतको माध्यम बनाउने पनि अपील गरेका छन्।

उनले आरिटार स्थित लाम्पोखरी अनि माङ्खिम परिसरलाई एउटा पर्यटकीय गन्तव्य बनाउने अपील गर्दै यसमा स्थानीय युवाहरूको योगदान हुनुपर्ने कुरामा जोर दिए। मुख्यमन्त्री गोलेले यस क्षेत्रलाई पर्यटक गन्तव्यको रूपमा विकसित गर्न सके सरकारले यहाँ रोपवे (घिर्लिङ) निर्माणको परियोजना ल्याउ सक्ने पनि बताए। मुख्यमन्त्रीले आज राखिएका मागहरू पूरा गर्ने वचन दिँदै सरकार सबै जातिको पूर्वाधार र सबैको आवश्यकता पूरा गर्न प्रतिवद्ध रहेको कुरा बताए। यसैगरी उनले केवल विधायक भएका निर्वाचन क्षेत्रहरूको भ्रमण गरेर जनगुनासो सुन्ने पनि जानकारी दिए। यसका निम्ति छुजाचेन निर्वाचन क्षेत्रमा आगामी 29 दिसम्बरको दिन जनता दरबार लगाउने र त्यस दिन सबै नागरिकहरूलाई भेटेर उनीहरूको मागमाथि पहल गर्ने वचन दिए।