मुख्यमन्त्री प्रेमसिंह तामाङ ’61औं बोडो साहित्य सभा’ मा सहभागी बने

Spread the love

गान्तोक, 04 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङ बुधवार असमको तामलपुरमा आयोजित ’61औं बोडो साहित्य सभा’ मा सहभागी बने। यस अवसरमा देशका राष्ट्रपति रामनाथ कोविन्द विशेष रूपमा उपस्थित थिए।

बोडो साहित्य सभाको स्थापना कोक्राझारमा जोय भद्र हग्जेरको अगुवाईमा वर्ष 1952 मा भएको थियो। यसमा असम, पश्चिम बंगाल, मेघालय, नागाल्याण्ड, त्रिपुरा र नेपालका प्रतिनिधिहरू सामेल थिए। सभा स्थापना गर्नुको मुख्य उद्देश्य बोडो भाषा, साहित्य र संस्कृति प्रेमीहरूलाई एउटा संगठनमुनि ल्याउनु र अन्य भाषाहरूका साथै आफ्नो मातृ भाषामा शिक्षा प्रदान गर्नुको आवश्यकतालाई प्रसार गर्नु रहेको थियो।

राष्ट्रपति कोविन्द देशका पहिलो राष्ट्रपति बनेका छन् जसले क्षेत्रीय भाषा साक्षरता सम्मेलन ‘बोडो साहित्य सभा’ लाई सम्बोधित गरेका छन्। राष्ट्रपतिले आफ्नो सम्बोधनमा भाषा अनि साहित्यले मानिसहरूलाई एक अर्कासॅंग जोड्छ भन्दै बोडा भाषाको विकास अनि प्रोत्साहनको निम्ति बोडो साहित्य सभाको पहलको सराहना गरे।

मेघालयका मुख्यमन्त्री कनराड साङ्गमाले पूर्वोत्तर क्षेत्रका विभिन्न जनजाति भाषाहरूलाई सामेल गरिएको खण्डमा देश बलियो बन्नेछ भन्ने विचार राखे। उनले सबै भाषा महत्वपूर्ण छन् र सबै भाषालाई जोगाउनु आवश्यक रहेको बताए।

यसरी नै असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले हाम्रो भाषाले हाम्रो धरोहर र संस्कृतिलाई बढावा दिन्छ भनी बताए। उनले चयनित विद्यालयहरूमा कक्षा 12 सम्म बोडो माध्यमको पढ़ाई शुरू गर्ने निर्णय लिएको घोषणा गरे। उनले बोडो बाहुल क्षेत्रमा बोडो साहित्य सभा निर्माणको निम्ति 50 लाख रूपियॉं प्रदान गर्ने घोषणा गरे।

कार्यक्रममा असमका राज्यपाल प्रो. जगदिश मुखी, असम विधानसभाका अध्यक्ष विश्वजित दैमारी, सांसदहरू, विधायकगण, बोडो टेरिटोरियल क्षेत्रका मुख्य कार्यकारी सदस्य प्रमोद बोरोलगायत बांग्लादेश र नेपालका सांसदहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *