गोपाल ढकालको पाँचौं कृति वृद्धाश्रमका बुबा-आमाको हातबाट लोकार्पित
गान्तोक, 2 मई। समाजले छेउ लगाएका वृद्धाहरूलाई सम्झेर चिया कविता सिक्किमले वृद्धाश्रमका आमा बुबाको लागि कविता कार्यक्रमसितै कवि गोपाल ढकालको पाँचौं कविता कृति छन्द स्वछन्द विमोचन गऱ्यो। पूर्व सिक्किमको राकदोङ तिन्तेकमा सञ्चालित हुँदै आएको ली आल साङ वृद्धाश्रमका आमा बुबाको हातबाट कविता कृति लोकार्पण गर्नका साथै उनीहरूसित समय साझा गर्न कवि, शिक्षक र पत्रकारहरू बिहानै पुगेका थिए। कार्यक्रममा कविको बाहुलीबाट वृद्धाश्रमका आमा बुबालाई खादा अर्पण गरेर सम्मान जनाइयो।

समाजबाट टाड़ा हुनपुगेका ती आमा बुबासित समय बिताउन र साहित्य सेवामा रहेकाहरूले उनीहरूको हातबाट कृति विमोचन गराएर उनीहरूलाई केही खुशी दिनसक्नु पर्छ भन्ने ध्येयले यो कार्यक्रम आयोजन गरिएको कवि ढकालले बताए। कार्यक्रममा बोझोघारी उच्चतर माध्यमिक विद्यालयका प्राचार्य शदर पौड्याल, जर्नलिस्ट युनियन अफ सिक्किमका अध्यक्ष भीम राउत, आख्यायनकार प्रवीण राई जुमेली लगायत चिया कविताका कविहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा लोकार्पित कृतिबाट कवि जगन दाहालले कविता वृद्धाश्रमका आमा बुबाको निम्ति वाचन गरेका थिए।
यसरी साहित्यलाई जनमुखी बनाउँदै लाने प्रकृयामा चिया कविताले गरिरहेको अविनव प्रयासहरूमध्ये यो पनि एउटा रहेको संयोजक प्रवीण खालिङले बताए। आज लोकार्पित कृतिको औपचारिक चर्चा र सार्वजनिकरण भने साबिकरूपमा गरिने चिया कविता कार्यक्रममा हुने जानकारी दिइएको छ।