विरोध गर्नेहरूले सतर्क बस्नुपर्ने रहेछ भन्ने पाठ सिकाए: विधायक खतिवडा
गान्तोक, 21 मई। रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवडाले आफुलाई धन, सम्पत्ति र चौकीको लोभ नरहेको दाबी गरेका छन्। उनले आफ्नो चाहना भनेको परिवर्तन रहेको र राज्यमा परिवर्तन भइसकेको पनि बताएका छन्। केही दिनअघि रिनाक क्षेत्रका कतिपय एसकेएम कार्यकर्ताहरू विधायक फेर्नुपर्छ भन्ने माग लिएर मुख्यमन्त्रीसॅंग भेट गर्न मिन्तोकगाङ पुगेको कुरा गर्दै विधायक खतिवडाले यसो भनेका हुन्।
उनी रिनाक निर्वाचन क्षेत्र अन्तर्गत बुदाङ कमेरे ग्राम प्रशासनिक केन्द्रमा सोमबार आयोजित सिक्किम गरीब आवास योजना घर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थिए। उनले जुन व्यक्ति उनको विरोध गर्दै मिन्तोकगाङ पुगेको थियो उक्त व्यक्तिलाई धेरै सहयोग गरेको दाबी पनि गरे। तर, उक्त व्यक्तिले सबै गुण फर्किएको आरोप लगाउॅंदै यस घटनाले आफुलाई सतर्क बस्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको उनले बताए।
विधायक खतिवडाले यदि केही मनदुख थियो भने उनीलाई भेटेर कुरा गरेको भए हुने थियो, तर विधायक नै फेर्नु पर्छ भन्दै मिन्तोकगाङ पुगेर विरोध जनाएकोमा मन दुखेको छ भनी बताए। खतिवडाले के उनीहरूले रिनाकका जनतालाई विरोध गर्न मिन्तोकगाङ जानुपर्छ भनेर सिकाएका हुन् भनी प्रश्न पनि गरे। यसरी विरोध जनाउॅंदा उनको मात्र होइन, तर पार्टी पनि बद्नाम भएको उनले बताए।
उनले आफुलाई क्षेत्रका जनताले 2024 सम्मका लागि विधायक चुनिसकेको बताउॅंदै अझ दुई वर्षसम्म कसैले हटाउन नसक्ने बताए। उनीहरूले 2024 मा विधायक फेर्नुपर्छ भनेर तयारी गरिरहेका छन् भने अब आफुले पनि सोही अनुरूप तयारी शुरू गर्ने उनले चुनौती पनि दिए। उनले अब उपरान्त आफु पनि होशियार बस्ने र जनतालाई पनि होशियार बस्न लगाउॅंदै भने, ‘चामलिङले 25 वर्ष झुक्कायो, अब फेरि कसैले नझुक्काओस्।’ उनले पार्टीभित्र बसेर पार्टीको विरोध नगर्न सुझाउ दिॅंदै आंट छ भने राजीनामा दिन चुनौती दिए।
कार्यक्रममा बुदाङ कमेरे ग्राम प्रशासनिक केन्द्रका जनताको तर्फबाट विधायक खतिवडालाई सम्मान पनि जनाइएको थियो। यस अवसरमा हाउजिङ बोर्डका अध्यक्ष कर्मा टाशी भोटिया, सिक्किम राज्य सहकारी समितिका अध्यक्ष सन्तोष कुमार प्रधान, पञ्चायत सभापति कर्मा गिर्मी भोटिया, पञ्चायत सदस्यहरू, बीडीओ लगायत स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।-हिस