भागोप्रमोद्वारा सिपाहीधुरा चियाबारीका अवकाशप्राप्त 70 जना श्रमिकहरूलाई सम्मान जनाइयो

Spread the love

खरसाङ, 21 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा अवकाशप्राप्त 70 जना चिया श्रमिकहरूलाई सम्मान जनाइएको छ। उक्त सम्मान कार्यक्रम भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटी, खरसाङ महकुमा समिति र केन्द्रिय पदाधिकारीहरूको विशेष उपस्थितिमा सम्पन्न भयो।

उक्त सम्मान कार्यक्रमलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीका सचिव मनोज प्रधानले अध्यक्षता गरेका थिए। सभामा सिपाहीधुरा चियाबारीको आफ्नो उमेरसम्म कार्य गरेर अवकाशप्राप्त भएका चियाबारी श्रमिकहरूलाई भागोप्रमोको पक्षबाट सम्मान जनाइएको छ। सम्मानको रुपमा सिपाहीधुरा चियाबारीको 70 जना अवकाशप्राप्त श्रमिकहरूलाई खदार्पणसहित स्मृति चिन्ह्र प्रदान गरियो। सिपाहीधुरा क्षेत्रमा सांगीतिक र सामाजिक क्षेत्रमा योगदान दिनेहरू 10 जनालाई पनि सम्मान गरिएको छ।

सभामा भागोप्रमो केन्द्रिय सदस्य समीरदीप ब्लोनले मुख्य वक्ताको रुपमा बोल्दै भने, श्रमिकहरूले आफ्नो जीवनको बहुमूल्य 58 वर्ष चियाबारीमा खर्चेको छ। यति लामो समय श्रमिकहरूले आफ्नो खुन पसिना सिँचेर चियाबारीमा काम गर्छन्, तर मालिकवर्गले कहिले पनि सुविधा दिएन। मोर्चाले आज चियाबारी श्रमिकहरूको योगदानलाई मूल्यांकन गर्दै सम्मान जनाउने कार्य गरेको हो। उनले चियाबारी श्रमिकहरूलाई भागोप्रमो पार्टी अध्यक्ष अनित थापाको अगुवाईमा सम्मान जनाउने कार्य गरेको बताए जुन अहिलेसम्म कसैले पनि नगरेको बताए।

सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रिय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको जोनल सभापति गणु छेत्री, भागोप्रमो सिपाहीधुरा बुथ कमिटीको पक्षबाट सजित राईले पनि वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *