गान्तोक,13 मई। सिक्किममा वर्ष 2014 सालदेखि अनौपचारिक साहित्यिक कार्यक्रमको रूपमा अभ्यासमा रहेको चिया कविता, सिक्किमले यो वर्षदेखि अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा “ चिया कविता पुरस्कार” प्रदान गर्ने निर्णय गरेको छ। पहिलोपल्ट आगामी 21 मईको दिन अन्तरराष्ट्रिय चिया दिवसमा सिक्किममा पछल्लो अढ़ाई दशकदेखि साहित्यसेवीको रूपमा कार्य गर्दै आएका व्यक्तित्व डुपछिरिङ लेप्चालाई चिया कविता पुरस्कार 2023 प्रदान गर्ने निर्णय़ गरिएको छ। चिया कविता, सिक्किमका संयोजक प्रवीण खालिङले यसबारे प्रेस बयान जारी गर्दै जानकारी गराएका छन्। साहित्यसेवी डुपछिरिङ लेप्चाले 1998देखि साहित्यसेवाको रूपमा डॉ शोभाकान्ति थेगिम लेप्चा स्मृति गुठी स्थापना गरेर निरन्तर रूपमा ड़ॉ शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार प्रदान गर्दै आइरेहका छन्।
यसैगरि उनले गुठीको तत्परतामा धेरैवटा साहित्यिक कृतिहरू प्रकाशित गरेर नेपाली साहित्यको सेवा गरिरहेका छन्। यसैगरि उनले नेपाली भाषामा उत्कृष्ठ अङ्क ल्याएर दशौं श्रेणीमा उत्तिर्ण हुने पाल्जोर नामग्याल कन्या पाठशालाका विद्यार्थीहरूलाई छात्रावृत्ति जस्ता महत्वपूर्ण सेवा पुऱ्याएका छन्। 1950 सालको 15 अक्टोबरको दिन पूर्व सिक्किमको नाम्चेबुङ राई गाउँमा जन्मिएका साहित्यसेवी लेप्चाले सिक्किम सरकारमा अभियन्ताको रूपमा सेवा शुरु गरेर प्रधान मुख्य अभियन्ता तथा सचिवको पदसम्म सेवा पुऱ्याएर सेवानिवृत्त भएका हुन्। उनले 1998 को 4 जुलाईदेखि 2022 को 4 जुलाईसम्म डॉ. शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार 25 जना साहित्यकारहरूलाई गुठीको मार्फत प्रदान गरिसकेका छन्। यसैगरि गुठीले अहिलेसम्म पाँचवटा पुस्तक प्रकाशित गरेको छ भने संगीत साहित्यमा सेवा पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
चिया कविताले यस वर्षदेखि शुरु गरेको चिया कविता पुरस्कारको निम्ति साहित्यसेवी डुपछिरिङ लेप्चालाई पुरस्कृत गर्न पाउँदा हर्षव्यक्ति गर्दै उनले नेपाली साहित्यलाई गरेको गुण र सेवाको कार्यमा थप उर्जा अनि प्रतिबद्धता मिल्नेछ भनि आशा राखेको संयोजक खालिङले बताएका छन्।
चिया कविता पुरस्कारमा नगद राशी 15 हजार रूपियाँ, स्मृति चिन्ह, प्रशस्ति पत्र अनि अङ्गवस्त्र प्रदान गरिनेछ। आगामी 21 मईको दिन हुने चिया किविताको यो प्रकरणमा मूल अतिथिको रूपमा कवि टासी छोपेलको बाहुलीबाट पुरस्कार प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैगरि अन्तरराष्ट्रिय चिया दिवसको मौकामा भारत र नेपालका चर्चामा रहेको कविहरूले कविता कन्सर्टमा सहभागि बन्ने छन् भने गान्तोकको टासी नामग्याल एकाडेमीका विद्यार्थीहरूले नेपाली कविता कोयर प्रस्तुत गर्नेछन्। कविता कन्सर्टमा नेपालका कवि चन्द्र गुरुङ, धरान, प्रथम पोयट आइडल निलम गुरुङ, सिक्किम, पोयट आइडलका फाइनलिष्ट पल्लवीप सिङ्घक, दार्जीलिङ र कालेबुङका कवि विशाल नाल्बो विशेष कविको रूपमा उपस्थित रहने पनि प्रेस बयानमा जानकारी गराइएको छ। अर्कोतिर कार्यक्रममा चिया चर्चामा कवि चन्द्र गुरुङको नयाँ कविता कृति “जब एउटा मान्छे हराउँछ” माथि चर्चा गरिनेछ बताइएको छ। माटो कवि जीवन थिङ मार्गस्थित रचना बुक्समा हुने अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा चिया कविता पुरस्कार 2023 को निम्ति सबै चिया र साहित्य प्रेमीहरूलाई निम्तो पनि गरिएको छ।